विराटनगर । मोरङको बुढीगंगामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालय अन्तर्गतको मनमोहन पोलिटेक्निकका दुई विद्यार्थी कार्यालयको चेक चोरी गरेर पैसा निकालेको अभियोगमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजविराज–६ सप्तरीका सुमित सागर यादव र टंकप्रसाद यादव छन् ।
यादवद्वयले एकाउन्ट शाखाबाटै १२ पिस चेक चोरी गरेका थिए । जसमध्ये ६ वटा चेकमा लेखा अधिकृत जानकी लेखी र पोलिटेक्निकका प्रिन्सिपल सुदिप अधिकारीले हस्ताक्षर गरेका थिए । ती चेकबाट उनीहरुले २ लाख ६६ हजार ६९२ रुपैयाँ निकालेको प्रमाणित भएको मोरङ प्रहरीले जनाएको छ
शिक्षालयमा पढ्नलाई भर्ना हुँदा विद्यार्थीले धरौटी राख्नुपर्छ । धरौटीबापतको रकम फिर्ता लिनलाई भन्दै गत आइतबार टंकप्रसाद साथीसहित शिक्षालयमा पुगेको र त्यहिबेला चेक चोरी भएको अनुमान गरिएको प्राचार्य अधिकारीले बताए ।
हस्ताक्षर गरेको चेक सकिएपछि आफैं किर्ते गरेर उनीहरु थप रकम निकाल्न बैंक गएका थिए । हस्ताक्षर नमिलेपछि बैंकले विश्वविद्यालयलाई जानकारी गराउँदा घटना बाहिर आएको हो ।
मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले लेखा अधिकृतको टेबुलमा कसैलाई दिन भनेर तयार पारेको चेक चोरी भएको पाइएको बताए । ‘कार्यालय प्रमुखको हस्ताक्षर गर्न रहेको १२ वटा चेक चोरेछन्’ उनले भने, ‘६ वटा हस्ताक्षर गरेको चेक साटेपछि थप चेकमा आफैं हस्ताक्षर गरेर साट्न प्रयास गर्दा उनीहरु पक्राउ परेका हुन् ।’
बुधबार उनीहरुलाई पक्राउ गरेर चेक चोरीको केसमा म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गत आइतबार चेक साटिएकोले चेक चोरी पनि त्यही दिन भएको अनुमान रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकााहरुले आफ्नो अपराध स्वीकार गरिसकेको जानकारी दिँदै डिएसपी जोशीले चोरी र किर्तेमा मुद्दा चल्ने संभावना रहेको बताए ।
चोरी भएको चेक राष्ट्रिय वाणिज्य बैंकको हो । चेक हराएको विषयमा विश्वविद्यालयले बैंकलाई समेत जानकारी दिएको थिएन । कार्यालय प्रमुख अधिकारीले भने आफूहरुलाई चेक हराएको विषयमा एकैचोटी आइतबार मात्रै थाहा भएको बताए । ‘चेक हराएको थाहा भएपनि चोरी भएको विषयमा थाहा नहुँदा बैंकलाई जानकारी नदिएको हो,’ उनले भने ।पक्राउ परेका दुई विद्यार्थीलाई भने जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ । उक्त चेकमा हस्ताक्षर गर्ने लेखा प्रमुख लेखी नेकपा एमालेका नेतासमेत रहेका बोर्ड अफ जस्टिज सत्यनारायण चौधरीकी श्रीमती हुन् ।
विश्वविद्यालय स्रोतले भने चेक चोरीमा लेखा अधिकृतकै संलग्नता हुनसक्ने दाबी गरेको छ । ‘चेक चोरीको विषयमा जानकारी आएपछि पनि विश्वविद्यालय पदाधिकारीले नै प्रहरीलाई नै अनुसन्धान गर्नमा रोक लगाएको थियो’ एक कर्मचारीले भने, ‘अन्तिम समयमा निमुवा प्रहरीले थाहा पाएर कडाइ गरेपछि विद्यार्थी पक्राउ परेका हुन् ।’ स्रोतका अनुसार १० दिन अगाडि नै चेक हराएको र लेखा शाखामा कुनै क्षतिविनै कसरी चेक चोरी भयो भन्ने गम्भीर प्रश्न छ ।
प्रहरीका अनुसार चोरी भएका १३ वटामध्ये ६ वटा चेकमा प्रचार्य र लेखा शाखा प्रमुखको हस्ताक्षर भइसकेर शिक्षालयको छाप लगाइएको थियो । हस्ताक्षर र छाप भएका चेक टंकप्रसाद र सुमितसागरले सहजै साट्न सकेको डीएसपी जोशीले बताए । उनका अनुसार ७ वटा चेकमा लेखा शाखा प्रमुखको मात्रै हस्ताक्षर थियो । प्रचार्यको हस्ताक्षर थिएन ।
प्राचार्यको हस्ताक्षर नभएका चेकमा अघिल्लो चेकबाट हस्ताक्षर चोरी गरेर बैंकमा साट्न गएको पाइएको जोशीले बताए । शिक्षालयको नक्कली छाप बनाएर चेकमा प्रयोग गरेको पाइएको उनको भनाइ छ । ‘७ वटामध्ये प्रचार्यको हस्ताक्षर किर्ते गरेर ५ वटा साटिसकेका रहेछन् । २ वटा साट्न जाने क्रममा प्रचार्यको हस्ताक्षर नमिलेपछि बैंकले शंका लागेर शिक्षालयलाई खबर गरेको रहेछ,’ डीएसपी जोशी भन्छन् ।
उनका अनुसार एभरेष्ट बैंकका विभिन्न शाखाबाट सोमबार र मंगलबार रकम निकालेको पाइएको छ । विराटनगरको भाटभटेनीनजिकको शाखा र कञ्चानबारी शाखाबाट चेक साटेर पैसा निकालेको पाइएको प्रहरीले जनाएको छ । बाँकी रहेका २ वटा चेक साट्न उनीहरु बुधबार दिउँसो सुनसरीको दुहबी शाखामा पुगेका थिए ।
त्यस क्रममा बैंकको समन्वयमा इलाका प्रहरी कार्यालय नेमुवाका सइ भुवन श्रेष्ठ नेतृत्वको टोलीले दुवै जनालाई पक्राउ गरेर आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाएको हो । शिक्षालयका प्रचार्य अधिकारीका अनुसार चेक चोरीमा संलग्न पक्राउ परेसँगै त्यसअघि उनीहरुले निकालेको रकम ‘रिकभर’ भइसकेको छ । शिक्षकहरुलाई भुक्तानी दिन ठिक्क पारिएको चेक चोरी भएको उनले बताए ।
चेक चोरी हुँदा शिक्षालयको सीसी क्यामेरा फुटेज नै नभएको पाइएको छ । ‘घटना सीसी क्यामेरामा ‘क्याप्चर’ भएको पाइएन,’ प्रहरी स्रोतले भन्यो, ‘चोरीमा शिक्षालयमै कार्यरत कसैको संलग्नता र सहयोग थियो कि ? भन्ने आशंका पनि छ ।’ विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेकाले अनुसन्धानपछि वास्तविकता पत्ता लाग्ने डीएसपी जोशीले बताए ।