पुण्य पी अधिकारी
पूर्वपश्चिम राजमार्गको अर्थ नेपालका लागि जत्ति महत्वपूर्ण छ । दक्षिणी तराईका लागि हुलाकी राजमार्गको उत्तिकै । दक्षिणी तराईका लागि हुलाकी राजमार्ग मेरूदण्ड नै हो । तर, हुलाकी राजमार्गको कथा जति पुरानो छ । यसको विकासक्रम पनि त्यस्तै पुरानो छ ।पूर्वी नेपालको झापाको भद्रपुरदेखि पश्चिम नेपाल जोड्ने हुलाकी राजमार्ग निर्माणका लागि राज्यले पचासौँ विकासका योजना बनाइ सकेको छ । तर, पुरा हुन सकेको छैन । हुलाकी निर्माणको सुरूआत हुँदा बाल्यकाल बिताएकाहरू आज हजुरबुबाको उमेर बिताउँदै गर्दा हुलाकी राजमार्ग न बालकबाट वयस्क भएको न, न वयस्कबाट वृद्ध नै । अहिले पनि ताते नै सारिरहेको छ ।पूर्वी नेपालका लागि हुलाकी राजमार्ग प्रदेश राजधानीसँग सिधा जोडिने मार्ग हो ।
झापाको एउटा कुनोदेखि मोरङको विराटनगरमा दक्षिण पूर्वपश्चिम भएर जोडिने यो मार्ग निर्माण हुने आशामा धेरै मतदाता नै धेरै उम्मेदवारलाई चुनाव जिताएका छन् । अझै दुईचार ओटा चुनाव हुलाकी राजमार्गमा पर्ने माइखोला र रतुवाखोलामा पुल निर्माण गरिदिने आश्वासनमा जित्ने दाऊमा राजनीति गर्नेहरू छन् ।पूर्वी नेपालमा हुलाकी राजमार्गमा पर्ने माइखोला पुल र रतुवा खोला पुल मुख्य समस्या हुन् । तर तिनै समस्या आजसम्म हल हुन सकेका छैनन् । हालैका दिनमा विराटनगरदेखि पूर्व झापासम्म अधिकांश क्षेत्रमा कालोपत्र भएको छ । विभिन्न ठेकेदार कम्पनीले अटेर गर्दैै भएपनि ६, ७ वर्ष लगाएर कालोपत्रे गरेका छन् ।तर, विराटनगरदेखि पूर्व कटहरी गाउँपालिकामा भएर जाने नौ किलोमिटर सडक ठेकेदारले निर्माणका लागि भत्काएको ७ वर्ष पुरा भएको छ । तर, निर्माण हुने क्रम अझै राम्रो ढङ्गले अघि बढ्न सकेको छैन् । ठेकेदारले राज्यका प्रतिनिधि र संयन्त्रलाई नपत्याउँदा समस्या र सास्ती सर्वसाधारणले भोग्नु परेको छ । नौ किलोमिटर सडकमा कालोपत्रे गर्नका लागि अहिले स्थानीय र जनप्रतिनिधि ठेकेदारविरूद्ध आन्दोलनमा छन् ।
विडम्वना के छ भने कटहरीका स्थानीयले बाटो निर्माण गर, कालोपत्र गर भन्नका लागि आन्दोलन गर्नु परेको छ । विकासका लागि आन्दोलन गर्नुपर्ने अचम्मको परिपाटीको विकास ठेकेदारहरूले गराउँदै गर्दा राज्य भने मुकदर्शक भएर बसेको छ ।ठेकेदारले प्रमुख जिल्ला अधिकारीलगायत प्रदेश र सङ्घीय सरकारका मन्त्री र प्रतिनिधिलाई नपत्याउँदा हाटखोलादेखि पूर्व रामचोक सम्मको नौ किलोमिटर सडक कालोपत्र हुन नसकेर अलपत्र अवस्थामा छ । स्थानीयले पटकपटक आन्दोलन गर्दै आएका छन् । स्वस्थ्य मानिसले निर्माण हुन बाँकी नौ किलोमिटर यात्रा गर्दा धूलोका कारण विरामी हुनु परेको छ । बिरामी बोक्ने एम्बुलेन्स खराब बाटोका कारण चल्न नमान्दा सर्वसाधारणले महङ्गो शुल्क तिर्नु परेको छ । यो अवस्थाको अन्त्य कसले गरिदिने हो ? सर्वसाधारण, ठेकेदारले, प्रदेश सरकार वा सङ्घीय सरकारले । प्रश्न बढो जटिल र तिलस्मी छ ।