अधिकारीलाई उन्मुक्ति दिएकोमा आपत्ति

विराटनगर । मानव तस्करीमा जोडिएको आरोप लागेका कोशीका पूर्वमन्त्री तथा एमाले नेता लिलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिएकोप्रति नेकपा माओवादी केन्द्रले आपत्ती जनाएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा बुधबार बसेको पार्टी पदाधिकारी बैठकले तस्कर र भ्रष्टको संरक्षण गरेको भन्दै उपनिर्वाचनपछि सरकारविरुद्ध खबरदारीमा जाने निर्णय गरेको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।‘सरकारले मानव तस्करीजस्तो गम्भीर प्रकरणमा मुछिएका व्यक्तिलाई उन्मुक्ति दिने काम गरेको छ, यसमा हाम्रो घोर आपत्ति छ’ सापकोटाले भने, ‘मानव तस्करी प्रकरणमा अधिकारीलाई उन्मुक्ति दिने र अन्यलाई मुद्दा चलाउने काम घोर आपत्तिजनक रहेको निष्कर्ष बैठकले निकालेको छ ।’ जापान प्रकरणका मुख्य योजनाकार अधिकारी नै रहेको प्रहरी अनुसन्धानबाट देखिएको भन्दै उनले सरकारी वकिलको कार्यालयमार्फत उन्मुक्ति दिनु सत्ताको दुरुपयोगको नमुना भएको बताए ।

‘जसको निर्देशनमा मानिस जापान लैजाने काम भयो उसैलाई उन्मुक्ति दिने, उनलाई छुटाएर मुद्दा दर्ता गरिएको छ’ सापकोटाले भने, ‘भ्रष्ट र तस्करको संरक्षणको लागि यो सरकार गठन भएको पुनःपुष्टि भएको छ ।’ सरकारले भ्रष्टचारी र माफियाको संरक्षण गर्दै आएको आफूहरुको आरोप यो कदमले थप प्रमाणित गरेको उनले दावी गरे ।नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि अधिकारीलाई उन्मुक्ति दिने निर्णयप्रति आपत्ती जनाएका छन् । मोरङको ग्रामथानमा चुनाबी अभियानको क्रममा बुधबार आयोजित कार्यक्रममा उनले प्रहरीको अनुसन्धानबाट दोषी देखिएको अवस्थामा पनि अधिकारीलाई उन्मुक्ति दिनुले एमाले नेतृत्वको सरकार कसरी अगाडि बढ्छ भन्ने स्पष्ट भएको बताए ।

‘मुख्यमन्त्रीलाई र सरकारलाई थाहा नदिई एउटा मन्त्री जापान भ्रमण गर्छ, अर्काको पैसामा बिचौलियाको योजनामा जापान भ्रमण गर्ने मन्त्रीलाई उन्मुक्ति दिइएको छ’ उनले भने, ‘जापान जान लाखौं रुपैयाँ बुझाएका निरिह व्यक्तिविरुद्ध मुद्दा चलाइएको छ ।’ विषय अदालत पुग्नै नदिई अधिकारीलाई उन्मुक्ति दिने यो कदम सत्ताको दुरुपयोगको चरम नमुना हो ।
सहकारी प्रकरणको निश्पक्ष छानविन गरि दोषीमाथि कार्वाही गर्नुपर्ने बताउँदै आङ्बोले सहकारी ठगीमा जोडिएका मोरङका एमाले सांसद ऋषिकेश पोखरेलमाथि छानविन नभएकोप्रति आपत्ती जनाए । काँग्रेसका सांसद धनराज गुरुङमाथि छानविन गर्न संसदीय समितिले सिफारिस गरेको भएपनि छानविन नहुनुले सरकार आफू निकट भएका भ्रष्ट, तस्कर र ठग संरक्षण गर्ने अभियानमा रहेको पुष्टि हुने उनको दावी छ ।

एमालेका मोरङका दुई सांसदहरु ऋषिकेश पोखरेल र लिलाबल्लभ अधिकारी तस्करी तथा ठगीमा मुछिएको भन्दै आङ्बोले आगामी दिनमा जनप्रतिनिधि छान्दा मतदाता सचेत हुनुपर्ने बताए । उनीहरुलाई छानविन र कार्वाही नभएसम्म आफूहरुले खबरदारी गर्ने उनको भनाइ छ ।

कोशी प्रदेशका एमाले रहेका अधिकारीलाई मानव तस्करी प्रकरणमा प्रहरीले पक्राउ गरेर मुद्दा चलाउन राय दिएको भएपनि सरकारी वकिल कार्यालय काठमाडौंले उन्मुक्ति दिएको थियो । जापानको अध्यागमन कार्यालयले एकैसाथ ‘डिपोर्ट’ गरेका चार जनामध्ये पूर्वमन्त्री अधिकारीलाई भने ‘आफै अनुरोध गरेर जापानबाट फर्किएको’ भन्ने उनकै दावीमा टेकेर वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेपछि उनी थुनामुक्त भइसकेका छन् ।

जिल्ला अदालत काठमाडौंमा अधिकारीवाहेक ११ जनाविरुद्ध भने मानव तस्करी र किर्ते मुद्दामा अभियोगपत्र दायर भएको छ । अभियोगपत्रमा काठमाडौं प्रहरी परिसरका अनुसन्धान अधिकृत तेजप्रसाद भट्टराईले तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका अधिकारीलाई समेत नारिता एयरपोर्टबाट ‘डिपोर्ट’ गरिएकाले मुद्दा चलाउन राय दिएको प्रष्टसँग उल्लेख छ ।
‘‘उनीहरू तथा लिलाबल्लभ अधिकारीलाई समेत जापानको नारिता विमानस्थलको अध्यागमन कार्यालयबाट नै डिपोर्ट गरी क्याथे प्यासिफिक एयरवेजबाट नै नेपालमा फिर्ता पठाई दिएको हुँदा लिलाबल्लभ अधिकारी, महेश पाण्डे, वीरबहादुर सुनुवार, गोपाल भन्ने योगराज गौतम, बिष्णु भट्टराई, दिवाकरबावु भट्टराई र जुगल रिजालको समेतको संलग्नतामा कन्चन देवकोटा, जनक राई र दावा शेर्पा समेतलाई अवैध तवरले जापानमा लगी मुलुकी अपराध संहिता २०७४ को लिखत सम्बन्धी कसूरको अपराध र मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ को दफा ४ को उपदफा २ को (ग) बमोजिमको कसूरमा समेत अनुसन्धान गर्नुपर्ने देखिएको हुँदा निजहरूको यकिन नाम थर वतन समेत खुलाई सोही अनुसार कारबाही हुन यो प्रतिवेदन लेखी पेश गरेको छु,’ अनुसन्धान प्रतिवेदनमा प्रहरी निरीक्षक भट्टराईले लेखेका छन् । डिपोर्ट भएका सबैको भिसाको पानामा ‘इमिग्रेसन इनभेष्टिगेटर’ लेखेको प्रहरीले जनाएको छ ।

तीन जनालाई जापानी अध्यागमनले ‘डिपोर्ट’ अर्थात फिर्ता गरेको र मन्त्री आफै फर्किएको भन्ने उनको दावीलाई भिसामा लेखिएको कुराले पुष्टि नगर्ने प्रहरी स्रोतले जनाएको छ । जापान अध्यागमनले चारै जनालाई फिर्ता पठाएको र अरु पनि प्राप्त प्रमाणको आधारमा प्रहरीले चारै जनालाई मुद्दा लाउने राय सरकारी वकिललाई बुझाएको थियो ।
पूर्वमन्त्री अधिकारी कार्यक्रमका आयोजकहरू हाल फरार रहेका विष्णु भट्टराई, गोपाल भन्ने योगराज गौतम, दिवाकरबाबु भट्टराई र हाल पक्राउ परेका महेश पाण्डेसँग मिलेमतो गरेको प्रहरीको प्रतिवेदनमा उल्लेख छ । उनीहरूले मिलेमतो गरी कन्चन देवकोटा, जनक राई र दावा शेर्पालाई अवैध रूपमा नक्कली कागजातहरू बनाएर जापान लैजान खोजेको प्रहरी अनुसन्धानको निश्कर्ष छ ।

सरकारी वकिलको कार्यालयले सरकारकै दबाबमा फितला आधारहरू टेकेर सांसद अधिकारीमाथि मुद्दा नचलाउने निर्णय गरेको स्रोतले जनाएको छ । महान्यायाधीवक्ता कार्यालयले नै अधिकारीलाई मुद्दा नचलाउन निर्देशन दिएपछि उनले उन्मुक्ति पाएको सरकारी वकिल कार्यालय स्रोतको दावी छ ।

त्यसो त अधिकारी आफै पनि फौजदारी मुद्दाका वकिल हुन् । उनले आफू जोगिनकै लागि जापानबाट प्रहरीलाई घटनाबारे म्यासेज गरेको दावी अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले गरेका छन् । ‘उनी गलत थिएनन् भने विचौलियाको पैसामा जापान जान खोज्ने नै थिएनन्’ उनले भने, ‘थाहा नपाई गएका थिए भने पनि हङकङबाटै फर्किने थिए । तर, उनी जापानको नारिता विमानस्थल पुगेर जापान छिर्ने प्रयास गर्दा असफल भएपछि मात्र फर्किन बाध्य भएका हुन् ।’

सरकारी वकिलको कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सिसी टिभी फुटेजमा पनि अधिकारी एक्लै सवार भएको कुरालाई उन्मुक्ति दिने आधार बनाएको छ । जबकि विमानस्थलभित्रै दुई बिचौलिया महेश पाण्डे र योगराज गौतमसँग कर्फी खाएको फोटो नै सार्वजनिक छ ।

बिहिबार, १३ मंसिर, २०८१, बिहानको ०७:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर