विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । बुढीगंगा गाउँपालिकाको आयोजनामा पालिका स्तरीय प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको मंगलबार संघीय सरकारका खेलकुदमन्त्री तेजुलाल चौधरीले उद्घाटन गरे । यो वर्षको राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता गराउने जिम्मेवारी नरग्राम माध्यमिक विद्यालयले पाएको छ ।प्रतियोगिता आगामी मङ्सिर १५ गतेसम्म हुने नरग्राम माध्यमिक विद्यालयका प्रधानाध्यापक कैलाश केसीले जानकारी दिए । प्रतिभा पहिचान अन्तरगतको कक्षा ६–८ हाम्रो संस्कृति हाम्रो पहिचान विषयमा वक्तृत्वकला र कक्षा ९–१२ लोक तथा आधुनिक गायन प्रतियोगिता पहिलो दिन भएको छ ।
हाम्रो सुन्दर विद्यालय कक्षा १–३ चित्रकला प्रतियोगिता, प्रतिभा पहिचान अन्तरगतकै कक्षा ४–५ लोक नृत्य प्रतियोगिता बुधबार हुने आयोजक बुढीगंगा गाउँपालिकाका शिक्षा अधिकृत लक्ष्मी न्यौपानेले जानकारी दिइन् । खेलकुद प्रतियोगिताहरूमा भलिबल, कबड्डी, दौड ट्र्याक तर्फ, उफ्रने र फ्याँक्ने फिल्ड तर्फ र कराँते हुनेछ । खेलहरू जनप्रिय माध्यमिक विद्यालय बाँसबारीमा हुने छ ।
प्रतिभा पहिचानका कार्यक्रमहरू नरग्राम माध्यमिक विद्यालयमा र खेलकुदका सबै प्रतियोगिताहरू जनप्रिय माध्यमिक विद्यालयमा हुने तथा पुरस्कार वितरण नरग्राम माविमा गर्ने कार्यक्रम तालिका रहेको गाउँपालिकाका अध्यक्ष जीतनारायण थापाले जानकारी दिए । पालिका आफैँले खेलकुदका कार्यक्रम गर्न बजेट विनियोजन गरेको उनले बताए ।
कुलतमा फस्दै गएका बालबालिका विद्यालयसम्म ल्याउन र खेलकुद प्रति आकर्षित गर्नको लागि अहिले २०० आर्थिक अवस्था कमजोर भएका विपन्न र दलित बालबालिकालाई कराँते प्रशिक्षणमा राखेको गाउँपालिकाले जनाएको छ । कार्यक्रमपछि उनीहरू विद्यालय नियमित आउन थालेको समेत थापाले जानकारी दिए ।
फोटो