विराटनगर । विराटनगर भन्सार कार्यालयबाट नापजाँच भएर निस्किएका मालबाहक सवारी साधनहरुलाई ट्राफिक प्रहरीले ‘ओभरलोड’ को नाममा जरिवाना असुलेर दुःख दिने गरेको भन्सार एजेन्टहरुले गुनासो गरेका छन् ।
सुनसरी–मोरङ औद्योगिक करिडोरको लागि कच्चा पदार्थ बोकेर आएको मालबाहक सवारी साधनहरुलाई मोरङ ट्राफिक प्रहरीले ओभरलोडको नाममा जरिवाना असुलेर दुःख दिने गरेको एजेन्टहरुको भनाइ छ ।विराटनगर भन्सार कार्यालयबाट नापचाँज भएर दैनिक २ सयदेखि २५० वटा मालबहाक सवारी साधन निस्किने गरेका छन् । तीमध्ये एक सय सवारी साधन सुनसरी–मोरङ औद्योगिक करिडोरको हुने गरेको छ । मालबाहक सवारी साधनहरुलाई ट्राफिक प्रहरीले ओभरलोडको नाममा दुई हजार रुपैयाँसम्म जरिवाना लिनेदेखि रोकेर दुःख दिनेसम्म गरेको भन्सार भन्सार एजेन्ट संघका केन्द्रीय सचिब प्रविण जोशीले जानकारी दिए ।
गृह मन्त्रालयले २०७६ वैशाख २७ गते भन्सारबाट नापजाँच भएका मालबाहक सवारी साधनहरुलाई सडकमा नरोक्नु भनेर पत्रचार गरेको भएपनि ट्राफिकले रोक्ने गरेको छ । प्रहरीको क्षेत्रअधिकारभित्र नपर्ने विषयमा ट्राफिक प्रहरीले अनावश्यक दुःख दिने गरेको जोशीले बताए ।
ट्राफिक प्रहरीलाई मासिक रुपमा रकम बुझाएका केही उद्योगका सवारी साधानहरुलाई भने प्रहरीले कुनै पनि चेकजाँच नगर्ने आरोप लागेको छ । ‘ट्राफिक प्रहरीलाई मासिक बुझाएको व्यापारीको उद्योगमा आएको मालबाहक सवारी साधानलाई कुनैपनि चेकजाँच हुँदैन’ एक भन्सार एजेन्टले भने, ‘मासिक नबुझाएका उद्योगमा ल्याएको सवारी साधनलाई भने दुःख दिने गरेको छ ।’
मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजन लम्सालले भने ट्राफिक प्रहरीले सवारी साधानहरुलाई कुनै पनि गुनासो नदिएको दाबी गरेका छन् । ‘भन्सारबाट नापजाँच भएका मालबाहक ट्रक लहरीहरुलाई हामी चेकजाँच गर्दैनौं’ उनले भने, ‘केही उद्योगले ट्याक्टरमा खुद्रे समानहरु ल्याएको अवस्थामा चेकजाँच गर्ने हो ।’
विराटनगर भन्सार एजेन्ट संघले भन्सारबाट नापजाँच भएर निस्किएको ढुवानीको सावारी साधानहरुलाई निर्वाध रुपमा सञ्चालन गर्न दिनुपर्ने माग राखेका छन् । ट्राफिक प्रहरीले ओभरलोडलगायत अन्य विभिन्न बहानमा अनआवश्यक रुपमा दुःख दिएर हैरानी बनाएको भन्दै उनीहरुले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख बिनोद घिमिरलेलाई भेटेर यस्तो माग राखेका हुन् ।
मंसिर ६ गते एजेन्ट संघको बैठक बसेपछि उनीहरुले कोशी प्रदेशको ट्राफिक प्रहरी प्रमुखलाई भेटेका हुन् । ‘विगत केहि महिनादेखि विराटनगर भन्सार कार्यालयवाट जाँचपास भएर निस्केका औद्योगिक कच्चा पदार्थ, मिल मेशिनरी नथा अन्य आयातित वस्तुहरु बोकेका मालबाहक साधनहरु आफ्नो गन्तव्यसम्म जाँदा बाटोमा ट्राफिक प्रहरीबाट ओभरलोडलगायत विभिन्न कारण देखाई ढुवानीका साधनहरु समातेर दुःख दिने, अनावश्यक जरिवाना लिई हैरानी दिने, २–३ दिनसम्म होल्ड राख्ने जस्को कारण उद्योगी व्यापारीहरुले दुबानीका साधानहरुलाई अप्रत्यक्ष हर्जाना तिर्नु परिरेको तथा व्यापार सञ्चालनमा प्रत्यक्ष असर पर्न गईरहेको व्यहोरा अवगत गराउन चाहन्छौं’ उनीहरुले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । उनीहरुले गृह मन्त्रालयबाट मिति २०७६-०२-०२ चं. नंं. २६४६ को पत्र कार्यान्वयन गराउन पनि आग्रह गरेका छन् ।
विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकी नन्दन शर्मा र सचिव अनिष खनालले हस्ताक्षर गरेर ट्राफिकमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।