विराटनगर ।स्वच्छ वातावरणको नारा दिँदै सडक नालामा ढल मिसाउनेबाट लाखौं रुपैयाँ जरिवाना असुल्दै आएको विराटनगर महानगरपालिका कोशी अस्पतालप्रति भने उस्तै अपराधमा उदार देखिएको छ । कोशी अस्पतालकै अगाडि रहेको गोल्डेन अस्पतालले नालामा ढल मिसाएको आरोपमा महानगरपालिकालाई पटक पटक जरिवाना तिरेको छ । तर, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला सञ्चालक समितिका सदस्य भएकै कारण कोशी अस्पतालले कयौं महिनादेखि सडक नालामा शौचालयको फोहोर बगाउँदा कुनै कारवाही गर्न चासोसमेत देखाएको छैन ।
सार्वजनिक सडक नालामा शौचालयको ढल मिसाउन रोक्ने उद्देश्यले झण्डै ३ अर्ब रुपैयाँ खर्च गरेर विराटनगर महानगरपालिकाले केही वर्ष अगाडि नै महानगरको मुख्य बजार क्षेत्रलाई समेटेर ढल प्रणाली सञ्चालनमा ल्याइसकेको छ । कोशी अस्पताल क्षेत्रपनि महानगरको ढल प्रणालीभित्रै पर्छ । तर यतिका वर्षसम्म अस्पताल महानगरको ढल प्रणालीमा जोडिएको छैन । जसले गर्दा कोशी अस्पतालमा संकलन हुने दिसापिसाब त्यहाँ रहेको दश वटा सेफ्टी ट्यांकी र आकस्मिक कक्षलगायत केही ठाउँका शौचालयको फोहोर सिधै खुला ठाउँमा बगाइने गरेको छ । जसले अस्पताल वरिपरीको वातावरण प्रदूषित बनेको छ । अस्पतालको यस्तो लापरवाहीविरुद्ध भने विराटनगर महानगरले कुनै कारवाही नगरी उन्मुक्ति दिँदै आएको छ ।
कोशी अस्पतालमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला पदेन सञ्चालक समिति सदस्य छन् । सोही कारणले गर्दा मानव स्वास्थ्यमा गम्भीर असर हुने गरी अस्पतालको शौच नालामा हालेको जानकारी पाएर पनि महानगरले अस्पताललाई कडिकडाउ पत्र लेख्न र कारवाही गर्न सकिरहेको छैन ।
कोशी अस्पतालले शौचालयको दिसा नालामा बगाउने गरेको विषयमा संचारमाध्यमहरुले पटक पटक समचार प्रकाशित गरेको भएपनि महानगरपालिकाले कुनै चासो दिएको छैन । महानगरको वातावरण तथा सरसफाई शाखा पनि कोशी अस्पतालले ढल नालामा मिसाउने गरेको घटना जानकारी पाएर पनि कानमा तेल हालेर बसिरहेको अस्पताल अगाडि औषधि पसल सञ्चालन गर्दै आएका एक व्यावसायीले बताए । उनले भने, ‘महानगरबाट दुई तीन पटक अनुगमनमा आएको हामीले देख्यौं तर यो समस्या कहिल्यै समाधान भएन, अस्पतालले दिशा बगाउन पनि छोडेन, यहाँ दुर्गन्धले हामी हैरान भइसकेका छौं ।’
यस विषयमा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले आफूलाई यस विषयमा केही थाहा नभएको र त्यसरी शौचालयको फोहर नालामा बगाउने गरेको भेटिए कारवाही गर्ने बताए । ‘तपाईंले जानकारी दिनुभयो । तत्काल सरसफाई तथा वावतरण शाखाका कर्मचारीलाई भनेर यस विषयमा बुझन पठाउनेछु,’ उनले भने, ‘नालामा शौचालयको फोहर हालेको भेटिए कानुन अनुसार कारवाही हुनेछ ।’
फोहोर व्यवस्थापनको नाममा वार्षिक दुई करोड बढी खर्च गर्ने गरेको अस्पतालको सेफ्टी ट्यांक भरिएर बगेको दिसा पिसाब सिधै सडक नालामा बगाउने गरेको छ । अस्पतालभित्रको विभिन्न भवनमा रहेको शौचालयको दिसा पिसाब सिधै सडक नालामा बगाउँदा जनस्वास्थ्यमा असर परिरहेको छ । सडक दुर्गन्धित हुनुका साथै विभिन्न संक्रमणहरु फैलिनाले स्थानीय र सेवाग्राहीहरु प्रभावित भइरहेका छन् ।
कोशी अस्पतालमा करिब आधा दर्जन संख्यामा रहेको भवनमा जोडिएका १० वटा सेफ्टी ट्यांकी छन् । जसमध्ये आकस्मिक कक्ष, मेडिकल भवन, हाडजोर्नी तथा नसा रोग विभाग र आइसीयु रहेको भवनका शौचालयबाट निस्किएको दिसा पिसाब सिधै सडकको नालामा बगाइने गरिएको छ ।
आकस्मिक कक्षदेखि पछाडितर्फ र कोशी अस्पतालको क्यान्टिन भएको ठाउँबाट करिब पाँच मिटर पश्चिमको नालामा शौचालयको फोहोर मिसाउने गरेको पाइएको हो । जनस्वास्थ्यलाई गम्भीर असर पर्ने दिसाजन्य फोहोर नालामा फाल्दा अस्पताल परिसर र बाहिरी वातावरण प्रदूषित छ । सरसफाइ र त्यसका लागि नियुक्त गरिएका सफाई कर्मचारीका लागि वार्षिक दुई करोड रुपैयाँभन्दा बढी खर्च गरिरहेको अस्पतालले दिसा, पिसाब व्यवस्थापनका लागि मात्र बर्षेनि लाखौं रुपैयाँ खर्च गर्दै आएको छ । तर, सेफ्टी ट्यांकी सफाईका लागि कति खर्च भएको छ भन्ने विवरण भने अस्पतालले उपलब्ध गराएको छैन ।
दैनिक ३ हजारभन्दा बढी बिरामी, कुरुवा र कर्मचारीहरुको उपस्थिति हुने अस्पतालबाट निस्किने दिसाजन्य फोहोर बगाउन विराटनगर महानगरपालिकाको व्यवस्थित ढल प्रणाली कोशी अस्पतालसम्मै पुगेको छ । तर, अस्पतालले थोरै शुल्कमा अस्पतालको दिसा, पिसाब बगाउन ढल प्रणालीमा आवद्ध हुन चाहेको छैन ।
ढल प्रणालीमा आवद्ध हुँदा खासै ठूलो खर्च नआउने महानगरपालिकाले जनाएको छ । निजी व्यवसायिक प्रतिष्ठानहरुले धेरैमा १ लाख ४४ हजार रुपैयाँ वार्षिक शुल्क तिर्दा ढल प्रयोग गर्न सक्छन् । कोशी अस्पताललगायत सार्वजनिक सरकारी निकायले त्यो भन्दा कम शुल्कमै ढल प्रयोग गर्न सक्ने अवस्था हुँदाहुँदै पनि अस्पतालले लापरवाही गरी सार्वजनिक नालामा दिसा बगाइरहेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।
न्यून खर्चमा दिसा पिसाब व्यवस्थापन गर्ने तर्फ नलागेर कोशी अस्पतालले एकातिर दुर्गन्ध फैलाइरहेको छ भने सेफ्टी ट्यांकी सफाइको बहानामा लाखौं रकम खर्चिरहेको छ ।सरसफाइका लागि कोशी अस्पतालमा सफाइ कर्मचारी मात्र ५० जना कार्यरत रहेको अस्पतालले जनाएको छ । कोशी अस्पतालमा २० जना स्थायी, ४ जना करार र २६ जना ज्यालादारीमा काम गर्ने सफाइ कर्मचारी छन् । उनीहरुको काम अस्पतालको फोहोर व्यवस्थापन र सरसफाइ गर्ने हो । ती ५० जना सफाइ कर्मचारीका लागि मात्र वार्षिक १ करोड ३१ लाख ७६ हजार रुपैयाँ खर्च हुने गरेको छ । स्थायी कर्मचारीले मासिक २८ हजार, करारका २४ हजार र ज्यालादारीले १७ हजार रुपैयाँ पारिश्रमिक पाउँछन् ।
अस्पतालले फोहोर व्यवस्थापनको नाममा पनि विभिन्न कमजोरी गरिरहेको पाइएको छ । अस्पतालजन्य फोहोर बिसर्जनको मान्यताविपरीत कोशी अस्पतालले मासिक ५० हजार रुपैयाँ भुक्तानी दिने गरी सविता सेफ्टी ट्यांकलाई फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी दिएको छ । उक्त कम्पनीको आफ्नै ल्याण्ड फिल साइड नहुँदा जथाभावी अस्पतालजन्य फोहोर विसर्जन गर्ने गरेको छ । त्यसले पूरै सहरलाई असुरक्षित बनाइरहेको छ । यस्ता कार्यमा मात्र अस्पतालले वार्षिक २ करोड रुपैयाँभन्दा बढी खर्चिने गरेको पाइएको हो । सफाईको नाममा यति ठूलो रकम खर्च गर्ने गरेको अस्पतालले जनस्वास्थ्यमा खेलवाड गर्दै सार्वजनिक नालामा खुला रुपमा दिसा बगाउने काम गरिरहेको छ । थोरै खर्च गरेर महानगरको ढल प्रणालीमा बगाउँदा दिसा, पिसाब व्यवस्थापन सहज हुने भएपनि अस्पताल प्रशासनले त्यसतर्फ ध्यान दिएको छैन ।
विराटनगर महानगरपालिकाले निर्माण गरेको ढल चार वर्षअघिबाटै सञ्चालनमा आइसकेको छ । नगर क्षेत्रबाट संकलन हुने ढल विराटनगर—१४ स्थित जतुवामा संकलन गरी प्रशोधन गर्ने प्लान्ट सञ्चालनमा छ । महानगरले ६४ किलोमिटर नाला, ६४ किमी सडक र २६ किमी ढल निर्माण गरेर विराटनगरको डुबान र ढल व्यवस्थापनमा एकै पटक काम गरेको थियो ।
ढल प्रणालीभित्र समेटिएका सबै घर, व्यवसाय र सार्वजनिक निकाय अनिवार्य रुपमा ढल प्रणालीमा सहभागी हुनुपर्ने महानगरको व्यवस्था भएपनि सरकारी कार्यालयहरु नै उक्त प्रणालीमा आवद्ध भएका छैनन् ।
शौचालयको दिशा पिसाब नलामा फाल्दा जनस्वास्थ्यमा गम्भीर असर पर्ने संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए । दिसाजन्य फोहोरबाट झाडापखाला, इकोला, टाइफाइड र मलेरिया, कालाजारलगायतका रोग लाग्नसक्ने डा.पुनले जानकारी दिए । ‘भाइरस वा किटाणु विभिन्न माध्यमबाट मानिसको शरीरमा प्रवेश गरेमा यी रोगहरु सर्छन्,’ उनले भने, ‘त्यसैले हामीले सरसफाइमा ध्यान दिन जरुरी छ ।’ संक्रामक रोग लागेको बेला खुला रुपमा नालमा बगाइने यस्ता दिसा पिसाब बढी जोखिमपूर्ण हुन्छन् । ’
यता कोशी अस्पतालका निमिक्त मेसु डा. मनोज ठाकुरले अस्पतालको यो समस्या पुरानो भएको बताए । ‘प्राविधिक ल्याएर चेकजाच पनि गरिएको हो । कहाँबाट फोहरजन्य वस्तु नालामा जान्छ अहिलेसम्म पत्ता लगाउन सकिएको छैन,’ उनले भने, ‘मेसु अहिले बिदामा हुनुहुन्छ । उहाँ आएपछि यस विषयमा छलफल गरेर निकास दिनुर्पछ ।’