गणेश लम्साल
तत्काल १ नं. प्रदेश (हाल कोशी) मा ६ असोज २०७६ मा दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्नका लागि प्रदेशसभाबाट विधेयक पारित गरेर मनमोहन प्राविधिक विश्वविद्यालय स्थापना गरियो । १६ असोज २०७६ मा प्रदेश प्रमुखबाट ऐन प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भएपछि मनमोहन विश्वविद्यालय कोशी प्रदेश सरकारको एक मात्र र देशकै पहिलो प्रादेशिक विश्वविद्यालय बन्नपुग्यो । मोरङको हात्तीमुढामा २०६५ देखि सञ्चालमा रहेको मनमोहन स्मृति प्रतिष्ठान अन्तर्गतको मनमोहन प्राविधिक शिक्षालय (पोलिटेक्निक) को अर्बौैको सम्पत्ती र जनशक्ति विश्वविद्यालय मातहत आयो । कोशी प्रदेशका मुख्यमन्त्री कुलपति तथा सामाजिक विकासमन्त्री सहकुलपति रहने कानुन अनुसार अहिले विश्वविद्यालय सञ्चालनमा छ ।
देशकै पहिलो प्राविधिक विश्वविद्यालय भएपनि मनमोहन नियम, कानुन, आन्तरिक निर्देशिकाहरुमा शुन्य थियो । दुई वर्ष लगाएर विश्वविद्यालयले ८ नियमावली, ७ निर्देशिका निर्माण गरि आवश्यक अन्य दक्ष जनशक्तिहरु पनि नियुक्त गर्यो । अहिले मनमोहनमा तीन वटा स्कुलहरु क्रमशः स्कुल अफ ईन्जिनिनियरिङ, स्कुल अफ मेडिसिन एण्ड एलाइड हेल्थ साईन्सेज र स्कूल अफ साईन्स एण्ड टेक्नोलोजी सञ्चालनमा छन् । स्नातक तहमा सिभिल ईन्जिनियरिङ, ईलेक्ट्रिक एण्ड ईलेक्ट्रिोनिक्स ईन्जिनियरिङ, स्नातक तहमा औषधी बिज्ञान (वि फर्मेसी) कक्षा र अस्पताल व्यवस्थापनतर्फ स्नातकत्तोर कक्षा सञ्चालन भइरहेको छ । यसैगरि अलग्गै ‘मनमोहन ईन्स्टिच्युट अफ ल’ स्थापना गरेर आगामी पुसदेखि नेपालमै पहिलो पटक विविए एलएलबी र अपराध कानुनमा एएलएम (स्नातकोत्तर) कक्षा पनि सुरु हुँदैछ ।
कोशी प्रदेशको गौरब मानिएको विश्वविद्यालयले अन्य धेरै विषयमा स्नातकदेखि स्नातकोत्तर हुदै पिएचडीसम्मको पठनपाठन गराउने लक्ष्य लिएको छ । छोटो समयमा विश्वविद्यालयले धेरै विदेशका चर्चित विश्वविद्यालययहरुसँग भगिनी सम्बन्ध बनाइसकेको छ । दक्षिण एसियामा चिनिएको एक प्राविधिक विश्वविद्यालय बनाउने योजना विश्वविद्यालयको छ ।
मनमोहनको आफ्नै अनुसन्धान केन्द्र छ । जसमा १५ भन्दा बढि महत्वपूर्ण अनुसन्धान भइसकेका छन् । विश्वविद्यालयको आफनै सेवा आयोग र परीक्षा नियन्त्रण कार्यालय स्थापना भइसकेको छ । सबै विषयका आधुनिक ल्याब र लाईब्रेरीहरु छन् । आफ्नै ईन्जिनियरिङ वर्कशप र भौतिक सामग्री परिक्षण गराउने व्यवसायीक भौतिक ल्याब तथा पानी परिक्षण प्रयोगशाला पनि सञ्चालनमा आइसकेको छ । जसबाट विद्यार्थीको ‘अर्न टु लर्न’ मा सहयोग पुगिरेहको छ । मनमोहनले १० वर्षे योजना अनुसार १५ वटा विषयमा स्नातक तह, १२ वटामा स्नातकोत्तर र ६ वटा विषयमा विद्यावारिधिको कक्षा सञ्चालन गर्ने लक्ष्य लिएको छ । जसबाट हरेक वर्ष २ हजार ३४३ जना विद्यार्थीहरु लावान्वित गराउने योजना छ । यसका लागि विश्वविद्यालयको कार्ययोजना र पाठ्यक्रमहरू तर्जुमा गर्दैछ । पाँच वर्षे योजना अन्तर्गत आ.व. २०७८–२०८२ सम्ममा क्रमशः सिभिल इन्जिनियरिङ्ग, आर्किटेक्चर इन्जिनियरिङ्ग, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ्ग, कम्प्युटर÷सूचना प्रविधि इन्जिनियरिङ्गमा बी.ई कार्यक्रमका साथै ब्याचलर ईन मेडिकल ल्याबोरोटरी टेक्नोलोजी, ब्याचलर ईन पब्लिक हेल्थ, बी.एस.सी ईन फार्मेसी, एम.एस.सी. ईन स्ट्रक्चरल इन्जिनियरिङ्ग, एम.एस.सी. ईन पावर सिस्टम इन्जिनियरिङ्ग, एम.एस.सी. ईन इन्भाइरोमेन्टल हेल्थ एण्ड सेप्mटी, एम.एस.सी. ईन नेचुरल रिसोर्स म्यानेजमेन्ट एण्ड डेभलप्मेन्ट र एम.एस.सी. ईन हेल्थ पोलिसी, इनोभेसन एण्ड म्यानेजमेन्ट गरी ७ वटा स्नातक र ५ वटा स्नातकोत्तर विषयहरु सञ्चालन गर्नेछ ।
दोस्रो पाँच वर्षे योजना अन्तर्गत आ.व. २०८३–२०८७ सम्ममा क्रमशः ब्याचलर ईन बायोमेडिकल इन्जिनियरिङ्ग, बी.ई.ईन मेकानिकल वा अटोमोबाइल इन्जिनियरिङ्ग, बी.एस.सी. ईन एग्रीकल्चर÷फरेस्ट्री, बी.एस.सी. ईन अप्टोमेट्री, ब्याचलर अफ होटल म्यानेज्मेन्ट, एम.वि.वि.एस. गरी स्नातक तहमा ६ वटा कार्यक्रम तथा स्नातकोत्तर तहमा ट्रान्सपोर्टेसन वा टनेल इन्जिनियरिङ्ग, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङ्ग, फार्मेसी, पब्लिक हेल्थ, केमिकल टेक्नोलोजी गरी ५ वटा विषय र विद्यावारिधीतर्फ स्ट्रक्चरल इन्जिनियरिङ्गर ट्रान्सपोर्टेसन इन्जिनियरिङ्ग, पब्लिक हेल्थ, इलेक्ट्रीकल इन्जिनियरिङ्ग, इन्भाइरोमेन्टल हेल्थ एण्ड सेफ्टी र न्याचुरल रिसोर्स म्यानेजमेन्ट एण्ड डेभलपमेन्ट गरी थप ५ वटा विषय सञ्चालन गर्ने लक्ष्य छ । सबै कार्यक्रम सञ्चालन हुँदा हरेक वर्ष २८३१ जना विद्यार्थी लाभान्वित हुनेछन् । तीन वटा स्कूलमा २८ वटा विभिन्न विषयहरु सञ्चालन गर्ने लक्ष्य मनमोहनको छ ।
सफा र प्रष्ट लक्ष्य लिएर रणनीतिसमेत बनाइसकेको विश्वविद्यालयसँग आफ्नै अस्पताल भने छैन । प्रदेश सरकारले अस्पताल हस्तान्तरण गर्न रुची नदेखाउँदा स्वास्थ्यतर्फका धेरै प्राविधिक विषयहरुको पठपनपाठन सुरु हुन सकेको छैन । कोशी सरकारले चाहेमा अस्पताल दिन नसक्ने पनि होइन । कोशी कोभिड अस्पताललाई नै पनि मनमोहनलाई हस्तान्तरण गर्नसक्छ । यसो गरेमा प्रदेश सरकारको आफ्नै शिक्षण अस्पताल पनि हुनेछ । जसमा सहुलियत उपचार सेवा सञ्चालन गर्न सकिनेछ । त्यहाँभित्र रहेको शैलजा आचार्य ह्रदय रोग केन्द्रलाई एउटा पुर्ण युनिटका रुपमा राखेर चलाउन सकिन्छ । यसबारे कोशी प्रदेश सरकारले निर्णय गर्न ढिला भइसकेको छ । सो अस्पतालमा सरकारले खरिद गरेका र दाताहरुले प्रदान गरेका जेनेरल उपचारका लागि आवश्यक करोडौंका आधुनिक शय्या र उपचारका उपकरणहरु प्रयोगविहिन छन् । भएका सम्पत्तीको संरक्षण गर्दै प्रदेशबासीलाई सर्भसुलभ रुपले सेवा दिन र स्वास्थ्य क्षेत्रका आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्न उक्त स्थानमा प्रदेश शिक्षण अस्पताल सञ्चालन गर्न सकिन्छ । जसको सञ्चालन महमोहनले गर्नसक्छ ।
प्रदेश सरकारले अस्पताल प्रदान गरेमा मनमोहनले चाँडै प्राकृतिक चिकित्सा (न्याचुरोप्याथी) विषयको स्नातोकोत्तर विषयको पढाई सुरु गर्ने योजना बनाएको छ । आँखा, ल्याब जाँच, नर्सिंङदेखि जनस्वास्थ्यलगायतका धेरै स्वास्थ्यका प्राविधिक विषयमा उच्च शिक्षा सञ्चालन हुन पाउनेछन । यसबारे सरकार र राजनीतिक दलहरु गम्भीर हुनुपर्छ । मनमोहन प्राविधिक विश्वविद्यालय कुनै पार्टीको नभएर कोशी प्रदेश सरकारको र यहिँका नागरिकको गौरब र सम्पत्ति हो ।