पत्रकार नवीन कर्णलाई ‘मिथिला गौरव सम्मान’

विराटनगर । विराटनगरका सक्रिय पत्रकार एवम् मैथिली अभियन्ता नवीन कर्ण ‘मिथिला गौरव सम्मान २०२४’ बाट भारतमा सम्मानित भएका छन् ।

भारत बिहार राज्यको मधुबनी जिल्लास्थित मिथिलाञ्चल सर्वांगिण विकास संस्थानले कर्णलाई मिथिला गौरव सम्मानबाट सम्मानित गरेको हो । मधुबनी जिल्लाको बेनीपट्टीमा आयोजित ४० औं ‘मिथिला बिभूति स्मृति पर्व समारोह’का बीच कर्णलाई सो सम्मानबाट अलंकृत गरिएको हो ।

आयोजक संस्थाका अध्यक्ष अमरनाथ झासहित आमन्त्रित बिहार सरकारका उच्च पदस्थ कर्मचारी तथा जनप्रतिनिधिले कर्णलाई मानपत्र, दोसल्ला र नगदसहित सो सम्मान प्रदान गरे । पत्रकारिताका साथसाथै मिथिला संस्कृति र मैथिली भाषाको क्षेत्रमा २०४७ सालयता निरन्तर अभियान चलाउँदै आएका कर्णको योगदानको कदरगर्दै मिथिला गौरव सम्मान प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष झा ले बताए ।

कर्णले २०६८ सालयता टेलिभिजन पत्रकारिताका साथै रेडियो, सिनेमा, गीत–संगीत, पत्रपत्रिका तथा अनलाइन संचारमाध्यमबाट मैथिली भाषा–संस्कृतिको प्रर्बधन गर्दै आएका छन् । आयोजक संस्थाले यसबर्ष कर्णसहित ७ जनालाई सो सम्मान प्रदान गरेकोमा ६ जना भारतीय मिथिला क्षेत्रका छन् । उक्त सम्मानबाट सम्मानित अन्य व्यक्तित्वहरुमा साहित्यकार शंकर मधुपांश, साहित्यकार दिपा मिश्र, सुप्रसिद्ध नृत्यांगना रागसुधा बिंजामुरी, साहित्यकार तथा मैथिली भाषाका प्राध्यापक डा.सुरेश पासवान, साहित्यकार तथा शिक्षासेवी मनोज कामत र भारतीय पत्रकार रंजीत कुमार झा रहेका छन् ।

सोहि कार्यक्रमकाबीच सुप्रसिद्ध गीतकार स्वर्गिय कपिलदेव ठाकुर ‘स्नेहलता’ लाई मरणोपरान्त मिथिला अमृत महारत्न सम्मान प्रदान गरिएको छ भने साहित्यकार डा.रंगनाथ ‘दिवाकर’लाई मिथिला कालिदास साहित्य रत्न सम्मान प्रदान गरिएको छ । यस्तै मिथिला क्षेत्रकी चर्चित गायिका, संचारकर्मी एवं कवियित्री रुपा झा लाई मिथिला शिखर सम्मान प्रदान गरिएको छ । सोहि सम्मानबाट कवि शंभू शिखर, डा.नरेश कुमार ‘विकल’ र साहित्यकार दीपनारायण विद्यार्थीलाई समेत सम्मानित गरिएको छ ।

शनिबार, ०१ मंसिर, २०८१, साँझको ०५:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर