कोशी ग्यासको ठगीधन्दा : शिलप्याक सिलिन्डरमा कम ग्यास

विराटनगर ।कोशी ग्यास उद्योगले उपभोक्तामाथि ठगी गरेको पाइएको छ । शिलप्याक शिलिण्डर ग्यासमा तोकिएकोभन्दा कम तौल भेटिएपछि उपभोक्ता ठगी भएको पाइएको हो ।

मोरङको बुढीगंगा गाउँपालिका–४ नेमुवास्थित कोशी ग्यास उद्योगले बिक्रीका लागि बजारमा पठाएको शिलप्याक चार वटा शिलिण्डरमा १६ केजी कम ग्यास भेटिएको छ । शिलप्याक सिलिन्डरमा १४ केजी २ सय ग्राम ग्यास हुनुपर्नेमा चार वटा सिलिन्डरमा कम ग्यास भेटिएको विराटनगर ३ बुद्धचोक घर भएका राजेन्द्रप्रसाद खनालले बताए ।

बुधबार दिउँसो खनालले खरिद गरेको कोशीको ग्यास सिलिन्डरमा तौल कम भेटिएको हो । खनालले खरिद गरेको शिलप्याक सिलिन्डरमा १०.७४ केजी, ९.७४५ केजी, ८.८ केजी र १३.५६५ केजी ग्यास भेटिएको नापतौल तथा गुणस्तर कार्यालय विराटनगरको निरीक्षक मनिषा राईले बताइन् ।

‘शिलप्याक गरेको सिलिन्डरमा ६ केजीसम्म ग्यास कम भएको पाइएको छ । कमजोर शिलप्याक भएको कारणले गर्दा ग्यास चोरी भएको हुनसक्छ’ उनले भनिन्, ‘यस विषयमा हामीले अनुसन्धान सुरु गरेको छौं ।’ थप अनुसन्धानपछि कारवाहीको दायरामा ल्याउने उनको भनाइ छ । खनालले रिक्सामा डुलाउनेसँग शिलप्याक चार वटा ग्यास खरिद गरेका थिए ।

‘सिलिन्डर खाली रहेकोले रिक्सामा डुलाउनेसँग चार वटा ग्यास लिएको थिएँ’ खनालले भने, ‘घरभित्र लैजान खोज्दा तौल हलुका लागेपछि चेकजाँच गर्दा एउटा सिलिन्डरमा ६ केजीसम्म कम तौल भेटियो ।’ उपभोक्ताहरुमाथि ठगी भएको भन्दै उनले जाँदा तौलको सिलिण्डर बिक्री गर्ने रिक्सावाला भने भागेको जानकारी दिए । कम तौलको ग्यास बिक्री गर्नेलाई कारवाहीको दायारमा ल्याउनुपर्ने उनले माग गरे ।

कोशी ग्यासबाट आफूजस्ता धेरै उपभोक्ता ठगिएको हुनसक्ने खनालको भनाइ छ । ‘विश्वासका भरमा खरिद गरेर प्रयोग गर्छौँ,’ उनले भने, ‘तर, उद्योगले उपभोक्तामाथि ठगी गर्दो रहेछ । ठगी गर्ने उद्योगलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।’ नियमनकारी निकाय मौन भएका कारणले पनि उपभोक्ता ठगिने क्रम बढेको उनले बताए ।

यसैबीच शिलप्याक सिलिन्डरमा १६ केजी ग्यास कम भेटिएपछि ग्यास डुलाउँदै रिक्सामा विक्री गर्ने दुई नाबलकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई विराटनगर ३ बाट बुधबार नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी बेदप्रसाद जोशीले जानकारी दिए ।
‘ग्यास कम भएको विक्री गरेपछि विराटनगर १ घर भएका नाबलक दुई जनालाई हामीले नियन्त्रणमा लिएका छौं’ उनले भने, ‘कुन डिलरबाट उनीहरुले ग्यास खरिद गरेर ल्याएको हो भन्ने सोधपुछ गर्दैछौं ।’ अनुसन्धानपछि थप विषय खुल्ने र नापतौल तथा गुणस्तर कार्यालयले थप कारवाहीको प्रक्रिया अगाडि बढाउने डिएसपी जोशीले जानकारी दिए ।

उपभोक्ता ठगीको बारेमा कोशी ग्यास उद्योगले भने आफूले नभई डुलाउनेले बद्मासी गरेको हुनसक्ने दावी गरेको छ । उद्योगका प्रतिनिधि हेमराज बस्नेतलले उद्योगबाट सहि तरिकाले शिलिण्डर पठाइएको हुनाले डुलाउनेबाट बदमासी भएको हुनसक्ने भन्दै घटनाको छानविनको माग गरे ।

‘डिलरमा गइसकेपछि हामी जिम्मा लिन सक्दैनौँ,’ उनले भने, ‘उद्योगमा भएका सिलिण्डर सही अवस्थामा रहनु र बाहिर पठाइएकोमा ग्यास नभएको कुरा आउनुले हामी पनि अचम्ममा परेका छौं ।’ उद्योगको बद्नाम गराउन चाहनेले गलत गर्न खोजेको हुनसक्ने उनको दावी छ ।

दुई वर्ष अगाडि पनि विराटनगर –२ तीनपैनी चौकका उपभोक्ता रतनकुमार बर्माले अटोमा सिलिण्डर डुलाउनेसँग खरिद गरेको कोशी ग्यासको शिलप्याक सिलिण्डरमा ३ केजी ३ सय ग्राम कम तौल भेटिएको थियो । ग्यास उद्योगले नाम मात्रको प्लाष्टिकले ¥यापिङ्ग गरिएको शिलप्याक कमजोर बनाउँदा चोरी गर्नेलाई सजिलो भएको छ ।

उद्योगले अहिले दैनिक ७ देखि ८ हजार कोशी ग्यासको सिलिन्डर उत्पादन गरिरहेको जनाएको छ । देशभरीमा ३९६ वटा डिलर रहेको उद्योगका विराटनगरमा मात्र ३२ वटा डिलरमार्फत ग्यास उपभोक्तामा घरमा पुग्ने गरेको छ ।

बुधबार, २८ कार्तिक, २०८१, साँझको ०६:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर