प्राविधिक दक्ष कानुनी जनशक्ति उत्पादन गर्छौं :डा. सुवासश्री पोखरेल

मनमोहन प्राविधिक विश्वविद्यालयले कानुन विषय किन पढाउन जरुरी परेको हो ?

मनमोहन प्राविधिक विश्वविद्यालय कोशी प्रदेश सरकारले स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालय हो । यसले तीन वटा स्कुलहरु स्थापना गरेर पठनपाठन गराइरहेको छ । हाल इन्जिनियरिङ , बि–फर्मामा स्नातक र अस्पताल व्यवस्थापनतर्फ स्नातकोत्तर तहको पढाई गरिरहेको छ । र, अब यही मंसिरदेखि कानुनको पनि नयाँ कोर्ष अनुसार पाँच वर्षे बिबिए एलएलबीको पढाई सुरु गर्न लागिएको छ । विश्वविद्यालयको उदेश्य नै दक्ष प्राविधिक जनशक्त्ति उत्पादन गर्नु रहेकोले कानुनी क्षेत्रमा पनि दक्ष जनशक्ति उत्पादन गर्न अलग्गै आंगिक कलेज स्थापना गरेर कानुन पढाउन लागेका हौं ।

कानुनमा कुन तहको कुन कुन बिषयमा पढाई हुन्छ ?

नेपालमै पहिलो पटक मनमोहनले बिबिए एलएलबीको नयाँ नमुना पाठ्यक्रम निर्माण गरेर कानुनमा पाँच वर्षे स्नातक तहको पढाई सुरु गर्न लागेको हो । हालसम्म देशैभर बिए एलएलबी भएपनि बिबिए एलएलबीको कोर्ष कतै पनि छैन । अर्को मनमोहनले ‘क्रिमिनल ल’ मा स्नातोकोत्तर (एलएलएम) को पनि अध्यापन पुस महिनाबाटै सुरु गर्दैछ ।

बिबिए एलएलबीमा कति विद्यार्थी पढाउनु हुन्छ र खर्च कति लाग्छ ?

हामीले पहिलो वर्ष बिबिए एलएलबीमा ४५ जनालालई पढाउने गरी सिट संख्या निर्धारण गरेका छौं । त्यसलाई क्रमश बढाउँदै लैजानेछौं । पाँँच वर्षका लागि जम्मा ४ लाख ५० हजार रुपैयाँ मात्र विद्यार्थीले शुल्क बुझाउनुपर्छ । त्यो पनि प्याकेजमा बुझाउन पाइने सुविधा दिइन्छ ।

उपलब्ध स्रोत र जनशक्तिबाट गुणस्तरिय शिक्षा संभव छ ?

न्यूनतम शुल्कबाट पाँच वर्षे कोर्ष धान्न पक्कै गाह्रो छ । धेरैले प्रश्न पनि गर्ने गरेका छन् । निजी कलेजहरुले दशदेखि बाह्र लाख रुपैयाँसम्म लिने गरेका छन् यस्ता विषयको अध्यापन गराउन । तर मनमोहन कोशी प्रदेश सरकारले दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्न स्थापना गरेको देशकै पहिलो पूर्वाधारयुक्त विश्वविद्यालय भएकोले अपुग भएको बजेट हामी प्र्रदेश सरकारबाट जुटाउने छौं । र, प्रदेश सरकार पनि यसबारे सचेत र गम्भीर छ । हामी विद्यार्थीलाई थपभार दिने पक्षमा छैनांै । किनकि हामी नाफामुखी संस्था नभएर सेवामा आधारित छौं । त्यसैले स्थानीय तहहरुले यसबाट धेरै फाइदा लिनुपर्छ । आवश्यक जनशक्ति उत्पादन गर्न स्थानीय तहले प्राविधिक जनशक्ति उपलब्ध गराउन हामीले अनुरोध पनि गरेका छौं ।

छात्रवृत्तिको कस्तो व्यवस्था गरेको छ विश्वविद्यालयले ?

छात्रवृत्तिको व्यवस्था मिलाएका छौं । हामीले ४५ सिटमा दलित, महिला, मधेशी र जनजातिलाई १० प्रतिशत छात्रवृत्ति दिनेछांै । र, त्यसको पनि पारदर्शी मापदण्ड बनाएका छौं । कसैलाई काखा र पाखा गर्दैनांै ।

पठनपाठन कहिलेबाट सुरु हुन्छ ?

यही मंसिरदेखी नियमित पढाइ सुरु हुनेछ । र यसका लागि सबै पूर्वाधार, जनशक्ति र पाठ्यक्रम हामीले तयार गरिसकेका छौं । पुसदेखि क्रिमिनल ल विषयमा स्नातकोत्तर तहको पनि पढाई सुरु हुनेछ । विराटनगरको शनिहाट चौकमा कानुन कलेज स्थापना गरिएको छ ।

देशकै पहिलो दाबी गरिएको पाठ्यक्रमका विशेषता के हुन् ?

हामीले अध्यापन सुरु गर्न लागेको बिबिए एलएलबीको पाठ्यक्रम देशमै नयाँ हो । व्यवस्थापन विषयसँग जोडेर देशमा कतैपनि कानुन पढाइदैन । हामीले दक्ष र आत्मनिर्भर कानुन व्यावसायी उत्पादन गराउन यो कोर्ष तयार गराएका हौं । यो कोर्ष पढेपछि विद्यार्थीहरुले आफैं जग्गााको सर्बे गर्न, डिजिटल अपराधबारे अनुसन्धान गर्नदेखि खरिद प्रकृयाबारेसमेत जान्ने र बुझ्ने छन् । आफैं आउटरिच (फिल्ड) मा गएर घटनाको अध्यन अनुसन्धान गर्न सक्नेछन् । यसैले हामीले ५० प्रतिशत प्रयोगात्मक कक्षामा जोड दिएका छौं ।

कानुन पढाउन प्राविधिक विश्वविद्यालयले किन हात हाल्नु परेको हो ?

राम्रो प्रश्न हो यो । कानुन पढाउने अरु कलेजहरु भएपनि त्यहाँ व्यवस्थापनसँग जोडिएका कोर्षहरु छैनन् । प्रयोगात्मक पनि कम हुन्छ । र , शुल्क पनि धेरै छ । तर मनमोहनमा थोरै शुल्कमा, छात्रवृत्ति पाएर अनि प्रयोगात्मक कक्षामा सहभागी भएर विद्यार्थीले दक्ष हुन पाउनेछन् । पारदर्शी रुपमा महिला, दलित, जनजातिले आरक्षण पनि पाउनेछन् ।

विश्वविद्यालयको स्रोतले यति धेरै नयाँ विषयको पूर्वाधार धान्न सक्छ ?

मनमोहनको लक्ष्य भनेकै दश वर्षभित्र तीन वटा स्कुल मार्फत विभिन्न २८ वटा प्राविधिक विषयको पठनपाठन गराउने र हरेक वर्ष ३ हजार बढी दक्ष प्राविधिक जनशक्त्ति उत्पादन गर्ने हो । यसले सकेसम्म चाँडै दक्षिण एसियामा चिनिएको प्राविधिक विश्वविद्यालय बन्ने उदेश्य पनि लिएको छ । यसैले धमाधम विदेशी विश्वविद्यालयहरुसँग सम्झौता पनि गरिरहेको छ । जहाँसम्म बजेटको कुरा छ, हामी थोरै बजेटमा चल्न बाध्य छौं । तर सुशासनयुक्त व्यवस्थापन भयो भने थोरै बजेटले पनि धेरै काम गर्न सकिने रहेछ ।

नयाँ कोर्ष पढाउने जनशक्ति आपूर्ति कसरी गर्नुहुन्छ ?

निःसन्देह कानुनमा व्यावस्थापन जोडिएको पाँचवर्षे कोर्ष भएकोले पढाउन पनि गुणस्तरीय दक्ष जनशक्ति आवश्यक पर्छ । नत्र पढाई गुणस्तरीय हुन सक्दैन । पढाई गुणस्तरीय भएन भने दक्ष विद्यार्थीहरु पनि उत्पादन हुँदैनन् । त्यसैले हामीले दक्ष जनशक्ति आपूर्ति गरेर पठनपाठन गराउँछौं ।

 

नेपाल बार काउन्सिलबाट हामीले स्विकृत प्राप्त गरेका हौं । पाठ्यक्रम हामीले देशी विदेशी जनशक्तिबाट निर्माण गराएका हौं ।

कति विद्यार्थी आउने अपेक्षा छ ?

हामीले भर्नाका लागि आवेदन खुला गरिसकेका छौं । यही कार्तिक मसान्तसम्म विद्यार्थीले अनलाईन मार्फत आवेदन दिन सक्नेछन् । र , हालसम्म हाम्रो सिट क्षमता भन्दा दोब्बर तेब्बर बढी विद्यार्थीले आवेदन भरिसकेका छन् ।

पोख्रेल मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति हुन् ।

आइतबार, २५ कार्तिक, २०८१, बिहानको ०८:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर