यु–१९ राष्ट्रिय क्रिकेटको फाइनलमा सुदुरपश्चिम र लुम्बिनी

विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनमा सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रतियोगिता अन्तर्गत विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कर्णालीले वागमतीलाई र बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा मधेशले लुम्बिनीलाई पराजित गरेको भएपनि अंकको आधारमा सुदुरपश्चिम र लुम्बिनी फाइनलमा पुगेका हुन् ।
मंगलबार कर्णालीले वागमती प्रदेशलाई २० रनले पराजित गरेको थियो । टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको २० दशमलव ५ बलमा सबै विकेट गु्माई ७५ रनमा सीमित भएको थियो । कर्णालीका विजय बोहोराले १६ रन बनाउँदा कमल विष्टले १५ रनको योगदान दिए । वागमतीका दिनेश विष्टले ५ विकेट लिए । उनले ३ दशमलव ५ बलमा २ मेडन राख्दै ६ रन मात्र दिए । त्यस्तै दयानन्द मण्डलले ३ विकेट र दिपक सेरलाले २ विकेट लिए ।

जवाफमा ७६ रनको विजयी लक्ष्य पाएको वागमतीले १८ दशमलव ३ बलमा सवै विकेट गुमाउँदै ५५ रनमा सीमित भयो । वागमतीका रोशन विश्वकर्माले १३ रन बनाउँदा उत्तम मगरले १० रनको योगदान दिए । कर्णालीका प्लेयर अफ द म्याचविपिन शर्माले ४ विकेट लिँदा युनिस ठकुरी र अनुज चनराले समान ३–३ विकेट लिए ।

अर्को खेलमा मधेशले लुम्बिनीलाई १ विकेटले पराजित गरेको हो । यो खेलअगाडि प्रतियोगितामा लुम्विनी एक मात्र अपराजित टोली रहेको थियो ।
टस जितेर ब्याटिङ गरेको लुम्विनीले निर्धारित ५० ओभरको खेलमा २० ओभरमा सबै विकेट गुमाई ७० रनको योगफल बनाएको थियो । लुम्बिनीका समिर अलीले सर्वाधिक १२ रनबाहेक अरु ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । मधेशका प्लेयर अफ द म्याच अविशेख तिवारीले सर्वाधिक ५ विकेट लिए । उनले ६ ओभरमा १६ रन दिए ।

जवाफमा ७१ रनको लक्ष्य पाएको मधेशले २७ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो । मधेशका मयन यादवले २२ रन बनाउँदा इमरमन शेखले ११ रनको योगदान दिए । लुम्बिनीका रमेह कुर्मीले ४ विकेट लिँदा सन्तोष यादवले ३ विकेट लिए ।

लिगको सबै खेल सम्पन्न हुँदा सूदुरपश्चिमले ६ खेलमा ५ मा जित र १ खेलमा पराजित हुँदै १० अंकका साथ पहिलो स्थान कायम गरेको छ भने लुम्बिनीले पनि ६ खेलमा ५ मा जित र १ खेलमा पराजित हुँदै १० अंकका साथ नेट रन रेटमा पछि पर्दै दोस्रो स्थानसहित फाइनलमा भेट पक्का गरेको हो । गण्डकी ६ खेलमा ३ खेलमा जित र ३ खेलमा पराजित हुँदै ६ अंकका साथ तेस्रो, मधेश ३ मा जित र ३ खेलमा पराजित हुँदै ६ अंकका साथ नेट रनरेटमा पछि पर्दै चौथो, वागमती २ मा जित र ४ खेलमा पराजित हुँदै ४ अंकाका साथ पाँचौ, कर्णाली २ मा जित र ४ खेलमा पराजित हुँदै ४ अंकका साथ छैठौं र कोशी १ मा जित र ५ खेलमा पराजित हुँदै २ अंकका साथ पुछारमा रहेको छ

मङ्गलबार, २० कार्तिक, २०८१, साँझको ०५:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर