विराटनगर । नेपाल बचत तथा ऋण सहकारी संघका केन्द्रीय महासचिव तथा कोशी प्रदेश बचत तथा ऋण सहकारी संघको निवर्तमान अध्यक्ष घनश्याम अधिकारीलाई सहकारीकै रकम अपचलन गरेको आरोप लागेको छ । अधिकारी नेकपा एमालेका कोशी प्रदेश समिति सदस्य पनि हुन् ।
उनले आफू बचत तथा ऋण सहकारीहरुको छाता संघ झापाको अध्यक्षमा रहँदा ४ लाख ६० हजार दुई सय रुपैयाँ हिनामिना गरेको आरोप लागेको हो । उक्त रकम फिर्ताको लागि ताकेता गर्दा पनि नआएको सहकारीका पदाधिकारीले नै जनाएका छन् ।
उनी जिल्ला बचत तथा ऋण सहकारी संघ स्थापना गरेदेखि नै २ कार्यकाल अध्यक्ष भएका थिए । ‘सहकारीबाट भेला पारेको पैसा अपचलन गरेको पाइएको छ । यो फिर्ता हुनुपर्छ भन्ने हाम्रो माग छ,’ सहकारीका एक पदाधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘माथिल्लो तहको नेता भएको कारण उहाँले रकम फिर्ता गर्नु भएको छैन ।’
सहकारीका लेखा सुपरीवेक्षण समितिका संयोजक कृष्ण तिवारीले अनियमितता गरेको भेटिएको बताए । अधिकारीले अनियमितता गरेको रकम फिर्ता गर्न संचालक समितिले ताकेता गरेपछि ३ लाख १६ हजार ६९३ रुपैयाँको चेक २०८० पुस ४ गते दिएका थिए । तर, सिद्धार्थ बैंक लि. चन्द्रगढी शाखाको उक्त चेक साटिएन । ‘संघको ११ औं साधरणसभामा नभएको सम्पत्ती चार लाख साठी हजार दुई सय रुपैयाँ हालसम्म हिसाव मिलान गरिएको छैन,’ लेखा सुपरिवेक्षण समितिको प्रतिवेदनमा भनिएको छ, ‘नि वर्तमान संचालक समितिका अध्यक्ष श्री घनश्याम अधिकारीले पटकपटक सो मध्येको दुई लाख अन्ठाउन्न हजार नौ सय उनान्सय मात्र सम्पत्ती सञ्चित नोक्सान गरेको भनि मिति २०७४–०७५ बाट तानिदै आएको भनिएको भएता पनि सो नोक्सानी ०७४–७५ र ०७५–०७६ मा देखिन्छ । तर, आर्थिक वर्ष २०७६–७७ मा २ लाख ६६ हजार ३०४ रुपैयाँ संचालन नाफाबाट नै अघिल्लो वर्षहरुबाट तानिँदै आएको २ लाख ५८ हजार ९ सय ९९ संचालन घाटा घटाएर ७ हजार ३०५ रुपैयाँ मात्र नाफा गरी अघिल्लो सालसम्मको संचालन घाटा मिलान भएको देखिएको…।’
यस्तै उक्त सहकारीले लगानी गरेको ३५ लाख कर्जा पनि जोखिममा परेको छ । १ करोड ८८ लाखको ३ हजार ८३५ रुपैयाँ सम्पत्ती र दायित्व भएको सहकारीले प्रक्रिया पुरा नगरी साइनो साकोसलाई मिति २०७७ पुस १३ गते गरेको ३५ लाख लगानी अहिले पनि उठेको छैन । ‘त्यसको साँवा ब्याज केही पनि एउटा किस्ता पनि आएको छैन,’ एक पदाधिकारी भन्छन्, ‘त्यसको ब्याज मात्रै ७ लाख भन्दा बढी भएको छ ।’ लेखा सुपरीवेक्षण समितिले उक्त ऋण तत्कालिन अध्यक्ष घनश्याम अधिकारी रहेको अवस्थामा बरिष्ठ उपाध्यष हालका संचालक समिति अध्यक्ष तुलाराम न्यौपाने ऋण उपसमिति संयोजक र सदस्यद्वय रेवती खनाल, दिपक भण्डारी समेतको उपस्थितिमा ऋण स्वीकृत गरी लगानी गरिएको ऋणमा तमसुक समेत नगरी ऋण लगानी गरेको उल्लेख गरेको छ । स्रोतले दिएको जानकारी अनुसार उक्त साइनो सहकारी अहिले बचतकर्ताको पैसा फिर्ता गर्न नसकेर कार्यालय नै बन्द भएको छ । ‘त्यो पैसा उठ्ने अवस्था नै देखिएन,’ लेखा सुपरीवेक्षण समितिका संयोजक तिवारीले भने ।