विराटनगर । तिहार पर्वको पाँचौं दिन आज गाईगोरु पूजा, गोवद्र्धनपूजा, बलिपूजा, हलीतिहार, म्ह पूजा गरि धुमधामका साथ मनाइदै छ । आजैदेखि नेपाल संवत् ११४५ प्रारम्भ पनि भएको छ । यस्तै आजको दिन नै छ वटा पर्व एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रोमा उल्लेख छ ।
नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि हिंजो भने कुनै तिहारको पर्व परेको थिएन । यस्तो संरचना परेकैले पाँच दिनमा सकिने दोस्रो चाड तिहार यस वर्ष छ दिनसम्म लम्बिएको छ । कार्तिक कृष्ण त्रयोदशीका दिन सुरु हुने तिहार यस वर्ष कात्तिक १३ गते मङ्गलबार सुरु भएको थियो ।
यो पर्व कार्तिक शुक्ल द्वितीयाका दिन कात्तिक १८ गते आइतबार दिदीबहिनीका हातबाट दाजुभाइ विधिपूर्वक परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएपछि सकिन्छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् बताउँछन्। गाईलाई गौमाताका रूपमा सम्मान गरिने भएकाले वर्षका तीन सय ६५ दिन नै गाई पूजा गर्न पनि सकिन्छ । तर तिहारका अवसरमा गरिने गाई पूजा भने शनिबार नै गर्नुपर्ने उनको भनाइ छ । यसैले गाईतिहार पनि शनिबार नै मनाइन्छ । लक्ष्मीपूजा भने बिहीबार नै गरिएको छ ।