विराटनगर । चुस्त शरीर, लामो कपाल, हातमा गितार बोकेर जब शनिबार राति १० बजे विराटनगरस्थित जैन भवनको स्टेज उक्लिए, युवा पुस्ताका लोकप्रिय गायक स्वप्न सुमन । त्यसपछि खचाखर्च दर्शकबीच छुट्टै सांगीतिक माहोल छायो ।
संगीतप्रेमी स्रोता, दर्शकको लामो प्रतिक्षापछि उनी मञ्चमा पदार्पणभएसँगै युवा पुस्ताको हुटिङ उसैगरी आउन थाल्यो । त्यसपछि उनले सुरू गरे, युवाले पुस्ताले अत्याधिक रुचाएको ‘झरीको रातमा रुजेर आउनु, मायाका मिठा गीत गुनगुनाउनु, त्यो मनमा जाने ठाउँ मलाइ देखाउनु…’ बोलको गीतबाट आफ्नो सांगीतिक प्रस्तुती ।
जैन भवन परिसरभित्र खचाखच भरिएको दर्शक सामु उनले आफ्नो चर्चित गीतहरु प्रस्तुत गरि फ्यानहरुलाई शान्त पारे । लोकप्रिय गायक स्वप्न सुमनको सांगीतिक प्रस्तुती रहने भनेपछि विराटनगरसहित झापा, मोरङ र सुनसरीबाट समेत उनका फ्यानहरु जम्मा भएका थिए ।
लाइभ इन्टरटेन्टमेन्टले आयोजना गरेको तेस्रो संस्करणको विराटनगर म्यूजिक फेस्टिबलमा उनले करिब एक घण्टा झुमाए । उनले कसरी भनौं तिमीलाई’, ‘तिम्रो आँखा’, ‘म तिम्रो’, ‘कुनै दिन’, ‘कुरेर बस्छु’, ‘याद म राख्नेछु’ लगायतका चर्चित आधा दर्जन गीत सुनाए । स्वप्नले गाउँदा उपस्थित दर्शकले पनि स्वरमा स्वर मिलाएर गाउँदै नाचे । उनका गीतमा प्रेम सम्बन्धका कुरा बढी समेटिएकोले खासगरी युवा पुस्तामाझ औधी मन पराइएका छन् ।
स्वप्न अगाडि पुर्ण राईले आफ्नो सांगीतिक प्रस्तुती गरी थप मनरोञ्जन दिलाए । गायक राईले ‘मेरोे माया फुल जस्तो… बोलको गीतबाट दर्शकलाई मनोरञ्जन दिलाए । उनले आधा दर्जन बढी गीत प्रस्तुत गरी सहभागिहरुलाई भरपुर मनोरञ्जन दिए । स्थानीय कलाकारहरुले पनि गीत र नृत्य प्रस्तुत गरी थप रमाइलो भयो ।
अन्तर्राष्ट्रिय स्तरको साउण्ड सिस्टम र मन्चमा चर्चित गायकहरुको सांगीतिक प्रस्तुतीले संगीतप्रेमी दर्शकहरुले भरपुर मनोञ्जन लिएको कार्यक्रम संयोजक सन्तोष महत (स्यान्ट्रो) ले बताए । विराटनगर म्यूजिक फेस्टिबललाई निरन्तार दिएर अगाडि बढ्ने उनले बताए ।
‘विराटनगरमा हुने यो फेस्टिबल एक मात्र ठूलो सांगीतिक कार्यक्रम हो । त्यसैले यस पटक हुने फेस्टिबल पनि भव्य र सभ्य भयो । यो फेस्टिबलले निरन्तार पाउनेछ,’ उनले भने ।