झापा ११ लाई बेलबारी गोल्डकपको उपाधि

बेलबारी । आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सातौं संस्करणको उपाधि झापा ११ फुटबल क्लबले जितेको छ ।

मोरङको बेलबारी–११ स्थित लक्ष्मी खेलमैदानमा शनिबार भएको फाइनल खेलमासलहेस फुटबल क्लब सिराहालाई टाइब्रेकरमा ५–३ गोल अन्तरले हराउँदै झापाले उपाधि रक्षा गरेको हो ।
उपाधिसँगै झापा ११ ले ८ लाख रुपैयाँ नगदसहित अढाई किलो चाँदीमा दुई तोला सुन जडित ट्रफि जितेको छ । यस्तै उपविजेता सलहेस फुटबल क्लब सिराहाले ४ लाख रुपैयाँ नगदसहित ट्रफि प्राप्त गरेको छ ।

निर्धारित समयमा बराबरी भएपछि टाइब्रेकरबाट खेलको निर्णय भएको थियो । झापा ११ का दिनेश उराव, अभिषेक गुरुङ, शौरभ लिम्बू, उत्सव राई र देवेन्द्र तामाङ पाँचै जनाले गोल गर्दा सलहेश फुटबल क्लव सिराहाका समिर तामाङको प्रहार झापाका गोलरक्षक सन्दिप लिम्बूले बचाएपछि झापाले उपाधि हात पारेको हो । सहलेसका राम थापा ,आदित्य शाक्य र विप्लव गुरुङले भने गोल गरेका थिए ।

फाइनल खेलको मध्यान्तरअघि गोलरहित अवस्था थियो भने ५० औं मिनेटमा सलहेश फुटवल क्लब सिराहाका अजयी मार्टिनले हेडिङ मार्फत गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका थिए । ७१ औं मिनेटमा झापाका प्रदीप बुढाथोकी जवाफी गोल गर्दै खेल बराबरीमा पु¥याएका थिए । निर्धारित ९० मिनेटमा थप कुनै गोल नभएपछि खेलको अन्तिम निर्णय सिंधै टाइब्रेकरबाट गरिएको हो ।

फाइनल खेलको म्यान अफ द म्याच अभिषेक गुरुङ घोषित भए । उनले नगद ५ हजार रुपैयाँसहित ट्रफि प्राप्त गरे । यस्तै झापाका सन्दीप लिम्बू उत्कृष्ठ गोल रक्षक, उत्सव राई उत्कृष्ठ मिड फिल्डर, सन्तोष गुरुङ उत्कृष्ठ कोच र देवेन्द्र तामाङ सर्वश्रेष्ठ खेलाडी घोषित भए । तामाङले १० हजार रुपैयाँ नगदसहित ट्रफि र अरु खेलाडीले जनही ७ हजार रुपैयाँ नगद र ट्रफि प्राप्त गरे ।

सलहेश फुटवल क्लवका अजयी मार्टिनले सर्वाधिक गोलकर्ताको उपाधि प्राप्त गरे । उनले खेल अवधिमा पाँच गोल गरेका थिए । सलहेशका समीर तामाङले उत्कृष्ठ फरर्वाडको उपाधिसँगै ७ हजार नगद र ट्रफि प्राप्त गरे ।

विजयी टिमका खेलाडीलाई कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राई, कोशी प्रदेशका सांसदहरू ज्ञानेन्द्र सुबेदी र मानबहादुर लिम्बू, बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राई र एन्फाका कोशी प्रदेश अध्यक्ष किशोर राईलगायतले ट्रफि, प्रमाणपत्र तथा नगद प्रदान गरेको आयोजक एलएक्ससिटी फुटवल क्लब बेलबारी–११ ले जनाएको छ ।

सोमबार, १२ कार्तिक, २०८१, बिहानको ११:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर