बेलबारी आरजु राइस गोल्डकप : झापा ११ सेमीफाइनलमा

बेलबारी ।झापा ११ फुटबल क्लव ,भोजपुर फुटबल क्लवलाई ३–० ले हराउँदै बेलबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण सातौं बेलबारी आरजु राइस गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

झापाको जितका लागि निरज कार्कीले १ गोल र प्रदीप बुढाथोकीले २ गोल गरे । खेल सुरु भएको पहिलो मिनेटमै झापाका निरज कार्कीले भोजपुर बिरुद्ध गोल गरे ।निरजले पोष्टमा प्रहार गरेको बल भोजपुरका खेलाडी सन्जय लिम्बूले गोललाइनबाट ब्याक पास गरेका थिए ।तर, उक्त बललाई निरजले नियन्त्रणमा लिई सिँधै गोलपोष्टको जालि चुमाए ।

मध्यान्तर अघि १–० ले अग्रता कायम गरेको झापाले ७५ ओैं मिनेटमा १ गोल थप्यो । झापाका प्रदीप बुढाथोकीले मैदानको मध्यभागबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो । अतिरिक्त समयमा झापाका प्रदीप बुढाथोकीले थप १ गोल गर्दै टिमको सेमिफाइनल यात्रा तय गराएका थिए ।

आइतबारको खेलमा झापाका निरज कार्की म्यान अफ द म्याच घोषित भए । उनलाई शिवसतासी नगरपालिका झापाका नगर प्रमुख रोशन थोप्राले नगद ५ हजार र ट्रफि प्रदान गरे । सोमबार चित्लाङ फुटबल क्लव काठमाडौं र राजारानी फुटबल क्लव धनकुटा बिच खेल हुनेछ ।

प्रतियोगिताका विजेताले ८ लाख नगद र गोल्ड कप र उप विजेताले ५ लाख नगद र ट्रफि सहित प्रमाण पत्र र मेडल पाउनेछन् ।

आइतबार, ०४ कार्तिक, २०८१, साँझको ०६:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर