डाक्टरदेखि ड्राइभरसम्म

विराटनगर । मदन भण्डारी एमबीबीएस डाक्टर हुन् । ४० वर्षीय मदनले चीनबाट एमबीबीएस गरेका हुन् । तर, उनको दिनचर्या भने यतिबेला बिरामी जाँचेर होइन, अरू नै काम गरेर बित्छ । उनी आफ्नै कम्पनीको व्यवस्थापनदेखि ड्राइभरसम्म हुन् ।

मदनसहित उनका मिल्ने साथीहरूले ‘३६५ ट्रिप’ नामको यातायात सफ्टवेयर सञ्चालन गरिरहेका छन् । यो उनीहरूले कोशी प्रदेशलाई लक्षित गरेर चलाइरहेका हुन् । यसमा मदनसँगै विनोद पोख्रेल र सोमनाथ पोख्रेललगायत संलग्न छन् । मदनले एक जनाको नाम भने सार्वजनिक गर्न मानेनन् । ‘एकजना साथी नेपाल प्रहरीमा हुनुहुन्छ,’ उनले भने ‘उहाँको अनुमति नलिई नाम नखुलाउँ होला !’

‘३६५ ट्रिप’ एउटा नयाँ कन्सेप्ट हो । सफ्टवेयरमार्फत यात्रुहरूले गाडी बुकिङ गर्छन् । यसपछि उनीहरूलाई गाडी उपलब्ध गराउने गरिएको छ । उनीहरूले तीनवटा इलेक्ट्रिक गाडी (ईभी) किनेर यो सेवा दिन थालेको डेढ महिनाजति भएको छ । कम्पनी दर्ता गरेर सफ्टवेयर बनाउन थालेको ६ महिनाभन्दा बढी भए पनि सेवा दिन थालेको करिब डेढ महिना भएको मदनले बताए ।

चार जनाले ६९ प्रतिशत सेयर लिएर काम गरिरहेका छन् । अन्य ३१ प्रतिशत सेयर भने आफूहरूसँग काम गर्न इच्छुक विदेशमा रहेका दुई साथीका लागि राखेको मदनले बताए । ‘हामीसँगै काम गर्न इच्छुक दुईजना विदेशमा हुनुहुन्छ,’ उनले भने ‘कम्पनीको सेयर उहाँहरूलाई पनि राखिएका छौँ ।’ तीनवटा गाडी बुक भएर अन्य थप गाडीको पनि माग भए मदन आफैँ पनि निजी गाडी लिएर हुइँकी हाल्छन् । प्रशासनमा कानुनी पक्रिया पु¥याएरै आफूले निजी गाडी यात्रु ओसार्न प्रयोग गरेको उनले बताए । चार वटाले नपुगेर ४०–५० वटा भाडाका गाडी पनि तैनाथ राखिएको छ ।

‘ग्राहकलाई रित्तो हात नफर्काउँ भन्ने हाम्रो योजना रहेको छ,’ मदन भन्छन्, ‘तीन वटाभन्दा बढी गाडीको बूक भए म आफैँ पनि गाडी लिएर जान्छु । यतिले नपुगे अझै ४०–५० वटा भाडाका गाडी पनि हाम्रो साथमा छन् ।’ मदनको टोलीले विशेषगरी अहिले तराई–मधेशका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा सेवा दिइरहेका छन् । अब यो सेवा पहाडमा पनि बिस्तार गर्ने योजनामा आफूहरू रहेको उनले सुनाए । आफूहरूको सेवा पेट्रोलियम पर्दाबाट चल्ने अन्य गाडीभन्दा सस्तो रहेको मनको भनाइ छ । यसैले गर्दा आफ्ना गाडीमा यात्रुको चाप रहेको उनको दाबी छ ।

यात्रुको चापलाई मध्यनजर गर्दै अझै १३ वटा गाडी लिने आफूहरूको लक्ष्य रहेको मदनको भनाइ छ । पहाडमा चलाउनका लागि स्कार्पियो गाडी खरिद गर्ने तयारीमा रहेको उनले बताए । ‘पहाडमा धेरै चार्जिङ स्टेसन नभएका कारण इलेक्ट्रिक गाडी कुदाउन समस्या हुने गरेको छ,’ उनी भन्छन्, ‘अन्य गाडीको भन्दा भाडा सस्तो भएकाले पनि यस्ता गाडीको माग बढेको छ । आवश्यक परेको खण्डमा हामी भाडामा लिएर पब्लिक गाडीसमेत प्रयोग गर्छाैं ।’

मदन र उनको टोलीले अहिले यातायात सेवाबाट सामान्य आम्दानी गरिरहेका छन् । शुरूवाती भएकाले भविष्यमा राम्रो हुने उनीहरूले विश्वास लिएका छन् । ‘व्यवसाय शुरू गरेको भर्खर त डेढ महिना भयो । अहिले नै आम्दानी खुलाउन चाहँदैनौँ । जे होस् खर्च धानिरहेको छ । भविष्यमा राम्रो हुने आशा छ,’ मदनले भने ।

बेलायतमा आईटी तालिम, चीनमा डाक्टर

मदनले आफ्नौ गृहजिल्ला झापाको दमकस्थित एक निजी विद्यालयबाट आधारभूत तहको पढाइ सकाएका थिए । एचए भने मदनभण्डारी स्मृति प्रतिष्ठानबाट गरेका गरे । त्यसपछि एमबीबीएस पढ्न भनेर उनी चीन गएका हुन् । एचए पढेपछि उनी बेलायततर्फ हानिए ।

बेलायतबाट फर्केर आएपछि भने उनी थप अध्ययनका लागि चीन गएका हुन् । बेलायतमा उनी ७–८ वर्ष बसेका थिए । त्यहाँ बस्दा उनले सूचना प्रविधि(आईटी) सम्बन्धी तालिम लिएका थिए । त्यही तालिमले अहिले गरिखान सजिलो बनाएको मदन बताउँछन् । पहिला दमकमै पनि उनले सफ्टवेयर इन्जिनियररिङ पढेका थिए । तर बुवा गायत्रीप्रसाद भण्डारीको डाक्टर बनाउने सपनाका कारण उनले एचए पढ्न थालेका हुन् ।

एमबीबीएसको कोर्स ७ वर्षको हो । तर मदन भने ६ वर्षमात्रै चीनमा बसेका थिए । चीनमा कोरोना भाइरसको महामारी चलेपछि उनीहरूलाई नेपाल सरकारले नै स्वदेश फर्काएको थियो । कोरोनाका कारण चीनबाट नेपाल फर्कने पहिलो व्यक्ति पनि हुन् मदन । यसपछि उनले बाँकी कोर्स झापाको मेची अस्पतालबाट पूरा गरेका हुन् । चीनमा पढेर आएको भनेर स्वास्थ्य मन्त्रालयले दुई वर्ष मेची अस्पतालमा काम लगाएको उनले बताए ।

कोभिड पनि भएकाले आउनेवित्तिकै आफूले मेची अस्पतालमा कोर्स पूरा गर्न नपाएको मदनले सुनाए । अस्पतालले तीन वर्ष ग्याप हुन्छ भनेर भनेपछि आफू अन्य पेसामा आबद्ध भएको उनले बताए ।

यसपछि खाली बस्नु हुँदैन भन्ने सोचेर मदनले यही बीचमा सर्जिकल व्यवसाय थाले । ‘बिजनेस थालेको दुई–अढाई वर्ष भएपछि फेरि मेची अस्पतालले बोलायो,’ उनले भने, ‘पढाइ पनि पूरा गर्नुपर्छ भनेर फेरि मन्त्रालय गएर पत्र ल्याएँ । अनि अध्ययनसँगै काम पनि गर्न थालेको हुँ ।’
मदनको सर्जिकल व्यवसाय अहिले पनि इटहरीमा सञ्चालनमै छ । एड्भान्स सोलुसन प्रालिमार्फत उनी ल्याबका लागि चाहिने औषधि तथा उपकरणहरूको व्यवसाय गर्ने गर्छन् ।

बुधबार, २३ असोज, २०८१, बिहानको ०७:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर