मणि दाहाल
नेपालको वर्गीय मुक्ति आन्दोलनमा वामशक्तिको भूमिका महत्वपूर्ण छ । तर वामनेताहरुमा व्यक्तिवादी अवसरवाद हाबी छ ।
अवसरवादले भने आन्दोलनलाई कहिल्यै निश्कर्षमा पुग्न दिएको छैन । श्रमजीवि जनताका सपनाहरु अधुरा रहँदै आएका छन् । रायमाझीकालमा जन्मिएर आज पनि सताउन नछाडेको मैमत्ता प्रवृत्तिले आन्दोलनलाई कहिल्यै एकीकृत हुन दिएको छैन । कम्यूनिष्टको खोल ओडेको सो प्रवृत्तिले आचरण, विधि, पद्दतिलगायतका स्थापित मान्यतालाई तहसनहस बनाएको छ । जनवादको नकावमा डनवाद र धनवादका अपराधिक खेलहरु सामान्य भएको छ ।
आज पनि करिब दुइतिहाई जनमत वामपन्थीहरुको पक्षमा छ । रायमाझीका नव अवतारहरुले सो जनमतलाई सम्मान गर्न सकिरहेका छैनन् । आफूलाई ठुला र मूलधारका दाबी गर्ने वाम पार्टीहरु सिद्धान्तबाट बिचलित भई यथास्थितिमा रमाइरहेका छन् । कार्यभारप्रतिको उदासिनता र व्यक्तिवादले आन्दोलन निजी कम्पनीको जस्तो हुने गरेको छ । ती कम्पनीहरु आन्दोलनको विपक्षमा गलत काम गर्नका लागि बनेका सञ्जाल झैं देखिन्छन् ।
ठुला कम्युनिष्टहरुले बुर्जुवा संसदको निर्वाचन जित्दै आएका छन् । सोही संरचनामा पटकौं सरकारको नेतृत्व गरेका छन् । मूर्त अमूर्तरुपमा सरकारमा सहभागी बन्दैआएका छन् । तर, सीमित संभ्रान्त वर्ग सिवाय श्रमजीवि जनताको पक्षमा जे हुनुपर्ने थियो त्यो हुन सकेन । कार्यकर्ताको फेटामा उदाएका दास, अवसरवादी र परिवारका सदस्यहरुलाई तहगत भ्रष्टचारको संजाल खडा गर्ने छुट मिल्यो । उनीहरुले समाजलाई आर्थिक, सामाजिक तथा सांस्कृतिकरुपमा बिचलित बनाए । जसले समाज विकासको गतिलाई नै उल्टो प्रवाह गर्ने कोसिस गरिरहेको छ ।
मुलधारका वामहरुले संसदीय निर्वाचन मात्र जिते, राजनीति जित्न सकेनन् । निर्वाचनको विजय र राजनीतिक विजय अलग पाटा हुन् । बुर्जुवा संसदीय व्यवस्थामा संसदमा अपराधीले पनि भारी मतले विजय हासिल गर्छन् । मान्छेलाई ज्यूँदै भट्टिमा जलाउनेहरु माननीय र मन्त्री बन्न सक्छन् । माफिया, तस्कर तथा गुण्डाका सरदारहरुको साधु भेषमा दलमाथि हाबी हुन्छन् । उनीहरुले लुटको धन खर्चेर जनतालाई पकटौं झुक्याउन सक्छन् । झुक्याउँदै आएका पनि छन् । तर त्यस्ता संदिग्ध चरित्र तथा अपराधको आहालमा डुबेकाहरु वर्गीय मुक्ति आन्दोलनलाई निश्कर्षमा पु¥याउन कदापी सक्दैनन् ।
राजनीतिक दलहरुले रणनीतिक लक्ष्य प्राप्तीको सन्दर्भमा खेल्ने भूमिकाले सफलता निर्धारण गर्छ । तर, अहिले ठुला पार्टीहरुले त्यो लक्ष्य लिएका छैनन् । एकखाले वाम जबज भन्छन् तर जबज फाउण्डेसनमा साँघुरिएको छ । कम्युष्टि चरित्र भएका कार्यकर्ता भेटाउन मुस्किल छ । सहि पनि बा मै पनि बा, आइलभयु बा दर्शन बनेको छ । यो चरित्र वामपन्थको नकाब मात्र हो ।
जबजवाला वामधारमा एकखाले इमान्दार कार्यकर्ताको हिस्सा अझै छ । शुभेच्छुक जनताको ठुलो पंक्ति छ । यी दुवै प्रकृतिका जनता र कार्यकर्ताहरुलाई अझै पनि जबजरुपि घरले समाजवादी क्रान्ति गर्छ भन्ने पूर्ण विश्वास छ । जनताको सोही सदाशयता र गुमनाम कार्यकर्ताको इमान्दारिताले मात्र त्यो दल टिकेको छ ।
दोस्रो मुलघरे वामको अवस्था झनै गएगुज्रेको छ । त्यहाँभित्र एकाइसौं शताब्दिको जनवादको नकाव र प्रचण्डपथको गायत्री मन्त्र मात्र छ । आर्थिक, सामाजिक तथा सांस्कृतिक विचलनको भासमा भासिएका छन् । कसैमा पनि वामपन्थको थोरै गन्धसमेत पाउन सकिदैन । उसले युद्धको ब्याज र शहिदको रगत भजाएर केही स्थानका निर्वाचन जितेपनि राजनीतिक विजय हासिल गर्ने सम्भावना देखिदैन ।
दुवै वामदलभित्र नोकरशाही वर्गको पहुँच छ । पथभ्रष्ट चरित्रबाट मुक्त हुने अवस्था पनि देखिदैन । आन्तरिक जनवाद दुबैमा छैन । “बा”पथ अथवा पचण्डपथ सिद्धान्तले दासदासी खोज्न ती दल काफि छन् ।
गैर वाम विचारका राजनीतिकदलहरु वर्गीय पक्षधरतामा इमान्दार छन् । उनीहरु जसको हितमा प्रतिबद्ध रहनु पर्ने हो प्रतिवद्ध नै छन् । उनीहरुले देखावटी सिद्धान्त जे बनाए पनि जनतालाई करदाता र मतदाताभन्दा माथि जान दिँदैनन् । यथास्थिति उनीहरुको चरित्र हो भने सीमित वर्गको सेवा गर्नु उनीहरुको कर्तव्य ।
धेरै पटक सरकारमा जाँदा दलाल पुँजीपति वर्गको सेवा गरेकै कारण हरेक चुनावमा उनीहरु अग्रभागमै रहन सफल भइरहेका छन् । यस्तो चरित्र बोक्नेहरु कसरी वामपन्थी ? शिक्षित र बौद्धिक दावी गर्नेले वामपन्थी देखेपनि सचेत नागरिकले मान्दैनन् ।
संकीर्णतावाद, पश्चगामी सोच, भस्मासुर प्रवृत्ति आजको वाम आन्दोलनको मूल समस्या हो । इतिहासको ब्याजमा आफूलाई नवमहाराज बनाउने प्रवृत्ति अर्को समस्या हो । यो प्रवृत्तिले वामपन्थी आन्दोलन तहसनहस हुँदैछ । तर पनि धेरै जनता वामशक्तिमाथि नै विश्वास गरिरहेका छन् र आशावादी छन् । जनताको यो आशालाई राजनीतिक विजयमा परिणत गर्न जरुरी छ । त्यसका लागि पनि सबै वाम एक ठाम हुनुको विकल्प छैन । एक ठाउँमा आउन भस्मासुर र दलाल प्रवृत्ति सेलाएर मात्र सम्भव छ । यसो गर्न सकिदैन भने वाम नामक साइनबोर्ड अब फालिदिए पनि हुन्छ ।