विराटनगर आउँदै गरेको माइक्रो सिन्धुलीमा दुर्घटना हुँदा १५ घाइते

विराटनगर । काठमाडौंबाट यात्रु बोकेर विराटनगर आउँदै गरेको हायस सिन्धुलीमा र्घटना हुँदा १५ जना घाइते भएका छन् ।

शुक्रबार बिहान कमलामाई नगरपालिका–८, सिस्नेरीमा दुर्घटनाग्रस्त हायस माइक्रोबसमा सवार चालक र यात्रुको उद्धार गर्न जेसीबीको प्रयोग गरिएको थियो ।

बिहान करिब ४ः२० बजे कमलामाई नगरपालिका–८, सिस्नेरीमा बा ५ ख ६६१८ नम्बरको हायस दुर्घटना भएको प्रहरीले जनाएको छ । हायस सडकछेउको नालामा खसेर भित्तामा ठोक्किई दुर्घटना भएको थियो । हायसमा चालकसहित १९ जना सवार रहेकोमा १५ जना घाइते भएका छन् । हायसमा सवार दुई जनाबाहेक अरू सबैको तत्कालै उद्धार गरेर उपचारका निम्ति सिन्धुली जिल्ला अस्पतालमा पठाइएको थियो ।

हायसका चालक र अगाडि सिटमा बसेका एक यात्रुको उद्धार गर्न जेसीवी प्रयोग गर्नुपरेको थियो । सिन्धुलीमा सामान्य उपचारपछि सबैलाई थप उपचारको लागि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ । हायसमा सवार ४ जनाको अवस्था सामान्य रहेकोले उनीहरू अर्को गाडीमार्फत आफ्नो गन्तव्यतर्फ लागेका थिए ।

दुर्घटनामा हायस चालक मोरङको सुन्दरहरैचा ९ का ३५ वर्षीय अनुज सुन्दास, सुन्दरहरैचा ९ कै ३० वर्षीय प्रकाश उप्रेती, सुनसरीको ईटहरी १९ का २० वर्षीय सिसम घिमिरे, झापाको बिर्तामोड ५ का ३२ वर्षीय समिर तामाङ, सुनसरीको ईटहरी–६ बस्ने २४ वर्षीय विजया तिमल्सिना र मोरङको लेटाङ ६ का ४७ वर्षीय गोपाल नेपाली घाइते भएका छन् । यस्तै, लेटाङकै ३२ वर्षीय दिपेश राई, मिक्लाजुङ ९ का ३२ वर्षीय बमबहादुर खड्का, पाँचथरको याङ्वरक ४ का ३६ वर्षीय बिक्रम सुन्दास, याङ्वरक ४ कै २२ वर्षीय सुजन सुन्दास पनि घाइते भएका छन् ।

प्रहरीका अनुसार धनकुटाको मदलक्ष्मी १ का ३३ वर्षीय गोरख बुढाथोकी, सुन्दरहरैचा १ का ६५ वर्षीय उपेन्द्र खतिवडा, मिक्लाजुङ ९ का ३४ वर्षीय नेत्रबहादुर खड्का, बिराटनगर ८ का २३ वर्षीय अतुल कटुवाल र तेह्रथुमको छथर ६ का २८ वर्षीय निरबहादुर लिम्बु पनि घाइते छन् ।

शुक्रबार, १८ असोज, २०८१, दिउँसोको ०३:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर