विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा विष खुवाएर नाबालिका २ छोरीको हत्या आरोपमा पक्राउ परेकी २१ वर्षीय अस्मिता पौडेल ९कार्की० पुर्पक्षको लागि कारागार चलान भएकी छन् ।
जिल्ला अदालत मोरङका न्यायाधीश पारसमणि पोखरेलको इजलासले मंगलबार अस्मितालाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको हो । अदालतको आदेशपछि उनी जिल्ला कारागार मोरङ चलान भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
विष खुवाएर नाबालिका २ छोरीको हत्या गरेपछि फरार भएकी अस्मितालाई प्रहरीले भदौ १९ गते बिहान झापाको बिर्तामोड नगरपालिका–५ पूर्व–पश्चिम लोक मार्गनजिक एभरेस्ट बैङ्क अगाडिबाट पक्राउ गरेको थियो ।
शारीरिक अवस्था एकदमै नाजुक रहेको र सडकमा भौँतारिएर हिँडिरहेको विक्षिप्त अवस्थामा अस्मिता भेटिएको प्रहरीले जनाएको छ । पक्राउ परेकी अस्मितालाई इलाका प्रहरी कार्यालय बेलबारीले कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान सुरु गरेको थियो ।
निर्माणाधीन घरमा पानी नलगाएको विषयलाई लिएर पति ३१ वर्षीय अर्जुन कार्कीसँग विवाद भएपछि छोरीहरु १ वर्षीय आशङ्का र ३ वर्षीय अर्पणा कार्कीलाई लिएर अस्मिता भदौ १४ गते साँझ हिँडेकी थिइन् । दुवै नाबालिकाहरु भोलिपल्ट अर्थात् भदौ १५ गते दिउँसो सुन्दरहरैँचा–७ का नारायण न्यौपानेको केरा बगानमा मृत फेला परेका थिए ।
नानीहरूको शव फेला परेको स्थानमा कीटनाशक औषधिको बट्टा फेला परेको थियो । अस्मिताले विष खुवाएर नाबालिका छोरीहरूको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पतिले दिएको ‘टर्चर’ सहन नसकेपछि नानीहरूलाई लिएर हिँडेको केहीबेगरमा आफूले विष खाएको र उनीहरूलाई पनि खुवाएको अस्मिताले बताएकी थिइन् ।