विराटनगर । आँगन स्वीट्सका मिठाइ उत्पादन गर्ने कम्पनी आकाश फुड्सलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ लाख रुपैयाँ जरिवाना गराएको छ ।
अनुगमनको क्रममा बाढीले भिजेको, प्याकेजिङ खुइलिसकेका, पुरानो तेल तथा खाद्यवस्तु प्रयोग गरी मिठाई उत्पादन भइरहेको भेटिएपछि विभागले २ लाख रुपैयाँ जरीवाना तिराएको हो ।
ललितपुरको आकाश फुड्स आँगन ब्राण्डका मिठाइ उत्पादन गर्ने कम्पनी भएको विभागका महानिर्देशक राजन दाहालले जानकारी दिए । मंगलबार अनुगमन गर्दा उत्पादन हुने स्थलमा उपभोक्ता हित प्रतिकुल अवस्था देखिएपछि जरीवाना गरेको उनको भनाइ छ ।
मिठाइ उत्पादनमा प्रयोग हुने तेलको उत्पादन मिति खुइलिसकेको, तेलको शुद्धीकरणमा ध्यान नदिएको, एक पटक प्रयोग गरेको तेललाई पुनः पटक–पटक प्रयोग गरेको जस्ता कैफियत देखिएको विभागले जनाएको छ । विभागले आइन्दा गलत नगर्न चेतावनीसमेत दिएको छ ।
विभागले मंगलबार नै जावलाखेलस्थित हानकुक साराङ रेष्टुरेन्टमा समेत अनुगमन गरेको थियो । सो क्रममा ब्राण्ड उल्लेख नभएको मैदा प्रयोग भएको, उत्पादन मिति उल्लेख हुने लेबल नभएको सामान प्रयोग भएको भेटिएपछि ३ लाख रुपैयाँ जरिवाना तिराइएको छ ।
विभागले पछिल्ला दिनमा ठूला र नाम कहलिएका ब्राण्डहरुमा अनुगमन बढाएको छ । जसमा धेरै कैफियत देखिएको विभागको अनुगमनबाट पाइएको छ ।