विराटनगर । ठूलो विपत्तिको सामना गरेर केही दिन खुलेको मौसममा बदली आएका छ । आज बुधबार र बिहीबार कोशी प्रदेशमा सामान्यदेखि मध्यम वर्षा हुने र झरी दुई दिनसम्म पर्न सक्ने जल तथा मौसमविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी बाहेक बागमती र गण्डकी प्रदेशसम्म वर्षा हुने अनुमान गरिएको छ ।
मौसमविद् प्रतिभा मानन्धरले भने, “बादल लाग्ने र हल्कादेखि मध्यम वर्षा हुनेछ । विशेष गरी कोशी प्रदेशमा हल्का र मध्यम वर्षा हुने छ भने मधेश, बागमती र गण्डकी प्रदेशसम्मै फैलिनेछ, सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा कम नै छ ।” यो असर बिहीबारसम्मै रहने जनाइएको छ । तर ठूलो अनि लगातारको वर्षा भने नहुने उनले बताए ।
तर यसअघिको वर्षाले देशका सबै भूभाग गलेको हुँदा थोरै पानी पर्दा पनि बाढीपहिरोको सम्भावना रहेको जनाइएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । भारतको मध्यप्रदेश र आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको उनले बताए ।