वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालमा आइसोलेसन बेड खाली नहुँदा मङ्गलबार राति संक्रमण पुष्टि भएका १८ जना संक्रमित घरमै छन् ।
वीरगन्ज महानगरपालिका ३ छपकैयामा भेटिएका संक्रमितलाई अस्पतालमा ठाउँ नभएपछि घरमै छाडिएको छ ।
संक्रमितहरुलाई अस्पताल नलगी घरमै राख्दा त्यसले अन्य व्याक्तिहरुमा संक्रमण फैलने जोखिम देखिएको भन्दै स्थानीय चिन्तित छन् । संक्रमितहरुको उपचार हुँदै आएको नारायणी अस्पतालको आइशोलेशन वार्डमा थप संक्रमित राख्ने बेड नभएपछि उनीहरुलाई भर्ना गर्न नसकिएको अस्पतालका मेसु डा.मदन उपाध्यायले बताउनुभयो ।
अस्पतालको आइसोलेसन ७० बेडको रहेकोमा ६९ जना संक्रमित यसअघि नै भर्ना भएका छन् । सुरुमा ५ शैयाको आइसोलेसन बनाएको अस्पतालले त्यसलाई विस्तार गरेर ७० शैय्याको बनाएको छ । अस्पतालको आइसियु , प्रसुती , मेडिकल, सर्जिकल , अर्थो वार्डमा संक्रमित राखिएको छ ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले अस्पतालले राख्न नसक्ने बताएपछि छपकैयाका १८ संक्रमित आफ्नै घरमा रहेको बताउनुभयो । उनीहरुलाई विरगञ्जमै व्यवस्थापन गर्ने कि जनकपुर पठाउने भन्ने बारेमा छलफल भइरहेको उहाँको भनाइ छ ।
विद्यालयमा राख्ने तयारी
संक्रमित राख्ने स्थान अस्पतालमा नभएपछि वीरगञ्जको सिद्धार्थ माध्यमिक विद्यालयमा दुई सय बेडको सेमी अइसोलेसन वार्ड निर्माण गरिने भएको छ । विपद् व्यवस्थापन समितिको बैठकले सिद्धार्थ माध्यमिक विद्यालयमा सेमी आइसोलेसन वार्ड निर्माण गर्ने निर्णय गरेको वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले जानकारी दिनुभयो ।
सेमी आइसोलेसन कक्षको व्यवस्थापन भएपछि घरमा रहेका संक्रमितहरुलाई ल्याएर उपचार गराइनेछ । नारायणी अस्पतालले सिद्धार्थ माध्यमिक विद्यालयको आईशोलेसनमा रहेका संक्रमितहरु पनि हेर्नेछ ।