पुनःनिर्माणलाई तीब्रता देऊ

 सम्पादकीय

बाढी पहिरोले मुलुकका धेरै स्थानमा तवाह मच्चाएको छ । सयौं वर्ष लामो सपना र दशकौं लामो प्रयासबाट बनेका पुलहरू बगेका छन् । सडक भत्किएका छन्, पुरिएका छन् । अरु भौतिक संरचनामा क्षति छ । कोशी प्रदेशमा मात्र उदयपुर र खोटाङ जोड्ने फोक्सिङ्टार पुल बगेको छ । पाँचथरबाट ताप्लेजुङ जाने मेची राजमार्गको हेवा खोलाको पुलसहित दर्जनौं पुल बाढीले बगाएको छ । बाढीबाट देशभर २०० जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भइसकेको छ । कोशी प्रदेशमा पनि डेढ दर्जन बढिको मृत्यु भएको छ भने केहि अझै बेपत्ता छन् ।

चाडपर्वको मुखमा आएको यो विपत्तीले सिंगो मुलुकलाई प्रताणित गरेको छ । यस्तो बेलामा स्वाभाविक रूपमा सरकारको भूमिकाको खोजी हुन्छ । काठमाडौं एकप्रकारको नाकाबन्दीमा छ । मुलुक यो विषम अवस्थामा रहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकामा थिए । मुलुकमा संकट आएको जानकारी भएपनि उनी भ्रमण छोट्याएर मुलुक आउन चासो दिएनन् । घुमफिर सकेपछि सोमबार मात्र उनी आएका छन् ।
विपद् कसैले टार्न सक्दैन । तर, राज्यले तदारुकता देखाउँदा त्यसलाई न्युनिकरण गर्न सकिन्छ । राज्यको निरिहताकै कारण नागरिकले वियोगको अवस्था सामाना गर्नुपरो । अयोग्य शासकहरूको कमजोरी विपद् प्रतिकार्यको मूल्य नागरिकले चुकाउनुपरो । दसैं नजिकिएको समयमा भएको भारी वर्षा र त्यसबाट सिर्जित बाढी तथा पहिरोका कारण देशभरका सडक सञ्जालमा क्षति पुगेको छ । काठमाडौंलाई विभिन्न कोणबाट जोड्ने राजमार्गहरूमा पनि क्षति पुगेका कारण यात्रुलाई समस्या भएको छ । दसैंमा काठमाडौंबाट बाहिरिने यात्रुहरूको चाप बढी हुने गर्छ । त्यसको क्रम सुरु भइसकेको थियो । सडक अवस्था सहज हुँदासमेत दसैं आसपासको यात्रा कष्टकर हुने विगतको अनुभव छ । यस पटक भने सडक र पुलहरू भत्किएका कारण दसैंको यात्रा कष्टकर मात्रै होइन, जोखिमपूर्ण पनि हुने आँकलन गर्न सकिन्छ । त्यसैले सम्बन्धित सबैले यस पाटोतर्फ गम्भीर हुन आवश्यक छ ।

पर्वतीय देश भएकाले हामीकहाँ सडक निर्माणमै चुनौती छ र ढिलाइ हुने गरेको छ । लागत पनि बढी हुने गरेको छ । बल्लबल्ल निर्माण पूरा हुने सडकमा पनि सुरक्षाका मापदण्ड भरपर्दो हुने गरेका छैनन् । गुणस्तरमा प्रश्न उठ्ने गरेको छ । यस्ता सडकहरूमा प्राकृतिक विपत्तिले सहजै क्षति पु¥याउने गरेका छन् । निर्माणमा जति ढिलाइ हुन्छ, पुनर्निर्माणमा पनि त्यही प्रवृत्ति दोहोरिन्छ । आइतबारदेखि नै झरी रोकिएकाले अब सडकमार्गलाई अविच्छिन्न बनाउनका लागि सरकारले आफ्नो प्रयत्नलाई तीव्र बनाउन आवश्यक छ । दशैं जस्तो समय सन्दर्भ भएकाले पनि सरकारको उच्च प्राथमिकता अपेक्षित छ । सरकारले सडक मर्मत तथा पुनर्निर्माणलाई आफ्नो नियमित दायित्वका रूपमा लिनुपर्छ । अर्कोतिर उद्धार कार्य सकेपछि आवासविहिन भएका नागरिकको आवास व्यवस्थापन तत्काल गर्नुपर्छ । अब पानी पर्न छाडेपछि पनि सडकमार्गमा सुक्खा पहिरोको जोखिम बढ्छ । त्यसले पनि सडक अवरोध तथा दुर्घटना निम्त्याउन सक्छ । यसप्रति आम नागरिक पनि सचेत हुनुपर्छ ।

मङ्गलबार, १५ असोज, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर