विराटनगर । बाढी पहिरो तथा डुबानजन्य विपदलाई मध्यनजर गर्दै उद्धार, राहत र पुनस्थापनामा जुट्न कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले कार्यकर्ताहरुलाई आव्हान गरेका छन् ।
नेकपा एमाले कोशी प्रदेश कमिटी इन्चार्ज समेत रहेका राईले कोशी प्रदेशका सबै जिल्ला कमिटी तथा नेता कार्यकर्तालाई यस्तो आव्हान गरेका हुन् । एक विज्ञप्ती जारी गर्दै नेता राईले जोखिमलाई मध्यनजर गर्दै उच्च सर्तकता अपनाउन समेत आग्रह गरे । प्रदेशका विभिन्न स्थानमा भएको जनधनको क्षतिले आफूलाई दुःखी तुल्याएको उल्लेख गर्दै उनले घाइतेहरुको उपचार र बेपत्ताहरुको तीव्र खोजी गर्न संघीय सरकार र प्रदेश सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
‘घाइतेको उद्धार, उपचार तथा मृतकका परिवारहरुलाई राहत तथा पुनस्थापनाका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारलाई समेत गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु,’ विज्ञप्तिमा उल्लेख छ । नेता राईले सडक तथा पुलहरु बाढीले बगाएको भन्दै उनले तत्काल पुन निर्माण गर्न समेत ध्यानाकर्षण गराएका छन् ।