विराटनगर । विगत तीनदिनदेखि परेको अविरल बर्षाको कारण आएको बाढी, पहिरो र डुबानबाट कोशी प्रदेशमा १७ जनाको मृत्यु भएको छ । १३ जना घाइते र ८ जना अझै वेपत्ता छन् । कोशी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा पाँचथरमा ५, सोलुखुम्बुमा ५, धनकुटामा २, उदयपुरमा १, झापामा १ र इलाममा १ जनाको मृत्यु भएको छ ।
यस्तै धनकुटस्थित तमोर नदिमा पहिचान नखुलेका २ जनाको शव भेटिएको छ । यस्तै बाढी पहिरोमा परेर पाँचथरमा ६, झापामा २ र मोरङमा १ जना बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको छ ।
यस्तै प्रहरीले दिएको जानकारी अनुसार अहिलेसम्म ६४ वटा पशुचौपाया मरेका छन् । १ हजार २०६ वटा घरपालुवा पंक्षी मरेका छन् । यस्तै पूर्ण रुपमा १९ वटा पक्की घर भत्किएको छ भने ५८ वटा पक्की घरमा आंशिक क्षति पुगेको छ । यस्तै अन्य ३९ वटा घर पूर्णरुपमा क्षतिग्रस्त हुँदा ३३ वटामा आंशिक क्षति पुगेको छ ।
१३ वटा गोठ क्षतिग्रस्त हुँदा ६ वटा सरकारी कार्यालय, ४ वटा सवारी साधन र १३ वटा पुल तथा कल्भर्ट बाढीले बगाएको छ । बाढी पहिरोमा परी ५४२ घरधुरी प्रभावित बनेका छन् । जसमा सभैभन्दा धेरै झापामा ३०४, मोरङमा १२० घरधुरी प्रभावित बन्दा सुनसरीमा ४९ र धनकुटामा १६, उदयपुरमा ३६ र खोटाङमा २७ घरपरिवार प्रभावित भएका छन् ।
प्रहरीले दिएको तथ्याङ्क अनुसार ४०९ घर स्थानान्तरण गरिएको छ भने १ हजार ६५० घर परिवारसंख्या स्थानान्तरण गरिएको छ । ९९ घर अहिले परिन उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । बाढी, पहिरो र डुबानबाट भएको क्षतिको खोज, उद्धार र राहतका लागि प्रदेशभरमा १ हजार ९२ जना प्रहरी परिचालित भएका छन् । हालसम्म झापामा २, इलाममा ६, पाँचथरमा १०, ताप्लेजुङमा १, मोरङमा १, सुनसरीमा ४, धनकुटामा ७, तेह्रथुममा ५, संखुवासभामा १, उदयपुरमा ५, खोटाङमा १०, ओखलढुंगामा २ र सोलुखुम्बुमा ५ स्थानमा सडक अवरुद्ध भएको छ ।