विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च पुगेको छ । शनिबार साझबाट वर्षा रोकिएको भएपनी पानीको बहाब लगातार बढिरहेको छ ।
आज बिहान ६ बजे गरेको मापनअनुसार कोशी ब्यारेज भएर सप्तकोशीको बहाव प्रतिसेकेन्ड ६ लाख ६१ हजार क्युसेक पानी बगिरहेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । यो बहाब ५६ वर्षयताकै उच्च हो ।
निरन्तर पानीको बहाव बढ्दा सप्तकोशी नदीमा पानीको बहावले अति खतराको सूचक पनि पार गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार अहिले ६ लाख ६१ हजार २९५ क्युसेक पानी बगिरहेको छ । लेदोयुक्त पानी कोशी पुलमाथिबाट पनि बगिरहेको छ ।
यसअघि कोशी ब्यारेज भएर अहिलेसम्मकै बढी सन् १९६८ अक्टोबर ५ तारिखमा पानीको बहाव प्रतिसेकेन्ड ७ लाख ८८ हजार दुई सय क्युसेक मापन गरिएको थियो । शनिबार बेलुका १०ः२५ बजे सप्तकोशीको पानीको बहाव प्रतिसेकेण्ड ६ लाख २० हजार क्युसेक मापन गरिएको थियो । बहाब लगातार बढिरहेको छ ।
सप्तकोशी चतरा जल मापन केन्द्रमा शनिबार राति ११ बजे जलसतह खतरा तहभन्दा ११.२६ मिटरमाथि पुगिसकेको छ । अझ बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको जनाएको छ । पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेजको सबै ५६ ढोका खोलिएका छन् ।
सप्तकोशी नदी जलसतह खतरा तहभन्दा माथि पुगेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तरीका बाढीबाट कटान हुनसक्ने क्षेत्र तथा डुबान हुने होचा भूभागमा नबस्न र उच्च सतर्कताका साथ सुरक्षित स्थानमा जान सप्तकोशी चतरा जलमापन केन्द्रले सूचना जारी गरेको छ । लगातार पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेज भएर मानिस र सवारीसाधनलाई शनिबार अपरान्ह ४ बजेबाट अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि आवागमन बन्द गरिएको छ ।
शनिबार बिहान ६ बजे कोशी ब्यारेज कन्ट्रोल रुमले प्रतिसेकेन्ड ३ लाख ३६ हजार १० क्युसेक पानीको बहाव मापन गरेको थियो । २४ घण्टामा पानीको बहाब दोब्बरले बढेको छ ।