काठमाडौं । तीन दिनदेखिको अविरल वर्षाको कारण देशभर विपदजन्य घटना भएपछि सरकारले सञ्चालनमा रहेका सबै परीक्षा रोक्ने निर्णय गरेको छ ।
शनिबार कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकले परीक्षा रोक्नेसहित ६ वटा निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सुचना प्रबिधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
बैठकले वर्षापछिको बाढी पहिरोका कारण अवरूद्ध सडक तत्काल खुलाउने निर्णय गरेको छ । त्यसको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई समन्वय गर्न निर्देशन दिएको छ।
बाढी पहिरोको नोक्सानको मूल्यांकन गर्ने र मृतकहरूलाई दिनुपर्ने क्षतिपूर्ति कानुनमुताबिक चाँडै प्रबन्ध गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले प्रकोपमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको गुरुङले बताएका छन् । सरकाले सम्पूर्ण घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ ।
समस्यामा रहेका नागरिकहरूलाई प्रधानमन्त्री कार्यालयको हट लाइन, नेपाल प्रहरी, नेपाली सेना, एपिएफ र गृहमन्त्रालयको हट लाइनमा सम्पर्क गरी राहत तथा उद्धारका लागि अनुरोध गर्न पनि सरकारले अनुरोध गरेको छ । विपदमा उद्धारका लागि तीन वटै सुरक्षा निकाय तयारी अवस्थामा रहेको र अन्य मन्त्रालयलाई पनि आवश्यक समन्वय गर्न बैठकले निर्दशन दिएको छ ।