विराटनगर । मेची राजमार्गस्थित पाँचथरको फिदिम– ४ र हिलिहाङ–७ जोड्ने हेवाखोलाको बेलीब्रिज बाढीले बगाएपछि राजमार्ग अवरद्ध भएको हो ।
गत वर्ष असारमा आएको बाढीले हेवाखोलाको पक्की पुल बगाएपछि सोही स्थानमा अस्थायी ब्रिज बनाइएकोमा शनिबारको बाढीले बगाएको हो ।
बेलीब्रिज बगाएपछि पाँचथरको हिलिहाङ, याङवरक र ताप्लेजुङतर्फको यातायात पूर्णरूपमा बन्द भएको छ ।
फिदिम ४ का वडाध्यक्ष उपेन्द्र लावतीका अनुसार बाढीले हिलिहाङतर्फको पिल्लर बगाएको हो । बाढीले फिदिम फालोट सडकखण्ड अन्तर्गत फिदिम १ र फिदिम ११ जोड्ने फेमेखोलाको पक्की पुल पनि बगाएको छ ।
मेची राजमार्गको हेवा खोलामा बेली ब्रिज बगाएको केही समयमा नै फेमेखोलाको पक्की पुल बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पुल बगेसँगै सदरमुकाम फिदिमबाट फिदिम ११, फिदिम १२, फिदिम १३ र फालेलुङ गाउँपालिकासँगको सम्पर्क टुटेको छ ।