विराटनगर । कोशी ब्यारेजमा पानीको बहाव ५ लाख क्युसेक प्रतिसेकेन्ड नाघेपछि पैदलयात्रीलाई पनि रोक लगाइएको छ ।
शनिबार दिउँसो ३ बजे ५ लाख ३१ हजार क्युसेक बाढी मापन भएपछि सवारी साधन र सर्वसाधारणलाई पनि हिँड्न रोक लगाइएको हो ।
सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी बेदराज फुयालले जारी गरेको सूचनामा अर्को सूचना जारी नभएसम्मका लागि कोशी ब्यारेजको पुलबाट मानिससमेत आवतजावत गर्न नपाउने उल्लेख छ। प्रशासनले वैकिल्पक बाटो प्रयोग गर्न भनेको छ। कोशीको चतरा खण्डमा अर्को पुल छ। उदयपुर हुँदै सवारीसाधनहरू चतराबाट दक्षिण झरेर पूर्व पश्चिम राजमार्गको इटहरी निस्कन सक्छन्।
सप्तकोशीमा जलसतह ३७ वर्षयताकै उच्च तहमा पुगेको छ। शनिबार सप्तकोशीमा पानीको बहाव ३७ वर्षयताकै उच्च तहमा पुगेको कोशी ब्यारेज प्रशासनले जानकारी दिएको छ। यसअघि सन् १९८७ मा ५ लाख २३ हजार ७७१ जलसहत क्युसेक रेकर्ड भएको थियो।
ब्यारेजमा पानीको बहाव बढ्दाे रहेको सुनसरी प्रहरीले जनाएको छ । ब्यारेजको नियन्त्रण भारतीय पक्षले गर्छ । बहाव उच्च भएपछि भारतीय पक्षले ५६ वटै ढोका खोलेको छ ।
भारतीय पक्षले कोशीमा बाढीको मापन ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्ने अनुमान रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार बाढीमा दाउरा निकाल्न र माछा मार्न रोक लगाइएको छ । भारतीय पक्षले पानीको बहाव उच्च हुने आकलन गरेपछि सतर्कता अपनाइएको उनले बताए ।
कोशीमा बहाव उच्च भएपछि भारतको पटनास्थित जल संशाधन विभागले ब्यारेजमा बाढीको बहाव ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्नसक्ने बताएको थियो । बहाव उच्च हुँदा डुबानको जोखिम हुने भन्दै विभागले कोशी नदीसँग जोडिएका भारतको सुपौल, सहरसा, मधेपुरा, मधुवनी दरभंगा र खगडिया जिल्लामा सतर्कता अपनाउन भनेको छ ।