विराटनगर । लगातार घटेर बुधबार दोहोरो अंकले बढेको नेप्से परिसूचक बिहीबार फेरि घटेको छ । नेप्सेको वृद्धि दोस्रो दिन नै टिक्न नसकेको हो ।
बुधबार ४९.१८ अंकले बढेर २५१९.५७ विन्दुमा पुगेको नेप्से बिहीबार ३२.८१ अंकले ओरालो लागेर २४८६.७६ विन्दुमा बन्द भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने थोरै वृद्धि भएको छ । बुधबार ४ अर्ब ८१ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ४ अर्ब ८४ करोडको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा तीन करोड रूपैयाँ वृद्धि भएको हो ।
यस दिन ३२२ वटा धितोपत्रको एक करोड ३६ लाख ९१ हजार ५९६ कित्ता सेयर किनबेच भएको हो । बुधबार ३९ कम्पनीको सेयर मूल्य बढेको छ भने २०१ वटाको घटेको छ । यस्तै, चार कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
कारोबारमा आएकामध्ये विन नेपाल लघुवित्तको सेयर मूल्य सर्वाधिक ९.८५ प्रतिशतले बढेको छ भने बोटलर्स नेपाल बालाजुको ५.०६ प्रतिशतले बढेको छ । ग्रीन भेन्चरको मूल्य सर्वाधिक १० प्रतिशतले घट्दा दोर्दी खोला जलविद्युतको ७.६९ प्रतिशतले घटेको छ ।
बिहीबार अपी पावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४७ करोड ९९ लाखको सेयर कारोबार भएको हो । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनएलजी इन्स्योरेन्सको १७ करोड ७३ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन र व्यापार समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो । यसदिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक २.३४ प्रतिशतले घटेको छ ।