एमालेका सांसदपुत्रले ठगे सहकारीको १ करोड ३८ लाख

निर्वाचन अगाडि आफ्नो छोराले गरेको अनियमितताको जिम्मा लिएका सांसद खनाल अहिले भने मौन

विराटनगर । संसदीय छानविन समिति गठन भएपछि सहकारी ठगीको नाइके राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भएजसरी चर्चा चलिरहेको छ । संसदीय समितिले लामिछानेको सहकारी ठगीमा प्रत्यक्ष संलग्नता नभएको भएपनि सहकारीको पैसा कम्पनीमा गइसकेपछि उनले चलाएको रिपोर्ट दिएको छ ।

संसदीय समितिको रिपोर्ट आएपछि पनि सहकारी ठगीबारे लामिछानेकै चर्चा छ । समितिले करिब ८६ अर्ब ठगी सम्बन्धि अनुसन्धान गरेकोमा लामिछाने जोडिएको सहकारीबाहेक अन्य सहकारीबारे धेरै समाचार पनि बन्न सकेको छैन । त्यस्तै समाचार नबनेको सहकारी हो, झापाको शिवसताक्षी नगरपालिका ३ को उन्नति बचत तथा ऋण सहकारी संस्था ।

नेकपा एमालेबाट निर्वाचित कोशी प्रदेश सांसद राधाकृष्ण खनालका छोरा सुमन खनालले उन्नतीका बचतकर्ता र शेयर सदस्यहरुको झण्डै डेढ करोड रुपैयाँ अनियमितता गरेका छन् । खनालले सहकारीको १ करोड ३८ लाख ३६ हजार ७७० रुपैयाँ ठगी गरेको नगरपालिकाले गगठन गरेको छानविनमा देखिएको छ ।

ठगीमा संलग्न खनाल झापा क्षेत्र नम्बर ४ (१)बाट निर्वाचित एमाले सांसद राधाकृष्ण खनालका छोरा हुन् । २०७९ साल मंसिरमा भएको प्रदेशसभा निर्वाचनताका बचतकर्ताहरुले खनालसामु छोरा सुमनबाट पीडित भएको गुनसाो गरेका थिए । त्यसबेला खनालले आफ्नो छोराले गरेको अनियमितताको जिम्मा लिँदै रकम फिर्ता गर्नका लागि पनि आफूलाई जिताउन आग्रह गरेका थिए । ‘तपाईहरुको पैसा डुब्दैन, मलाई जिताउनु, पैसा म फिर्ता गर्छु’ उनले भनेका थिए ।

मजदुरी गरेको, सामान्य व्यापार व्यवसाय गरेको र विदेश गएका परिवारका सदस्यले पठाएको पैसा बचत गरेका स्थानीयले खनाललाई निर्वाचित गराए पनि । तर, उनी निर्वाचित भएको दुई वर्ष पुग्नलाग्दा बचतकर्ताले पैसा त फिर्ता पाएका छैनन् नै सहकारीको अध्यक्ष रहेका सांसदपुत्र खनाल फरार छन् ।

बचत फिर्ता नपाएपछि पीडितहरुले नपरपालिकाको सहकारी शाखामा उजुरी दिएपछि नरपालिकाले आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय झापालाई सिफारिस गरेको छ । तर, सरकारको नेतृत्व गरिरहेको पार्टीका सांसद जोडिएको सहकारीमा कुनै अनुसन्धान नभएको स्थानीयले गुनासो गरेका छन् ।

नगरपालिकामा उजुरी आएपछि कार्वाहीको लागि प्रशासनमा पठाएको शिवसताक्षी नगरपालिकाका शाखा अधिकृत बद्री दाहालले जानकारी दिए । नगरपालिकाले प्रशासनमा कार्वाहीको लागि पत्र लेखेपछि सुमन फरार छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले उजुरीको विषयमा छानविन भइरहेको बताउँदै केही दिनपछि रिजल्ट दिने दावी गरेका छन् । ‘२२ दिन अगाडि उजुरी परेको थियो । हामी छानविनकै क्रममा छौं’ उनले भने, ‘केही दिनपछि हामी रिजल्ट दिन्छौं ।’

सर्वसाधारण बचतकर्ता मात्र हैन, सहकारीका लेखा समिति संयोजक सुुमन कटुवाल पनि अध्यक्ष खनालबाट ठगिएका छन् । ‘मेरो पनि ११ लाखभन्दा बढी रकम डुबेको छ’ उनले भने, ‘म पनि लेखा समिति संयोजक हुँ । आफैं डुबेको छु । कसलाई सुनाउनु ।’

केही महिना अगाडि स्थानीयले खनाललाई इलाका प्रहरी कार्यालय झिलभिलेमा झिकाएर केरकार गरेका थिए । त्यसबेला खनालले आफूले रकम चलाएको र कोही पनि अरु संलग्न नभएको कागजमा हस्ताक्षर गरेका थिए । ‘योजनामै रकम घोटाला गरेको देखिन्छ,’ एक पीडितले भने, ‘जग्गा बेचेर भएपनि हिसाब मिलाउँछु भनेको उनी अहिले सम्पर्कमै छैनन् ।’

सहकारीको संस्थापक अध्यक्ष सांसदपुत्र खनाल नै हुन् । आर्थिक वर्ष २०७८/७९ मा उनले ७० हजार रुपैयाँ शेयरकै रकम हिनामिना गरेको शिवसताक्षी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष भाष्कर न्यौपानेको नेतृत्वमा गठित समितिको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अन्ुसार खनालले बिनाभौचर बचतकर्ताको २ लाख ६ हजार ८६८ रुपैयाँ निकालेको, बचतकर्ताको ४२ लाख नगद हिनामिना गरेको, बचतकर्ता तथा कलेक्टरहरुबाट हिसावभन्दा बढी संकलन भएको रकम जम्मा हुने उन्नति फन्ड एकाउन्टबाट आर्थिक वर्ष २०७९/८० मा २ लाख ३६ हजार ८४० रुपैयाँ निकालेर आफ्नो खातामा जम्मा गरेकोलगायतका विषय उल्लेख छ ।

यस्तै आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरणमा ४१ लाख ६८ हजार ३७७ रुपैयाँ सहकारीको नगद मौज्दात भएको दाबी गरेपनि उक्त रकम अध्यक्ष खनालले व्यक्तिगत रुपमा चलाएको प्रतिवेदनमा जनाइएको छ । आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदनमै संस्थाले लगानी गरेको रकम भन्दा ५ लाख ४९ हजार ५१२ रुपैयाँ ज्यादा लगानी रहेको वित्तीय विवरण तयार पारिएको थियो ।

२०७८÷७९ मा ५ लाखको कर्जा संस्थाले शेयर सदस्यलाई लगानी गरेको देखाइएको भएपनि उक्त रकम अध्यक्ष खनालले नै चलाएको खुलेको छ । यस्तै, २०७८/७९ मा रमेश अधिकारीको नाममा १ लाख ९१ हजार ८४९ रुपैयाँको कर्जा लगानी भएको देखिएको भएपनि उक्त व्यक्ति नै फेला नपरेपछि सो रकम पनि खनालले नै चलाएको खुलेको अनुगमन समितिले जनाएको छ ।

अध्यक्ष खनालले संस्था स्थापना भएदेखि नै संस्थाको नगद हिनामिना गरी व्यक्तिगत रुपमा चलाएको अनुगमन प्रतिवेदनमा उल्लेख छ । अध्यक्षबाट आर्थिक वर्ष २०७८/७९ सम्ममा ४४ लाख ३४ हजार १६७ रुपैयाँ, २०७९/८० मा १६ लाख ३१ हजार ३८७ रुपैयाँ गरि ६० लाख ६६ हजार १९६ ब्याज मात्र हिनामिना गरेको प्रतिवेदनमा उल्लेख छ । सबै कैफियतहरुलाई समावेश गर्दा संस्थाको अध्यक्षबाट आर्थिक वर्ष २०७९/८० को अन्त्यमा १ करोड ६२ लाख ६२ हजार ३६९ रुपैयाँ सहकारीले पाउनुपर्ने देखिएको प्रतिवेदनमा जनाइएको छ ।

अध्यक्ष खनालले आफ्नोे शेयरमा १ लाख १० हजार र बचत खातामा २३ लाख २२ हजार ५९९ रुपैयाँ गरी जम्मा २४ लाख २५ हजार ५९९ रुपैयाँ राखेको देखिएको छ । सो रकम घटाउँदा उनले सहकारीको १ करोड ३८ लाख ३६ हजार ७७० रुपैयाँ ठगी गरेको देखिन्छ ।

शनिबार, ०५ असोज, २०८१, दिउँसोको ०१:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर