संविधान र संघीयताको प्रतिफल: पूर्वाधार र कृषि क्षेत्रले दिँदैछ सकारात्मक उपलब्धी

विराटनगर । संघीय प्रणाली अभ्यासको छोटो समयमै जनताले संघीयताको प्रतिफल राम्रोसँग अनुभूत गर्न थालेका छन् । संविधान जारी भएको १० वर्षमा प्रवेश गरेपनि यसको औपचारिक कार्यान्वयन सुरु भएको सात वर्षमा कोशी प्रदेशले विभिन्न क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ । सडक पूर्वाधार, कृषि तथा पशुपालन, सिंचाइ, पर्यटन र सामाजिक सुरक्षा आदि क्षेत्रमा उल्लेख्य प्रगति गरेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताए ।

पूर्वाधार विकासतर्फ कोशी प्रदेश १ नम्बर नै रहेको उहाँको दाबी छ । ‘मेरो बुझाइमा प्रदेश संरचना कार्यान्वयनमा आएपछि पूर्वाधार निर्माणमा सबै प्रदेशले निकै ठूलो परिणाम दिएका छन् । त्यसमा पनि कोशी प्रदेश १ नं नै छ र जनताले त्यसको लाभ पाएका छन् । हामीले ६ वर्षको अवधिमा ६ हजार किलोमिटर भन्दा बढी सडक पूर्वाधार विस्तार गरेका छौं । करिब ६०० किलोमिटर सडक कालोपत्रे, १ हजार ५०० किलोमिटर ग्राभेल, त्यति नै परिमाणमा सडक मर्मत गरेकाछौं भने करिब एक सय मोटरेबल पुल र करिब २०० झोलुङ्गे पुल निर्माण गरेका छौं । हामीले सुरु गरेको ६५ वटा बहुवर्षे सडकमध्ये २२ वटा निर्माण सम्पन्न भइसकेको छ भने धेरै सडकहरु यसै वर्ष सम्पन्न हुने चरणमा छन्,’ मुखयमन्त्री कार्कीले भने ।

संघीय व्यवस्थाको बारेमा बाहिर चल्ने गरेको भन्दा प्रदेश सरकारहरुले गरिरहेको कामको परिणाम फरक रहेको मुख्यमन्त्री कार्कीको भनाइ छ । प्रदेशले कृषि, पर्यटन, सिंचाइ आदि पूर्वाधार निर्माणमा राम्रोसँग काम गरिरहेको र विकास निर्माण हुने पुँजीगत खर्च पनि तीन तहका सरकारहरुमध्ये प्रदेशकै अब्बल रहेको उनको दाबी छ । मुख्यमन्त्री कार्कीले भने ‘हामी दाबी मात्र गर्ने कुरा होइन विश्व बैंकले गरेको वित्तीय संघीयता सम्बन्धी अध्ययनले पुँजीगत खर्चमा संघ र स्थानीय तहभन्दा प्रदेशको क्षमता राम्रो देखाएको छ । प्रदेशमा पुँजीगत खर्च उल्लेख्य भएको, साधारण खर्च भन्दा पुँजीगत खर्च बढी भएको र बलियो संरचनाको रुपमा प्रदेशहरुले काम गरिरहेको विश्व बैंकले नै भनेको छ ।’
कोशी प्रदेश सरकारले कृषितर्फ विशेष गरेर दुध, तरकारी र मासु उत्पादनमा विशेष अनुदान दिएर प्रबद्र्धन गरिरहेको छ । त्यसबाट उत्पादन बढ्नुका साथै नागरिकहरुले लाभ पनि प्राप्त गरिरहेको मुख्यमन्त्री कार्कीले बताए । पछिल्लो वर्ष दुध उत्पादनमा उल्लेख्य वृद्धि भई मिल्क ‘होली–डे’ को समस्या दोहोरिएको छैन । प्रदेश सरकारले दुध उत्पादन बढाउन किसानलाई अनुदान दिने र बढी भएको दुधलाई प्रशोधन गरी पाउडर बनाउन तीन वटा संस्थाहरुलाई नुदान दिने कार्यले सकारात्मक नतिजा दिएको मुख्यमन्त्री कार्कीले बताए ।

यस्तै तरकारी र माछामासु उत्पादनमा पनि प्रदेश सरकारले किसानहरुलाई दिएको अनुदानले सकारात्मक परिणाम प्राप्त भइरहेको भन्दै पूर्वाधार र कृषि क्षेत्रबाट संघीयताको महत्व स्पष्ट भएको र ती क्षेत्रबाट जनताले यो व्यवस्थाको लाभ अनुभूत गरेको उनको भनाइ थियो ।
उत्पादन बढेपनि खुला बोर्डरबाट आउने तरकारीका कारण नेपाली किसानहरुको उत्पादनले बजार नपाउने समस्या देखिएकोले सरकारले समस्या न्युनीकरणरमा ध्यान दिइरहेको मुख्यमन्त्री कार्कीले बताए ।

कोशी प्रदेश सरकारले आफ्नो प्रशासनिक भवनहरु निर्माण गरेको छैन तर प्रदेशमा प्रहरी संगठन आइनसकेको अवस्थामा पनि नेपाल प्रहरीका लागि मात्र १५० वटा, सशस्त्र प्रहरीका लागि पनि दर्जनौं भवनहरु निर्माण गरिदिएको छ । प्रहरीका लागी ३० वटा गाडी र ५०० बढी मोटरसाइकल उपलब्ध गराएर शान्ति सुरक्षामा गम्भीरता देखाएको छ । बिओपी संख्या १६ बाट ५२ वटा पु¥याउन आवशयक समन्वय गरेको प्रदेश सरकारको प्रगति विवरणमा उल्लेख छ ।

प्रदेशले उल्लेखनीय काम गर्दागर्दै पनि समाजमा प्रदेशका सवालमा बनिबनाउ नकारात्मक धारणा कायम रहेको मुख्यमन्त्री कार्की बताउँछन् । ‘हामीले धेरै काम गरेकाछौं तर प्रचारमा ध्यान दिएनौं जसले गर्दा सुरुदेखि प्रदेश मन नपराएकाहरुले नकारात्मक प्रचार र टिप्पणी गर्दा हामीमाथि नै अन्याय भएको छ,’ मुख्यमन्त्री कार्कीले भने ‘कृषि, पर्यटन, सिंचाइ, सडक पूर्वाधारमा धेरै राम्रो उपलब्धि भएको छ । यो कुरालाई विश्व बैंकले प्रकाशित गरेको पुस्तकले नै स्पष्ट गरेकाले नकारात्मक आरोपहरु स्वतः खण्डित भएको छ ।’

संविधान र संघीयता कार्यान्वयन गर्न समन्वय, सहकार्य र सहअस्तित्वका आधारमा अघि जानुपर्ने उनी बताउँछन् । मुख्यमन्त्री कार्कीको बुझाइमा ‘प्रदेश संरचना सुरुङको यात्रा जस्तो हो जुन दाहिनेतिर ठोक्किए संघसँग, देब्रेतिर ठोक्किए स्थानीय तहसँग अनि अलि बढी उफ्रिन खोजे टाउको ठोक्किएर डिजास्टर हुने जोखिमका बिचबाट हामी चल्नुपर्छ । अरुसँग बनिबनाउ संरचनाहरु छन् तर हामीले संरचना बनाउँदै अघि बढ्दै गर्नुपर्ने भएकोले सबैसँग साझेदारी र समन्वय गर्दै चल्नुपर्छ ।’

मुख्यमन्त्री कार्कीले संविधान कार्यान्वयनको गति केही सुस्त देखिएको स्वीकार गरेका छन् । यद्यपि यो सहज ढंगबाट अघि बढिरहेको र सकारात्मक गतिमा रहेकोले यसलाई अन्यथा लिन नहुने उनको बुझाइ छ ।

बिहिबार, ०३ असोज, २०८१, बिहानको १०:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर