विराटनगर । विराटनगर–७ स्थित माछापुच्छ«े बचत तथा ऋण सहकारी संस्था लि. का संचालकहरुले निक्षेपकर्ताहरूको ९ करोड रुपैयाँ बढी हिनामिनना गरी ठगी गरेको आरोपमा प्रहरीले सहकारीका अध्यक्ष अमलेश कर्णलाई पक्राउ गरेको छ ।
भदौमा ९५ जना सहकारी पीडितहरुले अध्यक्ष कर्णसहित १५ जना संचालकहरु विरुद्ध ‘सहकारी ठगी’ मा उजुरी दिएपछि मोरङ प्रहरीले कर्णलाई पक्राउ गरेको हो ।
पक्राउ परेका कर्णसहित चार जना संचालकहरुले सहकारीमा निक्षेप गरेको एक हजार बढी बचतकर्ताहरूको ९ करोड २५ लाख ९१ हजार ६ सय १ रुपैयाँ हिनामिना गरेको केही दिन अगाडि गरेको छानविन प्रतिवेदनमा देखाएको छ । जसमा सहकारी पूर्व सचिव तथा व्यवस्थापक अमित कार्की, सचिव तथा संचालक समिति सदस्य प्रभाकर थापा र सहकारीका कोषाध्यक्ष राधादेवी लिम्बूसहित १५ जनाले सहकारीको रकम हिनामिना गरी ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका हुन् । प्रहरीमा उजुरी दिएपछि अन्य १४ जना फरार रहेका छन् । उनीहरुको खोजी कार्यमा प्रहरी लागि परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । ‘अहिलेसम्म ९५ भन्दा बढीको उजुरी परेको छ । उजुरी आउने क्रमम अझै जारी छ,’ डिएसपी बस्नेतले भने, ‘अहिले हामी अनुसन्धान गर्दै आएका छौं । कसले कति सहकारीको रकम ठगी गरी त्यो हामी अनुसन्धान गर्दै आएका छौं । हामीले सहकारी पीडितलाई उजुरी दिन सार्वजानिक रुपमा आव्हान पनि गरिएको छ ।’
कसले कति गरे सहकारीको रकम हिनामिना ?
जिल्ला सहकारी संघ मोरङका संचालक समिति सदस्य उमेश गुरूङको संयोजत्वमा चार सदस्य समितिले तयार पारेको छानविन प्रतिवेदन अनुसार सबैभन्दा बढी घोटला सहकारीका पूर्वसचिव तथा व्यवस्थापक अमित कार्कीले गरेको देखिएको छ ।
कार्कीले सहकारीको ४ करोड ७३ लाख ७४ हजार ९५६ रुपैयाँ हिनामिना गरेको छानविन प्रतिवेदनले देखाएको छ । कार्कीपछि सहकारीका सचिव तथा संचालक समिति सदस्य प्रभाकर थापाले रकम हिनामिना गरेको देखिएको छ । थापाले सहकारीको १ करोड ६० लाख ३३ हजार ४०२ रुपैयाँ घोटला गरेको खुलेको छ । थापा नेपाली कांग्रेसको भातृ संगठन तरुण दल मोरङका पूर्वसभापति पनि हुन् ।
यसैगरी सहकारीका अध्यक्ष अमलेश कर्णले १ करोड ४७ लाख ८३ हजार २७५ रुपैयाँ हिनामिना गरेको देखिएको छ । कर्ण साझा विवेकशिल पार्टीका नेता हुन् । उनले २०७४ सालमा भएको स्थानीय तहको चुनावमा विराटनगर महानगरपालिको प्रमुखमा उम्मेदवारी पनि दिएका थिए ।
यसैगरी सहकारीका कोषाध्यक्ष राधादेवी लिम्बूले १ करोड ४३ लाख ९९ हजार ९६६ रुपैयाँ घोटला गरेको छानविन प्रतिवेदनमा उल्लेख छ । प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय कोशी प्रदेशले असार २५ गते दुई हप्तभित्रमा सहकारीको हिसाब छानविन गरी प्रतिवेदन बुझाउन समिति गठन गरेको थियो । जिल्ला सहकारी संघ मोरङको संचालक समितिको सदस्य उमेश गुरुङको संयोजत्वमा राष्ट्रिय सहकारी बैंक लि. विराटनगरको प्रमुख प्रभु पोखरेल, माछापुच्छ«े बचत तथा ऋण सहकारी संस्था सेयर सदस्य उत्तम ढुङ्गेल र सहकारीका सदस्य श्यामराज कोइराला छानविन समितिमा रहेका थिए । उक्त समितिले छानविन गरी साउन १४ गते प्रतिवेदन तयार गरी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय कोशी प्रदेशका निमिक्त रजिष्ट्रार हरिबहादुर खत्रीलाई प्रतिवेदन बुझाएको छ ।
उक्त छानविन प्रतिवेदन अनुसार सहकारीका अध्यक्ष कर्णसहित संचालक समितिका सदस्यहरुले ९ करोड २५ लाख ९१ हजार ६०१ रुपैयाँ हिनामिना गरेको देखाएको छ । छानविन प्रतिवेदनले हिनामिना गरेको देखाएपछि पनि संचालकहरुले हिसाब फरफारक नगरेपछि पीडितले प्रहरीमा ठगीमा उजुरी दिएका हुन् ।
घोटला गर्ने संचालहरुले सहकारीको नियम, मूल्यमान्यता विपरीत हिनामिना गरेको रकम जग्गामा लगानी गरेको देखिएको छ । उनीहरुले आफन्त र नातागोता व्यक्तिलाई सहकारीको रकम विना धितो कर्जा दिएको पाइएको छ । २ करोड बढी रकमधितो नराखी ऋण दिएको देखिन्छ । चार जना संचालकको नाममा रहेको जग्गा पनि छानविन समितिले रोक्का राख्न सुझाब दिएको छ । प्रभाकर थापाको सबैभन्दा बढी जग्गा रहेको देखिएको छ । थापाको झापाको धुलाबारी २ मा १७ कठ्ठा जग्गा देखिएको छ । कित्ता नम्बर ९६ रहेको ४ कठ्ठा १० धुर र ३०७० किता नं. रहेको ४ कठ्ठा १० धुर जग्गा धुलाबारीमा देखिएको छ । यसैगरी थापाकी श्रीमतीको नाममा पनि १०६ र ८१२ किता नंं. को १७ कठ्ठा जग्गा देखिएको छ । सहकारीको निक्षेप जग्गामा लगानी गरेको देखिएको छ ।
कार्कीको निजी खातामा सहकारीको ५ करोड
व्यवस्थापक अमित कार्कीको नाममा रहेको बैंक खातामा सहकारीको पाँच करोड रुपैयाँ बढी रकम देखिएको छ । सिटिजन इन्टरनेशनल बैंकको खाता नं. ००२००२००००९३९ एस. ए. १६ फ्रेब्रुअरी २००९ देखि र एक्सल डेभलपमेन्ट बैंक विराटनगर शाखा खाता नंं. ०१२०११०००४७१४३०००००१ मा ४ अक्टुबर २०१२ देखि सहकारीको करिब ५ करोड ७५ लाख जम्मा गरेको देखियो । जुन रकम शंकास्पद र थप छानबिनको घेरामा ल्याउनु पर्ने देखिएको प्रतिवेदनमा उल्लेख छ ।
२०७९ मंसिर २८ गते भएको लेखा परीक्षणअनुसार १ करोड ४९ लाख ३७ हजार २९३ रुपैयाँ ऋण लगानी भएकामध्ये अधिकांश भाखा नाघेका, पुराना, कागजी प्रक्रिया पूरा नगरी दिएको पाइएको छ । ९५ प्रतिशत लगानीमा देखाएको ऋण जोखिममा परेको छ ।
ऋण लागनी जम्मा २०५ जनामा देखाएकोमा ५ जनाको मात्र धितो जमानी लिएर लागानी गरेको देखाइएको छ । ऋण लगानीको संयोजकमा अमित कार्की रहेका थिए । कार्कीले २०६९ साउन ५ देखि २०७१ फागुन २९ गतेसम्म ३८ पटक बैठक बसेर ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेख छ ।