उमागौरी सहकारीको स्थलगत रिपोर्ट

पोखरेल र रौनियारको पुरानै कनेक्सन

कर्सिया । मोरङको धनपालनाथ गाउँपालिका–४ कर्सिया बजारका खुस्बु खातुनका श्रीमान सेराज अन्सारी कुखुराको अण्डा तथा मासु विक्रेता हुन् । २०७८ साल मंसिरमा उनलाई उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भु रौनियारले शेयर सदस्य बने ऋण दिने प्रस्ताव गरे ।बिनाधितो ऋण दिने भनेपछि अन्सारीले ५ लाख रुपैयाँ ऋण मागे । तर, रौनियारले बिनाधितो २ लाख मात्र पाउने भने । त्यसमा सहमति जनाएर अन्सारीले महिला उद्यमी कार्यक्रममार्फत आफ्नी श्रीमती खुस्बु खातुनलाई कागजातमा हस्ताक्षर गरेर आउनु भनि सहकारीको कार्यालय पठाए । कागजपत्रमा हस्ताक्षर गरेको केही दिनपछि उनले २ लाख रुपैयाँ ऋण पाए ।

अन्सारीले प्रत्येक महिना १० हजार रुपैयाँको दरले किस्ता तिर्दै गए । करिब ६ महिनापछि नबिल बैंकबाट फोन आयो, ‘तपाईको ऋणको किस्ता आएको छैन । अब सोझै बैंकमा किस्ता तिर्नु ।’आफूले सहकारीबाट ऋण लिएको भन्दै अन्सारीले नियमित सहकारीलाई नै किस्ता बुझाए । शेयर सदस्य बन्न २० हजार रुपैयाँ सुरुमै तिरेका उनले थप मैले १ लाख ६० हजार रुपैयाँ किस्ता तिरेँ । उनलाई लागेको थियो, अब २० हजार किस्ता र केहि ब्याज तिनुपर्नेछ ।

तर, बैंकले फेरि ताकेता गरेपछि अन्सारी विराटगरस्थित बैंकको शाखामा पुगे । बैंकमा बुझ्दा उनको नाममा ९ लाख ९० हजार रुपैयाँ ऋण लिएको देखियो । बैंकको स्टेटमेन्ट मगाएर हेर्दा ९ लाख ९० हजार रुपैयाँको चेक भजाएको देखियो ।

सहकारीले बचत तथा ऋण पासबुकमा २ लाख रुपैयाँ लिएको भनेर लेखेको थियो । त्यसपछि उनले सहकारीका अध्यक्ष शम्भु रौनियारलाई गएर भने, ‘मलाई २ लाख दिएर १० लाख किन लिएको ?’ जवाफमा रौनियारले भने ‘हामीले चलायौं । म मिलाइहाल्छु ।’अन्सारीका अनुसार त्यो ऋण सहकारीले तिरेको छैन । न उनले सहकारीमा बुझाएको किस्ता नै बैंकमा जम्मा गरिएको छ । अहिले बैंकमा उनको नाममा ११ लाख ४७ हजार रुपैयाँ ऋण पुगिसकेको छ । पछिल्लो समयमा रौनियारले तीन लाख रुपैयाँको चेक अन्सारीलाई दिएका छन् । तर, पछि मात्र साटिने मिति राखेर । बैंकको कालोसुचीमा परेका शम्भुले आफ्ना दाई विनोदप्रसाद रौनियारको नामको चेक दिएका हुन् ।

महिला उद्यमकै लागि छोरी सुनिता खनाल तिम्सिनाको नाममा १० लाख रुपैयाँ ऋण लिएका नारायण खनालले प्रतिमहिना २६ हजारको दरले १३ महिनासम्म सहकारीलाई किस्ता बुझाए । तर, बैंकमा एउटा पनि किस्ता नबुझाएको पाइएपछि उनले अहिले सिधै बैंकलाई किस्ता तिरिरहेका छन् । सहकारीमा बुझाएको ३ लाख ३८ हजारको हिसाब उनले पाएका छैनन् ।

स्थानीय राजेशप्रसाद साहले पनि श्रीमती सुनिताकुमारी शाह सोनारको नाममा बिनाधितो ऋण पाइन्छ भनेर सहकारीबाट १० रुपैयाँ ऋण लिने फारममा सही गरे । त्यसवापत उमागौरीले १ लाखको शेयर किन्न लगायो । तर, उनले लामो समयपछि ५ लाख ४२ हजार रुपैयाँको चेक पाएँ ।
सहकारीबाट लिएको ऋणको महिनाको २६ हजारको दरले उनले १२ महिनासम्म किस्ता बुझाए । त्यसपछि उनलाई नबिल बैंकबाट फोन आयो, ‘तपाईले किस्ता तिर्नुभएको छैन । छिटो तिर्नुहोला ।’

विराटनगरमा पुगेर नबिल बैंकमा सोधिखोजी गर्दा बैंकबाट उनको नामको १० लाख रुपैयाँको चेक सहकारीको कर्मचारी लक्ष्मण साहले साटेको देखियो । ‘मेरो नाममा आएको पैसा उसले निकाले खाइसकेको रहेछ’ उनले भने, ‘४ लाख ५८ हजार उनीहरुले नै चलाए, किस्ता बुझाएको ३ लाख १२ हजारको पनि हिसाब छैन । अहिले मैले १० लाखको किस्ता तिरिरहनु परेको अवस्था छ । ’पछिल्लो समयमा सहकारीका अध्यक्ष रौनियारले ५ महिनापछिको मिति राखेर उनलाई ३ लाखको चेक दिएका छन् । तर, बैंकलाई उनले अब ८ लाख ४० हजार ३९० रुपैयाँ तिर्नुपर्ने देखिन्छ ।

उल्लेखित पात्रहरु प्रतिनिधि मात्र हुन् । उमागौरी कृषि सहकारीले यसरी थुप्रैलाई दुःख दिएको छ । कर्सिया बजारका उमागौरीको ठगीबाट पीडित भएकाहरु धेरै भेटिन्छन् ।

नबिल बैंकसँगको साझेदारीमा सहकारीले ५ सय महिला उद्यमीलाई ऋण दिलाउने सम्झौता गरेको थियो । तर, ८५ जनालाई मात्रै ऋण उपलब्ध भयो । उपलब्ध सबै ऋण पनि उनले महिला उद्यमीले पाएनन् । केही रकमले सहकारीका सञ्चालकले जग्गा किने भने केही रकम आफ्नो स्वार्थ अनुकूलका व्यक्तिहरुलाई दिए ।

सहकारीको १२ करोड बढि हिनामिना

सहकारीमा १२ करोड रुपैयाँ हिनामिना भएको छ । बैंकबाट ऋण लिनेबेला जमानी बसेकी कोइरालालाई अहिले बैंकले कालोसूचीमा राखेको छ । अध्यक्ष रौनियारले सहकारीका सदस्यको जग्गा मात्रै होइन सहकारीबाट ऋण खाने सर्वसाधारणको पनि घरजग्गा धितोमा राखिदिएका छन् । सहकारीको नाममा विभिन्न बैंकबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण छ ।

सो सहकारीले फिर्ता गर्नुपर्ने बचत २ करोड ३ लाख ५४ हजार १५६ रुपैयाँ छ । बचतकर्ताले बचत फिर्ता मागेपछि अहिले सहकारीको कार्यालय नै बन्द छ । १८ करोड ४९ लाख कुल पूँजी रहेको वासलातमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ । तर, कहाँ लगानी गरेको छ विवरण माग्दा उनले दिन सकेका छैनन् ।

उमागौरी कृषि सहकारीको अफिस राखिएको जग्गा सहकारीकै भएको सञ्चालकहरुले बताएका छन् । तर, जग्गा शम्भु रौनियारको बुबाको नाममा रहेको देखिन्छ ।

सहकारीले २०६८-६९ मा आरएसडिसी लघुवित्त वित्तीय संस्थाबाट ६ करोड रुपैयाँ ऋण लिएको थियो । जसमध्ये ३ करोड ऋण तिरेको भएपनि बाँकी पैसा तिर्न सकेन । ऋण नतिरेपछि नेपाल राष्ट्र ब्यांक मातहतको कर्जा सूचना केन्द्रले उक्त सहकारी र यसका पदाधिकारीलाई कालोसूचीमा राखेको छ ।

केन्द्रले पहिलो पटक २०७९ पुस १३ गते उमागौरी र त्यसका पदाधिकारीलाई कालोसूचीमा राखिएको सूचना प्रकाशन गरेको थियो। ऋण दिने वित्तीय संस्थाहरूको अनुरोधमा केन्द्रले कालोसूची निकाल्छ । त्यसपछि समेत उमागौरीले ऋण चुक्ता नगरेपछि २०८० साउन १ गते, कात्तिक १४ गते र २०८१ जेठ ९ गते पनि खराब ऋणीका रूपमा उमागौरीलाई राखिएको छ । यी सबै सूचनामा सहकारीका अध्यक्ष रौनियार, उपाध्यक्ष दिलमाया राई, कोषाध्यक्ष शम्भुप्रसाद सिंह, सचिव आमोद अन्सारी मियाँ र सदस्य अञ्जला कोइराला लगायतको नाम छ ।

आरएसडीसी लघुवित्तले पटक–पटक ताकेता गर्दा पनि ऋण नतिरेको भन्दै उमागौरी र यसका ११ जना सञ्चालक समितिका पदाधिकारीको फोटो सहित ३५ दिनभित्र सम्पर्क गर्न २०७९ कात्तिक १६ गतेको नागरिक दैनिकमा सूचना जारी गरेको थियो । तर, सहकारीले ऋण चुक्ता नगरेपछि कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको हो ।

पोखरेलसँग सहकारीको साइनो

२०७४ सालको आसपासमा महिला उद्यमी कार्यक्रमको सुरुवात राष्ट्र बैंकका निर्देशक रहेका रामु पौडेलको उपस्थितिमा भएको थियो । उनलाई कर्सिया ल्याउन व्यवस्थापन एमाले नेता तथा संविधानसभा सदस्य रहेका ऋषिकेश पोखरेलले गरेका थिए । पोखरेलकी श्रीमती अञ्जला कोइराला त्यसबेला सहकारीको सञ्चालक थिइन् । कार्यक्रममा पोखरेल पनि उपस्थित थिए ।
सहकारीका विभिन्न कार्यक्रममा पनि पोखरेल उपस्थित हुने गरेको सदयस्यहरुले बताएका छन् । स्थानीयका अनुसार नेकपा एमालेका स्थानीय कार्यकर्ता रौनियार अध्यक्ष रहेको सहकारी सुरुवातमा राम्रै चलेको थियो । तीन दर्जन जति कर्मचारीहरु नै थिए । कारोबारको चहलपहल निक्कै हुन्थ्यो । सहकारी स्थापना अगाडि साइकल चढ्ने रौनियार गाडी किनेर हुइँक्याउन थालेका थिए । सहकारीको कार्यालय एमालेका नेता–कार्यकर्ताहरूको जक्सन जस्तै थियो । तर, अहिले सहकारी बन्द छ ।

स्थानीयका अनुसार अहिले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति रहेका पोखरेल सहकारीको अघोषित सल्लाहकार थिए । सहकारी स्थापनामा पनि उनको भूमिका रहेको स्थानीीय बताउँछन् । महिला उद्यमी ऋण कर्जादेखि पहुँचवालासम्म भेट्टाइदिने काम उनले नै गर्दथे । पोखरेल पार्टी कार्यक्रममा जाँदा कर्सियामा पुगेर रौनियारको गाडी लिएर हिँंड्थे ।

त्यसबेला पोखरेलको निर्वाचन कार्यक्रमको व्यवस्थापन शम्भुले गर्ने गरेको स्थानीय दाबी गर्छन् । सहकारी संकटमा परेपछि अहिले रौनियार निकटस्थहरुलाई आफूलाई कुनै मुद्दा नै नपरेको कारण कुनै ठगी नगरेको बताउँछन् । ‘मुद्दा त पर्नुपर्यो नि ? मलाई पक्राउ गर्नु पर्यो नि त्यसो भए ?,’ उनले भन्ने गरेका छन् ।

सहकारीमा समस्या आएपछि पोखरेलले केही महीनाअघि अध्यक्ष रौनियारसहितका पदाधिकारीलाई घरमै डाकेर समस्या छिटो मिलाउन भनेको सहकारीका लेखा समिति सदस्य रहिसकेका विजयकुमार यादव बताएका छन् । रौनियारलाई गत असार १२ गते ३२ लाखको चेक नसाटिएपछि प्रदिपकुमार यादवको उजुरीमा मोरङ प्रहरीले पक्राउ गरेको थियो । तर, उनी राजनीतिक दबाबमा ‘मिलापत्र’ गरेर छुटेको पाइएको छ ।

रौनियार छुट्नुमा पोखरेलको दबाब र प्रभाव रहेको सहकारीबाट ठगिएका पीडित कृष्णप्रसाद अर्यालले बताएका छन् । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्नासाथ रौनियार छुटेको उनले बताए । रौनियारसँग मिलेमतो गरेर पोखरेल पनि ठगीमा संलग्न रहेकोले अहिले रौनियारले पोखरेलको बचाऊमा विज्ञप्ति जारी गरेको पीडितहरु बताउँछन् ।

चेक बाउन्समा परेको उजुरीपछि नेताहरुसँगको हारगुहारपछि उनी छुटेका थिए । ऋषिकेश पोखरेल भने निकटस्थलाई अहिले पनि भन्ने गरेका छन्, ‘मैले सहयोग गरेको सहकारी हो, दर्ता गर्न पनि सहयोग गरेको थिएँ, यो रौनियारले डुबायो, के छ हिसाव भनेर सोध्दा पनि देखाउँदैन ।’

रौनियारको एकलौटी थियो सहकारी

सदस्यहरुबाटै करोडौं ठगेका सहकारीका अध्यक्ष रौनियारले त्यहि पैसाले सम्पत्ती जोडेको स्थानीयले बताएका छन् । सहकारीको अफिस रहेको जग्गा नै डेढ करोडमा किनेको बताइएको छ । पूर्वसांसद ज्ञानेश्वर राजवंशीसँग पनि रौनियारको दोस्ती रहेको स्थानीयले बताएका छन् ।
सहकारीका कोषाध्यक्ष शम्भु सिंह कर्सिया बजारमै सामान्य पसल चलाएर बसेका छन् । आलम अन्सारी सचिव हुन् । उनको एउटा सानो टेलर पसल छ । आलम अहिले फरार छन् । तर, उनीहरु सबै सहकारीमा रबस्टम्प जस्ता थिए । कारोबार सबै उनै अध्यक्ष शम्भु रौनियारले गरे ।
२०६८ सालमा स्थापना भएदेखि सहकारीको अध्यक्ष रौनियार नै छन् । सहकारीमा उनले आफैंलाई प्रोपाइटरसमेत नियुक्त गरेका थिए ।
सहकारीमा झुक्याएर आफ्नी श्रीमतीलाई सदस्य बनाएको दावी यसअघि पोखरेलले गर्दै आएका थिए । तर, कोइराला २ कार्यकाल सहकारीको सञ्चालक भएको पाइएको छ ।

सहकारीका कोषाध्यक्ष सिंहले १२ करोड अनियमितता भएको आरोपलाई अस्वीकार गरेका छन् । लगानी गरेको ऋण नउठेकोले समस्या भएको भन्दै उनले बैंकबाट ऋण लिएकाहँरुले नै नतिरेको दावी गरे । सहकारीले माछापुच्छ्रे बैंकबाट झण्डै साढे ६ करोड, एक्सल डेभलपमेन्ट बैंकबाट ३ करोड, आरएसडिसीबाट ३ करोड, प्रभु बैंकबाट १ करोड ऋण लिएको उनले बताए छ । सञ्चालक समितिकै मान्छे र ऋणीहरुकै जग्गा धितो राखेर ऋिण लिएको र त्यसमा उनीहहरुको सहमति रहेको दावी सिंहले गरेका छन् ।

सहकारीले बैंकबा झिकेको ऋणको रकम सबै ऋणीलाई नदिएको भने सिंहले स्वीकार गरेका छन् । सहकारी डेढ करोडको ऋणी भएपनि धितो राख्ने शेयर सदस्य १ करोडको ऋणी भएको उनले बताए । सहकारीले लिएको ऋण किन नतिरेको भन्ने प्रश्नमा उनले ऋणिले लिएको ऋण तिरेपछि सहकारीले तिर्ने जिकिर गरे ।

अञ्जला कोइराला पहिलेदेखि नै सञ्चालक समितिको सदस्य रहेको बताउँदै सिंहले सञ्चालक समितिले सर्वसम्मत रुपमा निर्णय गरेर सबै कारोबार गरेको दावी गरेका छन् । ‘दुई कार्यकालको सञ्चालक समिति सदस्य भएर उहाँ बस्नुभएको हो,’ उनले भने, ‘अध्यक्षको लिङ्कको कारण उहाँलाई समितिमा राखिएको थियो ।’ संस्थामा राम्रो र पहुँच भएको मान्छे राख्नुपर्छ भनेर अध्यक्षले कोइरालालाई सञ्चालक बनाउन प्रस्ताव गर्दा सबैले स्वीकार गरेको उनले बताए ।

कार्यक्षेत्रबाहिरको सहकारीमा कोइराला सदस्य

कोइराला विराटनगर–८ की स्थायी बासिन्दा हुन् । उनका श्रीमान् ऋषिकेश पोखरेलको ठेगाना रतुवामाई नगरपालिका ५ (साविक गोविन्दपुर गाविस) हो । उक्त सहकारीको कार्यक्षेत्र त्यसबेला कदमाहा, दादरबैरिया, सोराभाग, रंगेली र बबियाविर्ता मात्रै थियो । २०७८ सालपछि मात्र कार्यक्षेत्र विस्तार गरेर मोरङ जिल्लाभर बनाइयो । तर, कार्यक्षेत्र विस्तार नहुँदै अञ्जलालाई सहकारीको सदस्य बनाएर सञ्चालक बनाएको देखिएको छ । सहकारी ऐन अनुसार कार्यक्षेत्र बाहिरको मान्छेलाई सहकारीको सदस्य बन्न पाउँदैन ।

बिधि अनुसार सञ्चालन नभएको सहकारीले स्थापनाको समयको डकुमेन्ट बुझाएको भएपनि पछिल्लो १० वर्षको डकुमेन्ट नबुझाएको कोशी प्रदेश सहकारी रजिष्टार कार्यालय इनरुवाका प्रमुख हरि खत्रीले बताएका छन् । ‘यो सहकारीको कार्यालय खुल्दैन, कार्यालयमा कागजपत्र पनि भेटिदैन, डुकुमेन्ट पनि बुझाएको छैन’ उनले भने, ‘चार पटकसम्म पुगेर अनुगमन गर्दा कार्यालय बन्द रहेको छ ।’

सोमबार, ३१ भदौ, २०८१, बिहानको ०८:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर