विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशकाे आयाेजनामा प्रदेशमै पहिलो पटक भदाै २७ देखि ३० गते सम्म कटहरी कृषि थोक बजारमा कृषि एक्स्पो २०८१ हुने भएकाे छ ।
एक्स्पाेकाे सम्पूर्ण तयारी पूरा भएकाे उद्योग वाणिज्य महासंघ काेशीका अध्यक्ष राजेन्द्र राउतले जानकारी दिएका छन ।
कोशी प्रदेशमा प्रादेशिक अर्थतन्त्रको एकतिहाई भन्दा बढि हिस्सा ओट्ने कृषिजन्य उत्पादनको प्रवर्द्धन र विस्तारको सम्भावनालाई मध्येनजर गर्दै यसको उत्पादन वृद्धि, बजारीकरण, मूल्य अभिवृद्धिको विकास गरी रोजगारी सिर्जनाका साथै राष्ट्रिय अर्थतन्त्रको विस्तारमा सघाउ पुर्याउने उद्देश्यले एक्स्पो आयाेजना गरिएकाे उनकाे दाबी छ ।
एक्स्पाेमा नविनतम् औजार, यन्त्र तथा प्रविधिको प्रदर्शनी, उन्नत जातका पशुपक्षि प्रदर्शनी, पर्यावरण-मैत्री ज्ञान, शिप र प्रविधि, कृषि विज्ञसंग छलफल तथा सेमिनार कार्यक्रम, नयाँ नयाँ अनुसन्धान र परियोजनाहरूको प्रस्तुती हुनेछ । यस्तै बजार तथा व्यापारका अवसरहरु, पशुपंक्षी तथा कृषि उपज प्रतियोगिता, खेत देखी भान्साको अनुभव तथा फुड फेस्टिवल एवं जिल्ला बाहिरबाट मेला अवलोकन गर्न आउने कृषकका लागि निःशुल्क खाना तथा आवासको पनि व्यवस्था रहने राउतले जानकारी दिए ।
एक्स्पो हुने स्थानमा जम्मा ५ वटा ब्लक छुटयाइएको छ । जसमा ए मा पशुपंक्षी, विमा कृषि, सि मा मेशिनरी डि मा फूड स्टल र ई मा गोष्ठी तथा परामर्श सेवा रहेको छ । एक्स्पोमा करीव १३० वटा स्टल रहने छन् जसमा भारतको विहार तथा कोलकत्ताबाट २० वटा स्टल आउने जनाईएकाे छ ।
एक्स्पो अवधिभर कृषि, पशुपंक्षी, कष्टम हाइरिंग, क्लाईमेट चेन्ज, जैविक मल तथा विषादी बनाउने र प्रयोग विधि लगायतका विषयमा नेपाल तथा भारतका विज्ञवाट संवाद कार्यक्रम राखिएको छ । यसैगरी कृषि व्यवसायी वीच विटुवी कार्यक्रम समेत राखिएको छ ।
काठमाण्डौं विश्वविद्यालयले कृषि विषयमा परामर्श दिने कार्यक्रम रहेको छ जुन लोकसेवाको तयारीमा रहेका परिक्षार्थीहरुका लागि उपयोगी हुनेछ । एक्स्पोमा जिल्ला नगर उद्योग वाणिज्य संघहरु, कृषि ज्ञान केन्द्र, १३७ वटा स्थानीय तह, कृषक, कृषी व्यवसायी, सहकारी, काठमाण्डौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, कृषि कलेजबाट सहभागी हुनका साथै समुद्घाटन कार्यक्रममा भारत, विहार राज्यका माननीय कृषि मन्त्री लगायत कृषि विभाग र विज विभागका विज्ञहरुको सहभागिता रहने कार्यक्रम रहेको छ । कृषि एक्स्पोमा प्रवेश निःशुल्क गरिएको छ ।
प्रदेश सरकार, कोशी प्रदेश, उद्योग कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ, स्वीस सरकार विकास सहयोग एसडीसीले एक्स्पोको प्रवर्द्धन गरिरहेको छ । यस्तै नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) र कटहरी गाउँपालिका सहयोगी संस्था रहेका छन् । यसैगरी एक्स्पोको मुख्य प्रायोजकमा ग्लोबल आईएमई बैंक रहेको छ भने प्रायोजकमा बोहरा ग्रुप, कृषि विकास बैंक र मुक्तीनाथ कृषि विकास कम्पनी लि. रहेका छन् ।
यसैगरी एक्स्पोको सह प्रायोजकमा एनएमवि बैंक, सिद्धार्थ बैंक, नविल बैंक, बुढीगंगा गाउंपालिका र जहदा गाउँपालिका रहेकाे छ । उक्त एक्स्पाे संचालन गर्न १ कराेड खर्च हुने अनुमान आयाेजककाे छ ।