विराटनगर । घरबाटै सट्टैबाजीको धन्दा चलाउने विराटनगरका दुई जना युवालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ का २० वर्षीय उत्सव अर्याल र १८ वर्षीय उत्कृष्ट अर्याललाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । उनीहरु दाजुभाई हुन् ।
बस्नेतका अनुसार दुवै जनाले घरबाटै सट्टेबाजीको धन्दा चलाइरहेको पाइएको छ । विभिन्न एप्समार्फत अनलाइन सट्टेबाजी सम्बन्धी गैरकानुनी क्रियाकलाप गर्दै आएको उनीहरुको घरबाट प्रहरीले विभिन्न उपकरण पनि बरामद गरेको छ ।
उत्कृष्टको एनड्रोइड मोबाइलमा ‘वान एक्स बेट’लगायतका एप्स ‘डाउनलोड’ गरेको पाइएको प्रहरीले जनाएको छ । त्यसमार्फत ‘अनलाइन डिजिटल’ खाताबाट सट्टेबाजी लिनेदिने काम गर्ने गरेको खुलेको प्रहरीको भनाइ छ । सट्टेबाजीमा प्रयोग गर्दैै आएको कम्प्युटरको सीपीयू, राउटर, मोबाइललगायत घरको कोठाबाट बरामद गरिएको उनले बताए ।
पक्राउ परेकाहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ बमोजिम सट्टेबाजी गर्न नहुने कसुरमा मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ । मुलुकी अपराध संहिता २०७४ को दफा १२५ मा सट्टेबाज गर्न नहुने र गरेमा कारबाही हुने प्रावधान छ । सट्टेबाजी ‘अनलाइन’ जुवा हो ।
पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई ३ महिनासम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन्छ भने दोस्रो पटक खेल्नेलाई १ वर्षसम्म कैद र ५० हजार जरिवाना हुने प्रावधान छ । पटकेका लागि भने १ वर्षको कैदमा पट्कैपिच्छे ३ महिना कैद र १० हजार रुपैयाँ जरिवाना थप हुनेछ । सट्टेबाजी गर्नेलाई १ वर्षसम्म कैद र १० हजारसम्म जरिवाना हुने व्यवस्था छ ।