खेलकुद समिति मोरङको अध्यक्षमा इन्द्रकुमार योञ्जनको पुनर्बहाली

विराटनगर । जिल्ला खेलकुद विकास समिति मोरङको अध्यक्षमा इन्द्र कुमार योन्जन तामाङ्गको पुनर्बहाली भएका छन् । उच्च अदालत विराटनगरले तामाङलाई भदौ २० गते खेलकुद विकास समिति मोरङको अध्यक्षमा पुनर्बहाली गर्ने आदेश दिएको हो ।

प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिव हशंराज वाग्ले भएको बेला २०८० चैत २३ गते तामाङलाई खेलकुद विकास समितिको अध्यक्षमा नियुक्ति गरेको थियो । उच्च अदालतले सदस्य सचिवमा एमालेका नेता पर्शुराम बस्नेतलाई पुनर्बहाली गरेको चार महिनापछि भदौ ६ गते तामाङलाई जिल्ला खेलकुद विकास समितिको अध्यक्षबाट निलम्बन गरेका थिए । त्यसपछि तामाङ उच्च अदालतमा प्रदेश खेलकुद विकास बोर्डलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गरेका थिए । भदौ २० गते उच्च अदालतका न्यायाधीश विपुल न्यौपाने र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजालशले तामाङलाई जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा पुनर्बहाली गर्ने आदेश दिएको हो ।

‘कोशी प्रदेशको प्रदेश खेलकुद ऐन, २०७६ मा निलम्बन गर्ने सम्बन्धमा स्पष्ट कानूनी व्यवस्था रहेको नदेखिएको स्थितिमा खेलकुद विकास समितिको अध्यक्ष पदमा निवेदकलाई नियुक्त गर्ने कार्य कानून सम्मत भए नभएको सम्बन्धमा साधिकार निकायबाट छानबिन भई निर्णय भईसकेको अवस्था नदेखिएको अवस्था समेतलाई विचार गर्दा यस अदालतबाट मिति २०८१-५-१२ मा जारी भएको अल्पकालिन अन्तरिम आदेशलाई प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्मको अवधिको लागि निरन्तरता प्रदान गरिएको छ । यो आदेशको जानकारी विपक्षीहरुलाई गराउनू,’ उच्च अदालतको आदेशमा उल्लेख छ ।

अध्यक्ष तामाङलाई कुनै स्पटिष्टकरण नसोधी राजनीतिक प्रतिसोधका आधारमा बस्नेतले निलम्वन गरेर पार्टीका कार्यकर्ता भर्ति गराउन खोजेकोआरोप लागेको छ ।  लामो समयदेखि कराँतेमा सक्रिय रहेका तामाङ सितोरियो कराँतेका राष्ट्रिय कोच तथा थर्ड डन रहेका थिए ।

खेलकुद विकास समितिको अध्यक्षमा पुनर्बहाली भएका तामाङले न्यायालयप्रति विश्वास बढेको बताए । ‘कुनैबेला राजनीतिक प्रतिशोधका आधारमा मलाई निलम्बन गरिएको थियो । तर, लोकतन्त्रमा न्याय मरेको छैन भन्ने उदाहरण अदालतले दिएको छ । कानुनी राज्यमा अदालतप्रति विश्वास बढेको छ । अदालतबाट न्याय हुन्छ भन्ने थियो, त्यसैअनुरुप आदेश आएको छ,’ उनले भने । तामाङले शुक्रबार जिल्ला खेलकुद विकास समितिको कार्यालयमा पुगेर पद बहाली पनि गरेका छन् ।

शुक्रबार, २१ भदौ, २०८१, साँझको ०७:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर