विराटनगर । सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणमा ढिलाइ भएपछि कोशी सरकारले अस्थायी लाइसेन्स दिने भएको छ ।
सवारी चालक अनुमति पत्र वितरण गर्ने यातायात कार्यालय प्रदेश सरकार मातहत भएपनि लाइसेन्स छपाईको अधिकार संघीय सरकारसँग राखिएको छ । संघीय सरकारको यातायात व्यवस्था विभागले परीक्षा पास गरेको लामो समयसम्म पनि लाइसेन्स नदिएको कारण प्रदेश सरकारले नै ट्रायल पास भएकालाई अस्थायी लाइसेन्स दिने तयारी गरेको हो ।
अस्थायी लाइसेन्सको अवधि एक वर्षको हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । कोशी प्रदेशमा दुई वर्षदेखि ट्रायल पास गरेकाहरु स्मार्टकार्ड लाइसेन्सको प्रतिपक्षामा छन् । लाइसेन्स नपाउँदा सर्वसाधारणले सास्ती पाएकोले त्यसलाई सम्बोधन गर्न अस्थायी लाइसेन्स वितरण गर्ने तयारी भएको मन्त्रालयका निमित्त सचिव कमलबहादुर थापाले जानकारी दिए ।
अब नयाँ ट्रायल पास गर्नेहरुलाई अस्थायी कार्ड दिइनेछ । अस्थायी कार्ड वितरणको परीक्षण यातायात कार्यालय विराटनगरबाट सुरु भइसकेको छ । क्यूआर कोडसहितको एक वर्षको अस्थायी कार्ड वितरण सुरु भएको हो । विराटनगरमा परीक्षणपछि यातायातका अन्य कार्यालयहरुबाट पनि अस्थायी लाइसेन्स वितरण हुनेछ ।
अस्थायी कार्डका लागि यातायात कार्यालय विराटनगर शाखालाई मेसिनसहित तीन हजार अस्थायी कार्ड मन्त्रालयले पठाएको छ । मन्त्रालयले अस्थायी कार्ड छपाइ गर्न ११ वटा प्रिन्टर मेसिन र कार्ड खरिद गरेको छ ।