विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र मृत फेला परेका दुई नाबालिकाकी आमा अझै फेला परेकी छैनन् ।
स्थानीय र प्रहरीले आइतबार बिहानदेखि खोजी तीव्र पारेपनि नाबालिका छोरीलाई लिएर हिँडेकी भनिएकी आमा २९ वर्षीया अस्मिता न्यौपाने फेला नपरेकी हुन् । शनिबार नाबालिकाको शव फेला परेपछि पनि आमको खोजी गरिएको थियो । आइतबार ४–५ सय स्थानीयसहित प्रहरीले केराबारी र जंगलभित्र पनि खोजी गरेको थियो ।
नाबालिका मृत फेला परेको केराघारी र नजिकै रहेको जंगलमा व्यापक खोजी गर्दा पनि आमालाई नभेटिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहालले जानकारी दिए । आफन्तहरु भएका सबै ठाउँमा खोजी गर्दा पनि उनको अवस्था पत्ता लाग्न नसकेको उनको भनाइ छ ।
धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरे घर भइ सुन्दरहरैँचा–७ मा बस्दै आएका अर्जुन कार्कीका नाबालिकाहरु छोरीहरु १ वर्षीया आइका र ३ वर्षीया अर्पणा कार्की शनिबार दिउँसो ४ः३० बजेतिर मृत फेला परेका थिए । स्थानीय नारायण न्यौपानेको केरा बगानभित्र दिदीले बहिनीलाई अँगालो हालेको अवस्थामा उनीहरुको शव फेला परेको थियो ।
अर्जुन श्रीमती र दुई छोरीसहित सुन्दरहरैँचा–७ मालती टोलस्थित दिदी सीता रेग्मीको घरमा बस्दै आएका थिए भने नजिकै नयाँ घर पनि बनाउँदैथिए । निर्माणाधीन घरमा पानी नलगाएको भन्दै शुक्रबार अर्जुनले श्रीमतीलाई गाली गरेपछि दुबईबीच विवाद भएको र लगत्तै अस्मिताले छोरी लिएर हिँडेको पाइएको प्रहरीको भनाइ छ ।
घटनाको प्रकृति हेर्दा विष खुवाएर दुबै बालिकाको हत्या गरेजस्तो देर्खिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ । नाबालिकाहरुको शव भेटिएको स्थानमा कीटनाशक औषधि ‘मेटासिट’को बट्टा फेला परेको छ । सम्पर्कविहीन भएकी आमा अस्मिताले प्रयोग गर्ने मोबाइल केराघारीमै फेला परेको छ ।
छोरीहरुलाई विष खुवाएर आमा सम्पर्कविहीन भएको हुनसक्ने प्रहरीको अनुमान छ । दुबै शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।