विराटनगर । पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङको डाडागाउँ टोलमा दुई बालबालिकाको ज्यान जानेगरि बिष्फोट भएको बम सशस्त्र द्वन्द्वकालकै भएको पाइएको छ ।
स्थानीय दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षीया छोरी प्रिन्साको ज्यान जानेगरि विष्फोट भएको बम द्वन्द्वकै समयमा छोडिएको हुनसक्ने सुरक्षा निकायको अनुमान छ ।
डाँडागाउँस्थित आइतराज केरुङको घरमा भेटिएको बम नाबालकहरूले खेलाउँदा विस्फोट भएको आशंका गरिएको छ । युद्धकालमा छोडिएको बम अहिले विस्फोट भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
विस्फोट भएको घरका घरधनीले छिमेकीलाई घरको रेखदेख गर्न भनेर सदरमुकमा फिदिममा बस्दै आएका थिए । कोशी प्रदेशका डीआईजी चन्द्रकुबेर खापुङले युद्धमा प्रयोग भएको बम मिसप्लेस भएर अहिले दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताएका छन् ।
बिहीबार बम विष्फोटबाट तीन बालबालिका घाइते भएकोमा जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभएपछि झापाको बीएण्डसी अस्पताल ल्याउने क्रममा प्रिन्साको बाटोमै मृत्यु भएको थियो भने दिप्सनको बीएन्डसी अस्पताल पुगेपछि चिकित्सकले मृत घोषित गरेका थिए ।
खेल्ने क्रममा बालबालिकाहरुले घर नजिकैको अम्रिसो बारीमा रहेको फलामको डल्लोमा हम्मर हानेको पाइएको छ । हम्मरले हान्दा बम विस्फोट भएको हो । दिउँसो साढे ३ बजेतिर विष्फोटको आवाज सुनेपछि गाउँलेहरु भेला हुँदा चार बालबालिकाहरु छटपटाइरहेका थिए ।
फालेलुङ गाउँपालिका उपाध्यक्ष महेन्द्र जबेगुका अनुसार बारीमा भेटेको बस्तु खोल्न खोज्दा घटना भएको हो । ‘घटनापछि कहाँबाट ल्यायौ भनेर सोधीखोजी गर्दा नजिकै अम्रिसो बारीमा भेटेको भनेका छन्’ उनले भने, ‘बारीमा अर्को पनि बम भेटिएपछि नेपाली सेनाको टोलीले निस्कृय गरेको छ ।’
जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी हेमन्त भण्डारीका अनुसार छिमेकी बालक ७ वर्षीय दिप्सन राईको अवस्था सामान्य छ । उनका अनुसार ‘होम मेड सकेट बम’ विष्फोट भएको अनुमान गरिएको छ ।
स्थानीयका अनुसार आइतराजले १० वर्षघि नै ज्ञानबहादुरलाई घर जिम्मा लगाएर हिँडेका थिए । ज्ञानबहादुर सामान्य किसान हुन् । आइतराज माओवादी कार्यकर्ता हुन् । तर, उनले लडाकुका रुपमा काम नगरेको बताएका छन् । युद्धका बेला आफ्नो घरमा माओवादी र सेना दुवै आइरहने गरेको उनले बताएका छन् ।द्वन्द्वकालमा केही पटक सो गाउँमा दुई पक्षका सेनाबीच झडप भएको पनि भएको स्थानीयले स्मरण गरेका छन् ।
यसघि पनि पाँचथरमा द्वन्द्वकालीन विस्फोट पड्किएको थियो । २०७४ वैशाख ४ गते हिलिहाङ गाउँपालिका–७ स्थित जंगलको ओढारमा बम पड्किएको थियो । त्यसबेला बाख्रा चराउन गएका १५ वर्षीया लक्ष्मी राई र १७ वर्षीय सुजन राई घाइते भएका थिए । उनीहरुले ओढारमा आगो बालेपछि बम पड्किएको थियो ।