विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले संसदीय अभ्यासनमा नेपाली काँग्रेसले बिचित्रको अवस्था देखाएको टिप्पणी गरेका छन् ।
प्रदेशसभाको आजको बैठकमा विषेश समय लिएर बोल्दै आङ्बोले सरकारलाई समर्थन नगरेको, विश्वासको मत नदिएको र सरकारमा सहभागी पनि नभएको दलले सत्तापक्षमा बस्नु संसदीय अभ्यासमै बिचित्र भएको टिप्पणी गरेका हुन् ।
‘आजको मितिसम्म सरकारमा सहभागी पनि नभएको र सरकारलाई समर्थन पनि नगरी कांग्रेस सत्तापक्षमा बस्यो’ उनले भने, ‘यो विचित्रको अवस्था देखियो ।’ उनले भने, “मुख्यमन्त्री बनाउने कुरामा कांग्रेसको समर्थन छैन, कुनै सांसदले हस्ताक्षर गरेको थाहा छैन । तर सरकारमा कांग्रेस सहभागी भएको पनि औपचारिक जानकारी छैन । तर, सदनमा सत्तापक्ष भएर बसेको छ ।”नेपाली काँग्रेस र एमालेको गठबन्धनलाई शुभकामना दिँदै उनले २०८४ सालको चुनावमा कांग्रेस र एमाले मिलेर चुनाव लड्न सुझाब दिए ।
प्रदेशमा अहिले सरकार विहिनताको अवस्थामा रहेको भन्दै आङ्बोले मन्त्रालय मन्त्रीबिहिन रहदा बजेट कार्यान्वयनमा अन्योल देखिएको बताए । भागबण्डा मिलाउन मन्त्रालय विभाजन गर्ने र राज्यमन्त्रीको लस्कर लगाउने काम नगर्न मुख्यमन्त्रीलाई सुझाब दिँदै उनले आगामी दिनमा सरकारले प्राथमिकता प्राप्त ठुला आयोजनाहरू निर्माण गर्नेगरि अगाडि बढ्नुपर्ने सुझाब दिए ।
प्रदेशले अब आफ्नै स्थायी संरचना बनाउनुपर्ने भन्दै उनले त्यसको लागि पहल गर्न सुझाब दिए । अहिले बहाल रहेकै मुख्यमन्त्री र अर्थमन्त्रीले ल्याएको बजेट पुनरावलोकनको विषय गैरकानुनी र संसदीय परम्पराविपरित रहेको भन्दै उनले कानुनविपरित पाइला नचाल्न सरकारलाई चेतावनी पनि दिए ।