पाँचथरमा विस्फोटक पदार्थ पड्किँदा घाइते भएका दुई बालबालिकाको मृत्यु

विराटनगर । पाँचथरमा विस्फोटक पदार्थ पड्किँदा घाइते भएका दुई बालबालिकाको मृत्यु भएको छ । जिल्लाको फालेलुङ–५ स्थित डाँडा गाउँमा विस्फोटक पदार्थ पड्किएर घाइते भएका दुई बालबालिकाको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

मृत्यु हुनेमा ११ वर्षका दिप्सन साँवा र दुई वर्षकी प्रियंशा साँवा रहेका छन् । ज्यान गुमाउने दुवै एकै घरमा दाजुबिहिनी हुन् ।

दिप्सनको इलाम अस्पताल र प्रियंशाको बीएन्डसी अस्पताल विर्तामोडमा उपचारका क्रममा मृत्यु भएको पाँचथर प्रहरी प्रमुख हेमन्त भण्डारीले जानकारी दिए ।

बिहीबार आइतराज केरुङको घरमा विस्फोटक पदार्थ पड्किँदा उनीहरू घाइते भएका थिए । केरुङ भने सदरमुकाम फिदिममा बस्ने गरेका छन् । उनको घरमा ज्ञानुराज राई बस्ने गरेको प्रहरीले जनाएको छ ।

अझै दुई जना घाइते छन् । घाइतेमध्ये दुवै जनाको अवस्था गम्भीर रहेको उनले बताए ।

विस्फोटक पदार्थ कस्तो खालको हो भन्ने खुलिनसकेको घटनास्थलमा रहेका प्रहरी इन्स्पेक्टर रूपेश तामाङले बताए ।

नेपाली सेनाको टोली पनि घट्ना स्थलमा आइपुगेको छ उनले भने अब घट्नाबारे थाहा हुन्छ । रातिदेखि नै उक्त क्षेत्र सिल गरेर राखिएको छ ।

शुक्रबार, १४ भदौ, २०८१, बिहानको ०७:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर