विराटनगरको कोशी अस्पतालमा अब क्यान्सरको उपचार

विराटनगर । कोशी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल विराटनगरस्थित कोशीमा क्यान्सर उपचार सेवा विस्तार गरिएको छ ।

भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा कोशी अस्पतालमा क्यान्सर रोगीहरुको उपचारको लागि सेवा विस्तार गरिएको हो ।

सेवा विस्तार कार्यक्रममा दुई पक्षीय सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, सचिव डा.रोशन पोखरेलको उपस्थितिमा भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा.उज्ज्वल चालिसे र कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रबिनराज सिंहबीच सेवा विस्तार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकसहितको टोलीले कोशी अस्पतालमा महिनाको एक दिन सेवा दिनेछन् । त्यसको लागि चिकित्सकको यातायात तथा खाजा खर्चको व्यवस्थापन कोशी अस्पतालले गर्नुपर्नेछ ।

कोशीमा बहिरङ्ग, अन्तरङ्ग एवं उपचार सेवा बिरामीले पाउने छन् । जसका लागि कोशीमा क्यान्सर रोगको उपचार सेवाका लागि आवश्यक वातावरण तयार पार्ने, सेवाग्राहीलाई सेवा बारे जानकारी गराउने, कोशीको पूर्वाधार, औजार, उपकरण र जनशक्ति परिचालन गरिने उल्लेख छ ।

भरतपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक चालिसेका अनुसार कोशीमा बिरामी चापको आवश्यकता हेरेर सेवामा सहजीकरण गरिनेछ । क्यान्सरमा एकै विधाका चिकित्सकले सबै कुरा हेर्न नसक्ने भएकोले बिरामीको अवस्था र आवश्यकता अनुसार चिकित्सकहरु आउने उनले बताए ।

अहिले भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकहरु महिनामा एक पटक कोशीमा आएर विरामीलाई सेवा प्रदान गर्नेछन् । सुरुवाती चरणमा ६ जना क्यान्सरका विशेषज्ञ चिकित्सकको टोली कोशीमा आएको छ । विरामीको आवश्यकता अनुसार क्यान्सरका विशेषज्ञ चिकित्सकको टोली आउने उनले बताए ।

कोशी अस्पतालमा यसअघि पनि क्यान्सरको ओपीडी सेवा मात्रै थियो । कोशी अस्पतालका मेडिकल अंकोलोजिष्ट डा.रवि कठेतले क्यान्सरका विरामीलाई सेवा दिँदै आएका थिए ।

कार्यक्रममा मन्त्री पौडेलले क्यान्सर रोगमा सरकारले गर्ने सहयोगलाई व्यापक बनाउने तयारी स्वरुप ५ लाखको स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा ल्याउन चाहेको बताए । त्यसका लागि स्वास्थ्य सेवा कर लाग्ने क्षेत्रबाट निश्चित रकम जम्मा गर्न लगाउने उनले बताए ।

बिहिबार, १३ भदौ, २०८१, साँझको ०५:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर