कोशी अस्पताललाई भर्तीकेन्द्र नबनाउन स्वास्थ्यमन्त्रीको निर्देशन

विराटनगर । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नियमभन्दा बाहिर गएर चिनजानको भरमा अस्पतालमा चिकित्सक र कर्मचारी नियुक्ति गरेर भत्र्तीकेन्द्र नबनाउन कोशी अस्पताललाई निर्देशन दिएका छन् ।

कोशी अस्पताल विकास समिति अध्यक्ष डा.फरवर्ड सिलवाल र मेसु डा.रविराज सिंहलाई साथमा राखेर मन्त्री पौडेलले कोशी अस्पतालमा चिनजानको आधारमा जथाभावी कर्मचारी नियुक्ति गरेर भत्र्तीकेन्द्र बन्द गरिनुपर्ने बताएका हुन् ।

भदौ २ गते कोशी अस्पताल विकास समितिले आफूखुसी ९ जना चिकित्सकलाई ठाडो नियुक्ति दिएको थियो । अस्पताल विकास समितिका अध्यक्ष डा.सिलवालको अध्यक्षतामा बसेको बैठकले ६ जना विशेषज्ञ र तीन जना मेडिकल अधिकृत विनाप्रतिस्पर्धा सिधै नियुक्त गरेको थियो ।

यसरी नियुक्त हुनेहरूमा नाक, कान, घाँटी रोग विशेषज्ञ डा. रौनक दाहाल, छाला रोग विशेषज्ञ डा. ज्योती कार्की, मनोचिकित्सक डा.सविता खड्का, पेटरोग विशेषज्ञ डा. रोहित यादव, एनेस्थेसिया डा. प्रविन झा र डा. राजन राई छन् । यसैगरी, मेडिकल अधिकृतहरुमा डेन्टल विभागमा कार्यरत रहने गरी डा. निमिसा दास, आकस्मिक कक्षको लागि डा. मनोज मनिष साह र आईसीयुका लागि डा.विशका गुरुङलाई नियुक्त गरेको छ । उनीहरुलाई विनाप्रतिस्पर्धा नियुक्त गरेको विषयमा हाम्रोमतले लगातार समाचार प्रकाशन गर्दै आएको छ ।

सोही समाचारलाई आधार बनाएर कोशी अस्पतालमा क्यान्सर रोगको सेवा विस्तार सम्बन्धी सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा बिहीबार मन्त्री पौडेलले विज्ञापन गरेर खुल्ला प्रतिस्पर्धाबाट मात्रै चिकित्सक र स्वास्थ्यकर्मीहरु नियुक्त गर्न निर्देशन दिए । ‘अध्यक्ष र मेसु साब पनि यही हुनुहुन्छ, दुबै जनालाई म भन्छु’ उनले भने, ‘जोसँग चिनजान छ । त्यसैलाई भर्ती गर्ने काम आजैबाट बन्द गर्नुहोस् । बिज्ञापन गरेर मात्रै खुल्ला प्रतिस्पर्धाबाट चिकित्सक नियुक्ति गर्नुहोस् ।’

मन्त्री पौडेलले स्वास्थ्य संस्थामा कुनै पनि नियम रहेन भने यो देशमा कतै पनि नियम नरहने बताए । ‘त्यसैले न्युनतम् नियमको पालना गरेर काम गर्नुहोस् । नियम भन्दा बाहिर गएको कुरा मैलै भनेको पनि नमान्नुहोस्’ उनले भने, ‘म यस कुराको अनुरोध गर्न चाहन्छु ।’ उनले विकास समितिको आम्दानी पारदर्शी बनाउन पनि निर्देशन दिए ।

मन्त्री पौडेलले विकास समितिले गर्ने खर्च पनि पारदर्शी हुनुपर्ने बताए । ‘अस्पतालको आम्दानी र खर्च कसरी भयो जनताले देख्ने र सुन्ने गरि प्रष्ट ढंगले राख्नुहोस्’ उनले भने, ‘कुन शीर्षकमा कति पैसा लिनुभएको छ । त्यो कुरा पनि प्रष्ट ढंगले राख्नुहोस् ।’

मन्त्री पौडेलले अस्पतालको निरीक्षण गर्दै भिडभाडको व्यवस्थापन गरी गुणस्तरीय स्वास्थ्य सेवा छिटो र क्षरितो दिनुपर्ने बताए । ‘कोशी अस्पतालको ओपीडीको रजिष्टेशन गर्ने ठाउँमा पनि छिरे’ उनले भने, ‘एकदमै भिड छ । अस्पताल निरीक्षण गर्ने क्रममा सेवाग्रहीको गुनासो पनि सुने । सुधार गर्नुहोस् ।’ उनले सेवाग्राहीले आफूहलाई फोटो खिच्न आएको भन्दै गुनासो गरेको बताउँदै फोटो खिच्ने इच्छा छैन भनेर फर्किएको बताए ।

बिहिबार, १३ भदौ, २०८१, दिउँसोको ०३:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर