हात्तीको अतिक्रमण रोक्न ‘मोबाइल फेन्सिङ’

विर्तामोड । जङ्गली हात्तीबाट धानबाली जोगाउन कोशी प्रदेशमा पहिलोपटक झापाको मेचीनगरमा ‘मोबाइल फेन्सिङ’ लगाउन सुरु गरिएको छ ।

मेचीनगर नगरपालिका–१ र ४ को ५०० बिघा जमिनमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को आर्थिक सहयोग र उज्यालो नेपाल बर्दियाको प्राविधिक सहयोगमा मोबाइल फेन्सिङ (घुम्ती घेराबेरा) सुरु गरिएको हो । मेचीनगर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीका अनुसार मोबाइल फेन्सिङका कारण ३०० सयभन्दा बढी किसानको धानबाली हात्तीबाट जोगाउन सकिने अपेक्षा गरिएको छ । धान पाक्न सुरु भएपछि भारतबाट हुल बाँधेर आउने जङ्गली हात्तीबाट जोगाउन मुस्किल रहेकोले मोबाइल फेन्सिङको परीक्षण गर्न लागेको उनले बताए ।

मेचीनगर नगरपालिका–४ को आलेटुङ्गबाट आमडाँगी बिजुवासम्म मेचीखोलातर्फको धानखेतीमा तीन बिघा तीनतिरबाट फेन्सिङ गरेर घेरिनेछ । बाँकी वडा नं. १ मा दुई सय बिघा यसैगरी घेराबेरा गर्ने तयारी छ ।स्थानीय क्षेत्रमा पाइने बाँसको पोल, खानेपानीको पाइप र विद्युत् प्रवाह हुने नाङ्गो तारबाट फेन्सिङको संरचना निर्माण गरिएको छ । सौर्य ऊर्जामार्फत सञ्चालित यो प्रविधि हात्ती धपाउन यसअघि बर्दिया जिल्लामा प्रयोग भएको बताइएको छ । यसबाट प्रवाह हुने विद्युतीय करेन्टले बाली खान आउने हात्तीलगायत जनावरलाई झट्का दिएर धपाउनेछ ।

उज्यालो नेपाल बर्दियाका प्रतिनिधि रमेशकुमार थापाले बर्दियाको मधुवन नगरपालिकामा यो प्रविधिको सफल परीक्षण भएको बताए । इसिमोडको १३ लाख रुपैयाँको आर्थिक सहयोगमा मोबाइल फेन्सिङ गरिएको उनले जानकारी दिए ।धानखेती मात्र नभएर अन्य खेतीमा समेत सो प्रविधिको प्रयोग गर्न मिल्ने बताइएको छ । आवश्यकतानुसार यसलाई ठाउँ सारेर प्रयोग गर्न सकिन्छ । हाल झापाको जङ्गल वरिपरि सयौँ किलोमिटर लामो स्थायी सोलार फेन्सिङ निर्माण भइसकेको छ । भारतबाट हात्तीको हुल प्रवेश गर्न नसकोस् भनेर मेची नदीको किनारस्थित मेचीनगर–१, २, ३ र ४ मा १९ किलोमिटर लामो स्थायी सोलार फेन्सिङ रहेको छ ।

बुधबार, १२ भदौ, २०८१, साँझको ०६:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर