माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कार्कीसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष डोलबहादुर कार्कीसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।इलाम नगरपालिका वडा नम्बर ११ मा रहेको माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कार्कीसहित र समूहकी कोषाध्यक्ष रीता सम्बाहाम्फे लोक्तामविरुद्ध बुधवार विशेष अदालतमा सार्वजनिक सम्पत्ति हानी–नोक्सानी गरी भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र दायर गरेको हो ।

कार्कीले २०७० सालदेखि ठेकेदारसमेत भई काबेली कोरिडोरको तार विस्तार गर्ने क्रम भ्रष्टाचार गरेको आरोपपत्रमा उल्लेख छ । ‘ कटान आदेशभन्दा बाहिर आफूखुसी कटान गरी घाटगद्दी लिलाम प्रक्रिया अगाडि बढाएकाले मुद्दा दायर गरिएको हो,’ अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कार्कीले लेखा परीक्षण नगरेको तथा बैंकिङ कारोबार नगरी आफूखुसी कारोबार गरी आर्थिक अनियमितता गरेको आरोप लागेको छ ।

कार्कीले समूहको निर्णय पुस्तिका तथा चेक बूक लगायतका कागजात आफैँले राख्ने गरेको पाइएको छ । उनले वन उपभोक्ता समूहको नाममा रहेको बैंक खाताबाट रकम भुक्तानी लिई समूहको रकम ३० लाख ७८ हजार ६ सय रुपैयाँ वार्षिक कार्ययोजना स्वीकृत नगरी बदनियतपूर्वक खर्च गरेको अख्तियारको आरोप छ ।

‘साथै  कार्कीले कटान आदेशभन्दा बढी ८ लाख ५५ हजार ५०४ रुपैयाँको वन विनाश गरी अवैध घाटगद्दी गरेर सरकारी सम्पत्ति हिनामिना गरेको पुष्टि हुन आएको छ,’ अख्तियारका प्रवक्ता नरहरि घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै समितिकी कोषाध्यक्ष रीता सम्बाहाम्फे लोक्तामको समेत संयुक्त दस्तखतबाट खाता सञ्चालन भएको पाइएको छ । उनले चेकमा हस्ताक्षर गरेको खुल्न आएकाले उनीविरुद्ध पनि ३० लाख ७८ हजार ६ सय रुपैयाँ हिनामिना गरेको भन्दै मुद्दा दायर भएको हो ।

बुधबार, १२ भदौ, २०८१, साँझको ०५:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर