अनन्तराज न्यौपाने
विराटनगर विमानस्थलबाट हाकाहाकी यती एअरलाइन्समा चढेर तस्करीका कपडा हरेक दिन राजधानी काठमाडौँ पु¥याइँदो रहेछ भन्ने पुष्टि भएको छ । दुई दिनअघि काठमाडौँ विमानस्थलमा विराटनगरबाट पुगेका बिना बिलका लेडिज कुर्तासुरुवालका गाँठ फेला परेका छन् । राजस्व अनुसन्धान विभागले सामान बरामद गरिसकेको छ । विराटनगर विमानस्थल कुनै समय सुपारी तस्करीको अवैध रकम सौर्य एअरलाइन्सबाट ओसारपसार गर्ने थलोका रूपमा बदनाम थियो । यस्तो रकम पक्राउ पनि परेको हो । अहिले यती एअरको विमानबाट तस्करीका सामग्री ओसारपसार हुने थलोका रूपमा बदनाम छ ।
पूर्वमा प्रहरी, प्रशासन र सशस्त्रका अधिकारी औपचारिक भाषण र कार्यक्रममा जति साधु, सज्जन र निष्ठावान् देखिन्छन्; यथार्थमा र व्यवहारमा त्यसको ठिक विपरीत उनीहरू सबैभन्दा भ्रष्ट रहेछन् भन्ने क्रमशः प्रमाणित हुँदै गएको छ । दुई हप्ताअघि मात्र गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय मोरङ २२ औँ नम्बरबाट १७ सिँढी तल झरेर ३९ औँ नम्बरमा पुगेको छ । समस्त मोरङवासी र यहाँका सरकारी अधिकारीका लागि यो सर्मको विषय हुनुपर्ने हो तर स्वयं प्रमुख जिल्ला अधिकारीजीलाई यस बारे कुनै फिलिङ देखिँदैन ।
रूपन्देही र मोरङ दुबै जिल्ला दक्षिणी सिमानासित जोडिएका छन् । तर त्यही रूपन्देही कार्यसम्पादन मूल्यांकनमा १ नम्बरको ठहरिन्छ र मोरङ लुडोमा तल झरेझैँ १७ सिँढी झरेर २२ बाट ३९ मा पुग्छ । जिल्लामा भ्रष्टाचार, तस्करी, अनियमितता, घुसखोरी र ढिलासुस्ती छ कि छैन भनेर कुनै जनता वा पत्रकारले किन भनिरहनु प¥यो ? गृह मन्त्रालयको रिपोर्ट आफैँ बोलिरहेको छ ।
जिल्ला प्रशासन कार्यालयमा नागरिकता, पासपोर्ट र राष्ट्रिय परिचयपत्र बनाउनेको भिड त देखिन्छ नै । विवाहदर्ता, नाताप्रमाणितदेखि दर्जनौँ प्रकारका काम लिएर जाने सर्वसाधारणको घुइँचो पनि हरेक दिन पाइन्छ । यता कर्मचारीको नियत कस्तो छ भने उनीहरू यस्ता दस्तावेजमा जानीजानी गलती लेखिदिन्छन् । अनि सर्वसाधारणलाई सच्याउने सास्ती आइलाग्छ । बल्लबल्ल ४ घण्टा लाइनमा लागेर एउटा डकुमेन्ट बनाएको छ, त्यसमा पनि गल्ती । यो गल्ती हुनुमा कर्मचारीकै नियत खोटो भएर हो । किनकि सेवाग्राही फेरि सच्याउन आउँछ । अनि अनेक बहानामा त्यसबाट माल तान्न पाइन्छ । कर्मचारीहरू पहिलेपहिले नेपाली अक्षरमा नामठेगाना लेख्ता गल्ती लेखिदिन्थे अहिले अंग्रेजी अक्षरतिर पल्किएका छन् । किनकि अब नेपाली अक्षर नजान्नेको संख्या थोरै भइसक्यो । त्यसैले अंग्रेजी अक्षरमा गल्ती लेखिदिन्छन् । अनि त्यसलाई सच्याउन फेरि हप्ता दिन धाउने र कम्तीमा ४ घण्टा लाइनमा बस्ने दुःख सुरु हुन्छ । यता जिल्ला प्रशासनका कर्मचारीलाई जति ठुलो र जति लामो भिड र लाइन भयो माछा मार्न त्यति नै सजिलो हुन्छ ।
अर्को कठिन समस्या छ मधेसी, मुस्लिम र मारवाडी समुदायका नागरिकको नागरिकता र पासपोर्ट बनाउन होस् वा अरू विभिन्न काम लिन । ढाकाटोपी राष्ट्रवादले ग्रस्त हाम्रो समाजले अहिले पनि तिनलाई दोस्रो दर्जाको नागरिक ठानिरहेको छ । त्यसैले कार्यालयमा समयमा उनीहरूको काम हुँदैन । तसर्थ उनीहरूले चियापानी दिएर मात्र पुग्दैन, राम्रै टक््रयाउनुपर्छ । त्यसैले त कार्यालयको कासमू नम्बर २२ बाट ३९ मा झरेको छ ।
मोरङमा तस्करीबाट उठेको रकमको विषयलाई लिएर गत महिना प्रहरी–सशस्त्र–राष्ट्रिय अनुसन्धान र जिल्ला प्रशासनका बिच ठुलै विवाद भएको तथ्य गत महिना सतहमा आएको थियो । अब सबै मिलिसकेको छ र यही मिलेमतोमा तस्करीको धन्धा सुरु भइसकेको छ । नभए यतीको जहाजबाट कपडा तस्करी हुने रहस्यको उद्घाटन हुने थिएन ।
एक छिन आजभन्दा १० वर्ष अगाडिलाई सम्झौँ । त्यति बेलासम्म माथिदेखि तलसम्म गृहप्रशासनमा एउटा गज्जबको तस्करीनीति हुनेगथ्र्यो । त्यो नीति थियो– तस्करी भएर भारत जाने माललाई छाडिदिने । अनि त्यसबाट जति आउँछ भागशान्ति जयनेपाल गर्ने । भारतबाट अवैध रूपमा आउने माललाई चाहिँ रोक्ने । यही नीतिले गर्दा नेपालको राजस्वको लक्ष्य पनि पुग्ने गरेको थियो । तर यति बेलासम्म आइपुग्दा नेपालमा भन्दा विदेशी सामान भारतमै सस्तो भन्सार मूल्यमा आउन थालेका छन् । अब समुद्रपारका मालसामान नेपाल ल्याएर भारत तस्करी गर्ने अवस्था रहेन । अब कसरी खाने त ? भनिन्छ, राक्षसले कसैलाई पाएन भने आफ्नै छोराछोरी टोक्न थाल्छ रे । लाग्छ, नेपालको गृहप्रशासन यही राक्षसी प्रवृत्ति र उन्मादबाट आक्रान्त छ । ऊ अब संगठित रूपमा अवैध आयात गराएर नेपालको राजस्व टोकिरहेको छ । राजस्वका माध्यमबाट नेपालको विकास, निर्माण र समृद्धि टोकिरहेको छ । यसरी यो देशको शत्रु अहिले देशकै गृहप्रशासन भएको छ र मोरङ यसको एक दुर्नाम नमुना भएको छ । त्यसैले त कासमू २२ बाट ३९ मा झरेको छ ।
जहाँसम्म विराटनगरका व्यवसायीका नेताको कुरा छ, उनीहरू एक लाचार, निरीह र कमजोर छाया मात्र हुन् । उनीहरूलाई प्रहरी–प्रशासनका टाउकेले फगत चिया खान बोलाएर मिठा कुरा गरिदिए पुग्छ । कक्टेलमै बोलाए भने त झन् के के नै हुन्छ । अनि ‘कितनो अच्छो है’ भन्ने वाक्यहरू निस्कन थाल्छन् । व्यवसायीका नेताहरू अवैध आयातले हाम्रो व्यवसाय सुक्यो भनेर पत्रकारसित मात्र गुनासो गर्ने वा कराउने हुन् । उनीहरू मिठो बोलेर चिया पिलाउने गृहका हाकिमसित चुइँक्क बोल्न सक्तैनन् । भिजेको मुसोजस्ता हुन्छन् ।