विराटनगर । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले २२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गर्न सरकारलाई चुनौती दिएका छन् ।
प्रनितिधिसभामा आज विशेष समय लिएर बोलेका माओवादी अध्यक्ष प्रचण्डले माफियाको योजनामा विद्युत प्राधिकरणमाथि हस्तक्षेप नगर्न चेतावनी दिए ।
आफूले चाहेजस्तो निर्णय गर्न नसकेपछि प्रधानमन्त्री फेसबुकमा प्रकट भएको भन्दै प्रचण्डले भने, ‘प्रधानमन्त्रीको नियत सही छ भने फेसबुकमा होइन, अबको क्याविनेटमा आओस् । पास होस् २२ अर्बको प्रस्ताव । प्रमुख प्रतिपक्षी दलको यही रोस्टमबाटै समर्थन छ ।’
उनले अगाडि भने, ‘यदि अबको क्याबिनेटमा २२ अर्बको प्रस्ताव आएन भने देशले अझ राम्ररी बुझ्नेछ, प्रधानमन्त्रीको नियत ।’ सरकार अहंकारपूर्ण, तर गलत बाटोतिर अग्रसर भएको भन्दै उनले संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर हुने हालत के हुन्छ सन्देशश्रीलंका र बंगलादेशबाट सरकारले लिनुपर्ने बताए ।
अब माओवादी सत्ताको खेलमा नलाग्ने बताउँदै प्रचण्डले सत्ताको खेलभन्दा जनताको अधिकारका लागि अघि बढ्ने स्पष्ट पारे । ‘कांग्रेस–एमालेका साथीहरुलाई म यही रोस्टमबाट सम्बोधन गर्दछु, प्रचण्ड अब सत्ताको खेलमा लाग्ने छैन’ उनले भने, ‘तपाईहरूकहाँ सत्तामा हिस्सेदारी माग्न आउने छैन ।’
अब आफू आन्दोलनको पुनर्गठनमा लागेको बताउँदै प्रचण्डले त्यतिबेलासम्म काँग्रेस र एमाले मिल्न सुझाब दिए । ‘तपाइँहरू त्यसबेलासम्म मिलिदिनुहोला । फेरि बीचैमा झगडा गरेर ‘लौ न प्रचण्डजी’ भन्दै फकाउन र फुक्र्याउन नआइदिनुहोला,’ उनले भने
माओवादी भनेको पार्टीभन्दा पनि सीमान्त वर्ग, वर्ण, लिंग र क्षेत्रको आन्दोलन भएको भन्दै प्रचण्डले यसबीचमा कमजोरीहरू भएको स्वीकार गरे । ‘जनतासँग संवादका कमजोरी भए । व्यवहारका कमजोरी भए। वर्गीय पक्षधरताका कमजोरी भए। त्यही कमजोरीमा खेलेर अब तपाइँहरू सीमान्तहरूका प्राप्त अधिकार खोस्न चलमलाउन थाल्नुभयो’ उनले भने, ‘माओवादी कमजोर भयो कि भनेर षड्यन्त्र गर्न थाल्नुभयो । समापन भइसकेको राजनीतिक क्रान्तिको दस्तावेज फेरि उल्टाउन थाल्नुभयो ।’