विराटनगर । कोशी प्रदेश सभाका पूर्व सांसद चुमनारायण तवदार माछा खेतीमा व्यस्त छन् । प्रदेशलाई माछा उत्पादनमा आत्मनिर्भर बनाउने अभियानमा लागेका पूर्व सांसद तबदारले सञ्चालन गर्दै आएको कृषि फर्मलाई आधुनिक बनाउँदै लगेका छन् । उनले सञ्चालन गरेको फर्मले उन्नत जातको माछाका भूरा उत्पादन गरिरहेको छ । व्यवस्थित ढंगबाट सञ्चालन भइरहेको फर्मलाई उनले आकर्षक र लोभलाग्दो बनाएका छन् । फर्मसँगै उनको कृषिकर्म पनि आकर्षक र लोभलाग्दो छ ।
मोरङको बुढीगंगा गाउँपालिका–६ मा उनको फर्मले गरिरहेको भूरा उत्पादनले माछाका भूरामा भारतीय परनिर्भरता हटाउन मद्दत पुगिरहेको छ । ‘व्यावसायिक रूपमा माछा पालन गर्न थालिए पनि भूराका लागि भारतकै भर पर्नुपर्ने अवस्था थियो,’ उनले भने, ‘त्यो अवस्था हटाएर पूर्वका किसानलाई आत्मनिर्भर बनाउन मैले भूरा उत्पादनमा जोड दिएको हुँ ।’
तबदारले २०७१ सालबाट विराट कमर्सियल एग्रीकलचर एण्ड इन्भारमेन्ट प्रालिमार्फत विभिन्न प्राजातिका भूरा उत्पादन गरिरहेको जानकारी दिए । उनका अनुसार भारतीय भूराले उत्पादन सन्तोषजनक नभइरहेको र माछाको विकास पनि सोचेजस्तो नभएपछि कृषकले घाटा बेहोर्नु परिरहेको थियो ।
तबदारले माछा हेचरी केन्द्रका लागि मात्रै सरकारको १५ लाखसहित ३५ लाख रूपैयाँ लगानी गरेका छन् । उनले आफ्नो फर्ममार्फत व्यवसायिक रूपमा सुरु गरेको माछा, बंगुर, बाख्रा र कुखुरापालन तथा कागती खेती निकै लोभलाग्दो छ । माछा विज्ञ साथमै राखेर उनले फार्म सञ्चालन गरिरहेका छन् । फर्मबाट सबै प्रजातिका माछाका भूरा उत्पादन गरी किसानलाई सहज र सहुलियत दरमा उपलब्ध भइरहेको उनले बताए ।
‘कोरोना महामारीमा कृषकको माग धान्न सकिएन,’ तबदार भन्छन्, ‘पोखरीको क्षेत्रफल बढाएर भूरा उत्पादनका लागि लगानी थप्दै अघि बढ्ने योजनामा छु ।’ फर्मनजिक जग्गा भाडामा लिएर वार्षिक रुपमा लगानी थप्दै स्थानीय किसानलाई माछा पालनमा आकर्षित गर्ने योजना रहेको उनले सुनाए ।
आवश्यकताअनुसार सरकारले अनुदान नदिँदा भने कृषि फर्म विस्तारमा समस्या भइरहेको तबदारले बताए । जसका कारण कृषिमा नेपाल आत्मनिर्भर बन्न नसकेको उनी बताउँछन् । ‘फार्म खोलेको ठाउँमा बिजुली पाउनै ४ वर्ष लाग्यो,’ उनले भने, ‘ह्याचरी केन्द्रका लागि सरकारबाट १५ लाख अनुदान पाएँ ।’ एक वर्ष पाउँदा अर्को वर्ष नदिने सरकारी नीतिका कारण अब आफैं लगानी थप गर्ने सोचमा रहेको उनले बताए । तबदारले ‘डीप बोरिङ’ मार्फत पानीको समस्या समाधान गर्ने प्रयास भइरहेको सुनाए ।
तबदारले अहिले २३ वटा पोखरीमा माछा पालन गरिरहेका छन् । झिँगे, लोकल लगायतका माछाको संरक्षण पनि थालिएको उनको भनाइ छ । तबदारका अनुसार रहु, नैनी, भाकुर, सिल्भरकार्प, विगहेडकार्प, ग्रासकार्प, कमनकार्प, पुन्टियस, टिलापिया, पंगासीयस, रेन्बोट्राउटसमेतका स्वदेशी तथा विदेशी माछाका भूरा फर्मले उत्पादन गरिरहेको छ ।
करिब दुई करोड रूपैयाँमा सुरु गरेको फार्ममा बाख्रा, खुकुरा, टर्की लगायतका विभिन्न प्रजातिका पशुपंक्षीहरू पालिएका छन् । फार्मलाई विस्तार गर्दै अरु कृषकलाई पनि कृषिकर्ममा जोड्ने योजना बनाएको उनले सुनाए । ‘राजनीति, समाजसेवा र कृषिकर्मलाई एकैसाथ अघि बढाउँदै छु,’ उनी भन्छन्, ‘कृषिकर्मका लागि स्थानीय स्तरमा भारतीय परनिर्भरता हटाउने मेरो योजना हो ।’
तबदारको कृर्षि फर्ममा अहिले ४ करोड रुपैयाँ लगानी भइसकेको छ । केही वर्ष अघिसम्म पूर्वका बजारमा भारत तथा तेस्रो मुलुकबाट आयात हुने माछाको खपत धेरै थियो । अहिले नेपालमै व्यवसायिक उत्पादन बढेपछि अरु मुलुकको भर पर्नुपर्ने अवस्था नरहेको तबदारले बताए । यसवर्ष मात्रै पाँच टन माछा र एक करोड अण्डा उत्पादन भएको जानकारी उनले दिए । यस अघि पूर्वका किसानहरुले सिरहाको लहान, उदयपुर आदि जिल्लाबाट माछाका भूरा ल्याउनु पर्दथ्यो । अहिले त्यो समस्या हटेर गएको तवदारले दाबी गरे । निकट भविष्यमा आफूले संचालन गरेको कृषि फार्मलाई कृषि पर्यटक स्थलको रुपमा विकास गर्ने लक्ष्य रहेको उनले सुनाए ।
पुर्खाको पेशा नै कृषि भएकाले आफूले पनि परम्परागत रुपमा फर्म सुरु गरेर आधुनिक बनाउदै स्थानीयलाई कृषि तर्फ आकर्षित गरिरहेको उनी बताउँछन् । उनले आधुनिक फर्मसँगै माछाको भूरा उत्पादनमा आत्मनिर्भर बनाउन दिनरात काम गरिरहेको बताए । किसानले काम गरे पनि सरकारले कृषिको प्राथमिकता निर्धारण गर्ने र त्यस अनुसार योजना र नीति नबनाउँदा किसानहरुले फाइदा लिन नसकेको र कृषिमा किसानहरु आकर्षित हुन नसकेको उनको भनाइ छ । यद्यपि उनी प्रदेशमा उत्कृष्ट सबैभन्दा धेरै माछाको भूरा उत्पादन गर्ने फर्मको रुपमा स्थापित हुने प्रयत्नका साथ लगानी गरिरहेको उनले बताए ।